arrow

शहरी विकास र खानेपानीसम्बन्धी आयोजनाको प्रगति उत्साहजनक,मेलम्ची आयोजनाको  प्रगति सुस्त

logo
प्रकाशित २०७४ कार्तिक १४ मंगलबार
melamchi--water-supply.png

काठमाडौं । एशियाली विकास बैंक(एडिबी)को आर्थिक एवं प्राविधिक सहयोगमा नेपालमा सञ्चालित आयोजनामध्ये शहरी विकास र खानेपानीसम्बन्धी आयोजनाको प्रगति उत्साहजनक देखिएको छ । 

एडिबीले हवाई यातायात, ऊर्जा, शहरी विकास एवं खानेपानी, सडक पूर्वाधार र शिक्षा गरी पाँच क्षेत्रका १९ आयोजनामा दुई अर्ब ३० करोड डलर लगानी गर्दैछ । यो लगानी हालसम्मकै उच्च लगानी हो । 

ती पाँच क्षेत्रका अतिरिक्त भूकम्पले क्षति पुर्याएका संरचनाको पुनःनिर्माणमा समेत उसको आर्थिक सहयोग रहेको छ । एडिबीद्वारा सञ्चालित आयोजनाको समीक्षा गर्न मंगलबार आयोजित कार्यक्रममा हवाई यातायात सुधारसम्बन्धी दुई आयोजनाका प्रगति भने सुस्त नै रहेको जनाइएको छ । ती आयोजनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र गौतमबुद्ध विमानस्थल सुधार तथा विस्तार छन् । 

यसैगरी पछिल्लो समय मेलम्ची खानेपानी आयोजना र यससित सम्बन्धित काठमाडौं उपत्यका खानेपानी वितरण योजनाको प्रगति सुस्त देखिएको बैंकले जनाएको छ । 

ती पाँच क्षेत्रका ३५ आयोजनाका समग्र कार्यप्रगति राम्रो रहेको जनाइएको छ । समीक्षा बैठकमा अर्थ, शहरी विकास, संघीय मामिला तथा स्थानीय विकास र ऊर्जा मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका वरिष्ठ अधिकृत तथा आयोजना प्रमुखको सहभागिता छ । 

बैठकमा अर्थसचिव शंकर अधिकारीले संघीय संरचनानुसार वित्त व्यवस्थापनमा मन्त्रालयले गृहकार्य गरिरहेको र विकास आयोजनामा वित्त पारदर्शिता र सुशासनमा प्राथमिकता दिएको बताए । 

एडिबीका उपनिर्देशक दिवेश शरणले प्रगति कम देखिएका आयोजनाका प्रगतिमा सुधार ल्याउन नेपाल सरकारलाई आग्रह गर्दै बैंकले आगामी दिनमा नेपालको पूर्वाधार विकासमा सहयोग जारी राख्ने जानकारी दिए । एडिबीका नेपालका देशीय निर्देशक मुखतोर खामुडखानोभ र कार्यक्रम प्रमुख सारोश खानले आयोजनाका विविध पक्षमाथि जानकारी दिएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ