जलवायु परिवर्तनका असरसँग जुध्न सामूहिक प्रयत्न हुनुपर्छ:मन्त्री केसी
प्रकाशित २०७४ कार्तिक १६ बिहिबार
291
Shares
काठमाडौं । दक्षिण एशियाली क्षेत्रमा जलवायु परिर्वतनका असर बढी देखिएकामा चिन्ता व्यक्त गर्दै यससित जुध्न सामूहिक प्रयत्नको खाँचो औँल्याइएको छ ।
प्राकृतिक विपद् (भूकम्प, बाढीपहिरो, आगलागी)ले यस क्षेत्रलाई नराम्ररी गाँज्दै गएको र कृषि उत्पादन समेत घट्दै गएकामा विज्ञहरूले चिन्ता व्यक्त गर्दै सार्क देशमा यस वर्ष मात्र बाढी र पहिरोले पाँच हजारभन्दा वढीको मृत्यु तथा हजारौँ विस्थापित भएको जनाएका थिए ।
दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) चेम्बर अफ कमर्शद्वारा बिहीबार काठमाडौंमा आयोजित जलवायु परिवर्तनसम्बन्धी युवा सम्मेलनका सहभागीले जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न सार्क कार्ययोजनालाई कार्यान्वयनमा ल्याउन आग्रहसमेत गरे ।
सन् २०१० मा भुटानको थिम्पुमा सम्पन्न सार्कको १६ औ सम्मेलनले जलवायु परिवर्नतका असरलाई न्यूनीकरण गर्न कार्ययोजनासमेत पारित गरेको थियो । सम्मेलन शुभारम्भ गर्दै युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न सरकारले कार्ययोजना तयार गरी लागू गरेको जानकारी दिए।
उनले सार्क क्षेत्रमा प्राकृतिक विपद् बढदै गएको चर्चा गर्दै यससित जुध्न सामूहिक प्रयत्न हुनुपर्नेमा जोड दिए ।