काठमाडौं । कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म बूढानीलकण्ठ नारायणस्थानमा लाग्ने मेलामा यसको महत्व बुझाउन श्रीमद्भागवत महापुराण शुरु गरिएको छ ।
हरिबोधिनी एकादशीदेखि पाँच दिनसम्म विशेष मेला लाग्ने गरेको छ । हरि र हर दुवैको स्वरुप रहेको बूढानीलकण्ठको माहात्म्य सुनाउन आइतबादेखि आयोजना गरिएको भागवतको उद्घाटन गर्दै महिला, बालबालिका तथा समाज कल्याणमन्त्री विक्रमबहादुर थापाले बूढानीलकण्ठ क्षेत्रलाई विश्व सम्पदासूचीमा सूचीकृत गराउन पहल गरिने बताए ।
"धेरै नेपालीको मनमा हिन्दूराष्ट्र कायम हुनुपर्छ भन्ने भावना छ तर विविध कारणले धेरैले मुख खोल्न सकेका छैनन्, यो भावना बेलाबेलामा जति लुकाए पनि प्रकट हुने गरेको छ, संविधानका लागि सुझाव लिनुअघि यो भावना सार्वजनिक भएको थियो", उनले भने ।
कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेल, मूल आयोजक समितिका अध्यक्ष एवं बूढानीलकण्ठ क्षेत्र विकास समितिका अध्यक्ष जयराम थापा, बूढानीलकण्ठ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सकुल शाह, बूढानीलकण्ठ सनातन धर्म सेवा समाजका अध्यक्ष विकास तामाङ, सचिव केशव पण्डितलगायतले विश्वमै अन्त कतै नभएको ढुंगामा कुँदिएको हरि र हरको मूर्ति भएको क्षेत्रलाई विश्वसम्पदा सूचीमा राख्न सरकारले पहल गर्नुपर्नेमा जोड दिए ।
यही कात्तिक १८ गतेसम्म सञ्चालन हुने भागवत कथामा बाल व्यास नारायणप्रसाद देवकोटाले कथा वाचन गर्नेछन् । भागवतबाट संकलन भएको रकम बूढानीलकण्ठ मन्दिरको जीर्णोद्धारमा खर्च गरिने अध्यक्ष थापाले जानकारी दिए ।