रमेश लेखकले बजेट निकासा गरेको बिचफाँटा-परासन-उदरी- कुण्डा सडकको निर्माण सुरु
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ कार्तिक १३ सोमबार
884
Shares
कञ्चनपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखक भौतिक योजना मन्त्री भएको समयमा दिवान बिष्ट समेतको पहलमा बजेट निकासा गरिएको बिचफाँटा-परासन हुँदै कुण्डा सडकको निर्माण कार्य सुरु भएको छ ।
नेपाली काँग्रेसका तत्कालिन सभापति सुशील कोइरालाको नेतृत्वको सरकारका पालामा रातो किताबमा समाबेश उक्त सडकको निर्माणकार्यले गति लिएको हो । योजनामा परेको भए पनि बजेट अभावमा तत्काल गति लिन नसकेको उक्त सडकको निर्माण कार्यले कञ्चनपुरका प्रभावशाली केन्द्रिय नेता लेखक भौतिक योजना मन्त्री हुँदा साँसद बिष्टको पहलमा टेन्डर प्रक्रिया पुरा गरि अहिले निर्माण सुरु भएको छ ।
पुनर्वासको बिचफाँटा देखि कुण्डा सम्म २२ किमि सडक कालोपत्रे योजनामा रहे पनि यस वर्ष १० किमि निर्माणको काम हुने भएको छ । ९ करोडको लागतमा निर्माण हुने उक्त सडकको निर्माणको जिम्मा कुमार श्रेष्ठ जेवि कन्ट्रक्सनले पाएको छ । अहिले उक्त सडकको निर्माणको कामको अख्तियारी भागेश्वर कन्ट्रक्सनलाई कुमार श्रेष्ठ जेबिले दिई निर्माण थालेको हो ।
निर्माणाधीन उक्त सडकले कञ्चनपुरको दक्षिणी भेगको आर्थिक समृद्धि र बिकासमा टेवा पुग्ने स्थानीय बताउछन् ।उक्त सडकको निर्माण पश्चात् यस क्षेत्रको कृषि ,स्वास्थ्य,यातायात तथा बाणिज्य क्षेत्रको बिकासमा उल्लेख्य सघाउ पुग्ने स्थानीय बासिन्दा बताउछन् ।