शेरबहादुरको समर्थनमा नयाँ शक्ति र राप्रपाले लिए उम्मेदवारी फिर्ता
प्रकाशित २०७४ कार्तिक १९ आइतबार
282
Shares
डडेल्धुरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको समर्थनमा नयाँ शक्ति र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले उम्मेदवारी फिर्ता लिएको छ । आसन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेसलाई समर्थन गर्न नयाँ शक्ति र राप्रपाले उम्मेदवारी फिर्ता लिएको हो । आइतबार राप्रपा र नयाँ शक्तिका उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिदै कांग्रेसलाई समर्थन गर्ने घोषणा गरेका छन्।
बामगठबन्धनका कारण लोकतन्त्रमाथि चूनौति थपिएको भन्दै दुबै पार्टीका उम्मेदवाहरुले उम्मेदवारी फिर्ता लिएका हुन्। आइतबार दिउँसो पत्रकार सम्मेलनमार्फत नयाँ शक्ति र राप्रपाका उम्मेदवाहरुले लोकतन्त्रको रक्षार्थ कांग्रेसलाई मतदान गर्न आफ्ना कार्यकर्ताहरुलाई निर्देशनसमेत दिएका छन्।
राप्रपाका तर्फबाट डडेल्धुरा प्रदेश १ का उम्मेदवार हरिसिंह साउँद र प्रदेश २ का उम्मेदवार कालिपसाद जोशीले मनोनयन फिर्ता लिएका हुन। त्यसैगरी नयाँ शक्तिका प्रदेश १ का उम्मेदवार बिष्णु ठकुराठी र प्रदेश २ का लक्ष्मीकान्त पनेरुले पनि उम्मेदवारी फिर्ता लिएका हुन्। यस्तै स्वतन्त्र उम्मेदवार नरबहादुर पालले पनि उम्मेदवारी फिर्ता लिदै कांग्रेसलाई समर्थन गर्ने जनाएका छन्।
डडेल्धुरामा प्रतिनिधि सभाका लागि कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासहित ६ जना चुनावी मैदानमा रहेका छन् भने प्रदेशतर्फ आठ जनाको उम्मेदवारी रहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।