वाईसीएलले भन्यो–बालकृष्णलाई नछोडे काँग्रेस-राप्रपाका नेतालाई पनि जेल
प्रकाशित २०७४ कार्तिक १४ मंगलबार
163
Shares
काठमाडौँ । माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग नेपाल वाईसीएलका अध्यक्ष रामप्रसाद सापकोटाले बालकृष्ण ढुंगेललाई रिहा नगरे नेपाली कांग्रेसका नेताहरूलाई समेत द्वन्द्वकालिन मुद्दा ब्युँत्याएर जेल हाल्ने चेतावनी दिएका छन् ।
ओखलढुंगाका उज्जवन श्रेष्ठ हत्याको घटनामा संलग्न रहेको भन्दै सर्वोच्च अदालतबाट दोषी ठहर माओवादी नेता बालकृष्ण ढुंगेललाई प्रहरीले पक्राउ गरेर जेल पठाएपछि अध्यक्ष सापकोटाले काँग्रेस नेताविरूद्ध पनि मुद्दा हाल्ने चेतावनी दिएका हुन् ।
वाइसीएलकोतर्फबाट मंगलबारै विज्ञप्ति जारी गर्दे उनले भनेका छन्, ‘यो घटना द्वन्द्वकालका गम्भीर घटनामा ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’ मार्फत हेरिने बिस्तृत शान्ति सम्झौताको उलघंनमात्रै होइन, देश निर्वाचनमा होमिइरहँदा निर्वाचन भाँड्ने षड्यन्त्रस्वरुप गरिएको गिरफ्तारीप्रति हाम्रो संगठन आपत्ति व्यक्त गर्दछ । ढुंगेलको मुद्दालाई आयोगमार्फत हल गर्न र उनलाई तत्काल रिहा गर्न माग गर्दै निर्वाचन भाँड्न गरिएको षड्यन्त्रप्रति चनाखो र सचेत हुन समेत आम युवाहरुमा अपिल गर्दछ ।’
ढुंगेललाई तत्काल रिहाई नगरिए देशका ७७ वटै जिल्लामा द्वन्दकालिन मुद्दाहरु व्युँताएर घटनामा संलग्न नेपाली काँग्रेस र राप्रपाका नेताहरुमाथि मुद्दा दायर गर्ने वाईसीएलको चेतावनी छ । जसका लागि वाईसीएलले सम्बन्धित जिल्लाका समितिलाई निर्देशन पनि दिएको छ ।