arrow

काँग्रेस र राप्रपाको तालमेल नहुने, सत्तारुढ सम्बन्ध नटुट्ने 

logo
प्रकाशित २०७४ कार्तिक १५ बुधबार
sher_bdr_and_kaml.jpg

काठमाडौं । सत्ताधारी दुई दल काँग्रेस र राप्रपाबीच चुनावी तालमेल नहुने भएको छ ।  राप्रपा अध्यक्ष कमल थापा र नेता दिलनाथ गिरीले काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर झापा, मकवानपुर लगायतका जिल्लामा पुनःविचार गर्न भनेपनि काँग्रेसले आन्तरिक व्यवस्थापनका कारण त्यसो गर्न नसकिने बताएपछि तालमेलको सम्भावना सकिएको हो । 

काँग्रेस सभापति देउवालाई भेट्न पुगेका राप्रपा नेता गिरीले हाम्राकुरासँग भने, ‘हामीले काँग्रेसको पार्टी सभापतिलाई भेट्यौँ । हाम्रो पार्टी नेतृत्वमा रहेका उम्मेदवारहरुको क्षेत्रबारे पुनःविचार गर्न भन्यौँ । तर, उहाँले आन्तरिक व्यवस्थापनका कारण असहज भएको सुनाउनु भयो ।’

अब के हुन्छ त ? जवाफमा उनले भने, ‘अब हामीलाई व्यक्तिगत रुपमा र रणनीतिक रुपमा जुनसुकै पार्टीसँग पनि साझेदारी गर्ने बाटो खुला भयो ।’

नेता गिरीका अनुसार राप्रपाले अन्य पार्टीहरुसँग व्यक्तिगत र रणनीतिक साझेदारी गरेपनि सत्तारुढ गठबन्धनमा कुनै असर नपार्ने कुरा भएको छ । 

झापा ३ मा राप्रपाबाट महामन्त्री राजेन्द्र लिङदेन चुनाव लड्दै छन् । राप्रपाले लिङदेनलाई सघाउन अनुरोध गरेको थियो । पहिले काँग्रेस नेता कृष्ण सिटौलालाई समानुपातिक सूचीमा राखिएकामा पछि काँग्रेसले प्रत्यक्षको उम्मेदवार बनाउने भनेपछि दुई पार्टीका शीर्ष नेताबीच छलफल भइरहेको थियो । 

अब सम्भावना सकिएको नेता गिरीले बताएका छन् । विहिबार दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ता हुँदैछ । उता, झापा ३ बाट उम्मेदवारी दिने लिङदेनलाई एमाले माओवादीको वाम गठबन्धनले सघाउने निर्णय गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ