भूमिगत कालमा प्रचण्डलार्इ काठमाडौंमा आश्रय दिने सुवेदी काँग्रेसबाट उम्मेदवार
सँगै युद्ध लडेका शालिकराम जमकट्टेलसँग चुनावी मैदानमा
प्रकाशित २०७४ कार्तिक १२ आइतबार
541
Shares
काठमाडौं । भूमिगतकालमा प्रचण्डलाई काठमाडौंमा ल्याएर आश्रय दिएका धादिङका शिव सुवेदी यो चुनावमा नेपाली काँग्रेसबाट उम्मेदवार बनेका छन् । उनी धादिङ निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा ख तर्फ माओवादी नेता शालिकराम जमकट्टेलसँग चुनावी प्रतिस्पर्धामा छन् ।
लामो समय भूमिगत भएर माओवादी युद्धमा लागेका प्रभातकिरण सुवेदी वास्तविक नामका उनी नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका हुन् । अझ रोचक कुरा त के छ भने सँगै जनयुद्ध लडेका र आफ्ना परम मित्र माओवादीका जमकट्टेलसँग उनको प्रतिस्पर्धा रहेको छ ।
सुवेदीको परिवारले जनयुद्ध कालमा ललितपुरको पाटन अस्पतालमा भोजनालय सञ्चालन गरेको थियो । उनीहरुले अस्पतालको पछाडिपट्टी एउटा गेष्ट हाउस पनि सञ्चालन गरेका थिए । सो गेष्ट हाउस अहिले सञ्चालनमा छैन । सोही गेष्टहाउसमा तत्कालीन विद्रोही पुष्पकमल दाहाल र बाबुराम भट्टराईलाई ल्याएर राखेका उनी केही समय भूमिगत भएर नेपालबाहिर पनि बसेका थिए ।
प्रचण्ड र बाबुरामलाई त्यो गेष्ट हाउससम्म ल्याउने व्यक्ति फेरि तिनै जमकट्टेल नै थिए । यसरी उतिबेला सँगसँगै युद्ध लडेका यी दुई योद्धाहरु अहिले एक अर्का विरुद्ध अलग अलग दलबाट चुनावी मैदानमा उत्रिएका छन् । सुवेदी स्थानीय चुनावभन्दा केही समय अघि मात्रै नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । मिलनसार स्वभावका सुवेदी उनले उम्मेदवारी दिएको क्षेत्रमा लोकप्रिय मानिन्छन् ।
माओवादीका पनि धेरै कार्यकर्ताहरुको भोट आउने र काँग्रेसको पनि धेरै भोट आउने भएकोले उनको सो क्षेत्रमा जित्ने सम्भावना धेरै देखिएको छ । सँगैका साथीसँग उम्मेदवारी दिँदा कस्तो अनुभव भईरहको छ भन्ने हाम्राकुराका प्रतिनिधिको प्रश्नमा सुवेदी भन्छन्, ' आफ्नै दाजुभाइ त फरक पार्टीबाट उम्मेदवारी दिन्छन् हाम्रो त के हो र ? उम्मेदवारी दिँदैमा मित्रता सकिँदैन नि त ?' उनले पहिले माओवादीमा भएपनि अहिले काँग्रेसको नीति र सिद्धान्त मन परेर काँग्रेसमा प्रवेश गरेको प्रतिक्रिया दिए ।
उनले अहिले आफू चुनावी प्रचारमा भन्दा पनि आफ्नो आन्तरिक विषयमा छलफलमा व्यस्त रहेको भन्दै अबको केही दिनबाट प्रचारप्रसारमा जाने बताए । उनले आफूहरु सभ्य ढंगले चुनावी प्रतिस्पर्धामा लाग्ने भन्दै जीत र हारलाई आफूहरुले सहजै स्वीकार्ने प्रतिवद्धता पनि व्यक्त गरे ।