arrow

गुटबन्दीका कारण धादिङमा कमजोर बन्यो बाम गठबन्धन, काँग्रेसलाई गढ तोड्ने मौका 

logo
प्रकाशित २०७४ कार्तिक १२ आइतबार
uml-mao.jpg

काठमाडौं । यस अघिसम्म कम्युनिष्टको गठ मानिएको धादिङको निर्वाचन क्षेत्र नं १ मा अहिले रोचक प्रतिस्पर्धा चलिरहेको छ । विशेषगरी जिल्लाको क्षेत्र नं १ मा एमालेको तर्फबाट प्रतिनिधि सभामा २०४८ सालदेखि सांसद् बनेका राजेन्द्र पाण्डेले उम्मेदवारी दिएका छन् भने काँग्रेसको तर्फबाट उम्मेदवार बनेका छन् मधु कुमार श्रेष्ठ । त्यस्तै, धादिङ– १(ख) मा शालिकराम जमरकट्टेल माओवादीको तर्फबाट र प्रभात किरण सुवेदी नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका छन् ।

उनीहरुको उम्मेदवारीको विषयलाई विश्लेषण गर्नुपूर्व केही तथ्यहरुलाई विश्लेषण गर्न आवश्यक देखिन्छ । एमालेको गढ मानिएपनि धादिङको तत्कालीन क्षेत्र नम्बर ३ मा जसले धेरै गुण्डा परिचालन गर्न सक्छ त्यसैले चुनाव जित्छ भन्ने कुरा लोकोक्ति जस्तै सबैको मनमस्तिस्कमा झुण्डिन थालिसकेको छ । यस अघिको राजेन्द्र पाण्डे विजयी हुँदा पनि झगडा र कुटपीटका कारण चुनाव जितेको आरोप लागिरहेकै हो । 

सोही क्षेत्रमा अहिले भूमि त्रिपाठीलाई टिकट दिईएको छ । राजेन्द्र पाण्डेले यस अघि प्रयोग गर्ने कुटपीटमा संलग्न हुने कार्यकर्ताहरु आफ्नो नभएर त्रिपाठी पक्षीय कार्यकर्ता हुन् । यस्ता कार्यकर्ताहरुको दृष्टिले पाण्डे निकै कमजोर रहेका छन् । चुनाव जित्ने सम्भावना बढी रहेको ठाउँमा पार्टी अध्यक्ष केपी ओली पक्षीय भूमि त्रिपाठीलाई उम्मेदवारी दिएपछि वरिष्ठ नेता माधव नेपाल पक्षीय राजेन्द्र पाण्डेले टिकट दिने बेलामा पनि खुलेरै विरोध गरेका थिए । जसका कारण अहिले प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दिएका त्रिपाठी र मुख्यमन्त्री बन्छु भन्दै उम्मेदवारी दिएका पाण्डेबीचको सम्बन्ध चिसिएको छ । 

सो क्षेत्र एक भएर एमालेले उम्मेदवार उठाउँदा एमालेका उम्मेदवारले सहजै जित्ने क्षेत्र भएपनि अहिले त्यहाँ गुटगत भागवण्डाले एकले अर्कालाई सिध्याउने सोच तल्लो तहको कार्यकर्तासम्ममा पर्न थालिसकेको छ । पाण्डे पक्ष अहिले त्रिपाठीलाई हराएर आफूलाई टिकट नदिएको रिस पोख्ने पक्षमा देखिएका छन् । 

उता, पाण्डे आफ्नै उम्मेदवारी धरापमा पर्न थालेको छ । धादिङको सबैभन्दा धेरै झडप हुने क्षेत्र मानिने सो क्षेत्रमा अहिले काँग्रेसका मधु श्रेष्ठ उम्मेदवार बनेका छन् । यस अघिका चुनावमा हरेक दृष्टिले त्रिपाठीको सहयोग खोजेका पाण्डेलाई अहिले त्रिपाठीले सहयोग नगर्ने स्थिती देखिएको छ । अघिल्लो चुनावको समयमा दिएको प्रतिवद्धता पूरा नगरी फेरि आफू उम्मेदवार बन्न खोजेपछि जिल्ला कार्यसमितिको बैठकमा त्रिपाठीले अघिल्लो चुनावमा आफूलाई दिएको आश्वासनको अडियो रेकर्ड नै सुनाएपछि मात्रै पाण्डे नाजवाफ भएको एमालेका एक नेताले जानकारी दिए । 


त्यसपछि जिल्ला कार्य समितिले केन्द्रमा सिफारिस गर्दा पाण्डेको नामै सिफारिस गरेन । तर, पछिसम्म पनि यस विषयमा लविईङ गरिरहेको पाण्डेले अन्तमा प्रदेश सभामा चित्त बुझाउनु परेको थियो । त्यसैले त्रिपाठीको सहयोग नपाउँदा एकातर्फ प्रचारमा हुने अवरोध र पार्टीबाटै हुने अन्तर्घातका कारण पनि एमालेका उम्मेदवारहरु धादिङमा कमजोर देखिएका छन् । 

उता, काँग्रेस पनि मतको आधारमा केही कमजोर मानिएको क्षेत्र भएकोले त्यहाँ चुनाव जित्नको लागि काँग्रेसले धेरै मेहनत गर्नुपर्ने त देखिन्छ । तर, एमालेको गुटगत विवाद चुलिएको बेला काँग्रेसले केही मेहनत मात्रै गरेपनि त्यहाँ चौका हान्न गाह्रो देखिँदैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ