arrow

धादिङमा भएको बस दुर्घटना छानबिन गर्न समिति गठन

logo
प्रकाशित २०७४ कार्तिक १२ आइतबार

काठमाडौँ । सरकारले धादिङमा शनिबार भएको बस दुर्घटना छानबिनका लागि गृह मन्त्रालयका सहसचिव मानबहादुर विकको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । 

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीका अनुसार उक्त छानबिन समितिमा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक र सशस्त्र प्रहरी बलका वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक सम्मिलित समिति गठन गरेको हो । 

मन्त्रालयले दुःखद् घडीमा मृत आत्माको चिरशान्तिको कामना गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

यात्रा गर्दा यात्रु वर्ग र सम्बद्ध सबै निकायले आ–आफ्नोतर्फबाट सावधानी अपनाउन र ट्राफिक व्यवस्थापनमा उचित ध्यान दिनसमेत मन्त्रालयले आग्रह गरेको छ । 

राजविराजबाट काठमाडौँ आउँदै गरेको ना६ख १४६७ नंको यात्रुवाहक बस शनिबार बिहान ५ बजेर ५५ मिनेटमा गजुरी गाउँपालिका–५ पोखरे खोलास्थित बांगेमोडमा अनियन्त्रित भई राजमार्गबाट करिब ३५ मिटर तल त्रिशूली नदीमा खसेर दुर्घटनाग्रस्त भएको थियो । 

गृह मन्त्रालयले हालसम्म ३० जनाको घटानस्थलमै मृत्यु भएको र १६ जना घाइते भएको जानकारी प्राप्त भएको जनाएको छ । 

गम्भीर घाइतेमध्ये दुई जनालाई ट्रमा सेन्टर काठमाडौँमा र अन्य घाइतेलाई गजुरीस्थित अस्पतालमा उपचारका लागि पठाइएको छ ।

खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन र घाइतेको उचित उपचारको प्रबन्ध गर्ने व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ