arrow

टिकट पाउने आशमा काठमाडौ आएका यादवको त्रिशुली दुर्घटनामा मृत्यु; सिराहामा अन्त्येष्टी

logo
प्रकाशित २०७४ कार्तिक १२ आइतबार
trisuli-accident.png

लहान।  त्रिशूली बस दुर्घटनामा परी मृत्यु भएका नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि राजकपुर यादवको आइतबार बिहान गृहनगर सिरहाको गोलबजार नगरपालिका– ८ स्थित चोहर्वामा अन्त्येष्टि गरिएको छ ।

छठ सकिएलगत्तै शुक्रबार साँझ आगामी मंसिर २१ गते हुने प्रदेशसभा निर्वाचनका लागि पार्टीका तर्फबाट टिकट पाउने आशामा रात्रि बस चढेर काठमाडौं हिँडेका नेता यादव शनिबार ना ६ ख १४६७ नंको बस त्रिशूलीमा खस्दा उनिसहित ३१ जनाको मृत्यु भएको हो ।

यादवको शव आफन्तले गए राति नै ल्याएको र आज बिहान हिन्दू परम्परानुसार अन्त्येष्टि गरिएको काँग्रेस सिरहाका जिल्ला सभापति रामचन्द्र यादवले जानकारी दिए  । अन्त्येष्टिअघि सभापति यादवले मृतक यादवको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि दिए ।

प्रदेशसभा निर्वाचनका लागि सिरहा क्षेत्र नं ३ (ख) बाट यादवको नाम सिफारिस भएको र त्यही सिलसिलामा काठमाडौं जाने क्रममा दुर्घटनामा परी उनको मृत्यु भएको थियो । स्व यादवका श्रीमती र दुई छोरा छन् ।  

यसैबीच यादवको दुर्घटनामा परी मृत्यु भएपछि सिरहाको गोलबजार नगरपालिका– ८ चोहर्वाका स्थानीयवासी स्तब्ध बनेका छन् । “यादव अलग धारको पार्टीका नेता भए पनि कसैको आँखामा नबिझाउने व्यक्ति थिए” वडाध्यक्ष राजदेव यादवले भने,“बस दुर्घटनामा मृत्यु भएको खबर पाए पनि तत्काल विश्वास गर्न सकिरहेका थिएनौं, शव आएपछि मात्र विश्वास भयो ।”

यस्तै छठ मनाएर छोराछोरीलाई काठमाडौँमा पढ्नका लागि पुर्‍याउन सोही बसमा हिँडेकी सिरहाको लहान – १ सिङराहिकी प्रभा चौधरीको अवस्था पत्ता लाग्न सकेको छैन । आमासँगै दुर्घटनामा परेकी उहाँकी छोरी निविदिता र छोरा सुगमको भने उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ