सिन्धुलीगढीमा अंग्रेजलाई हराएको २५० औं विजयोत्सव भब्य
प्रकाशित २०७४ कार्तिक २२ बुधबार
279
Shares
काठमाडौं । ऐतिहासिक सिन्धुलीगढीमा तत्कालीन ब्रिटिस कम्पनीको सेनालाई पराजित गरेको दिनको सम्झनामा सिन्धुलीगढीमा यही कात्तिक २४ गते मनाइने विजयोत्सवको तयारी पूरा भएको छ ।
समृद्ध सिन्धुली अभियानले कमलामाई नगरपालिकासँग मिलेर विजयोत्सवका अबसरमा काठमाडौंदेखि सिन्धुलीगढीहुँदै सिन्धुलीमाढीसम्म साइकल यात्रा गर्ने भएको छ ।
बिजयोत्सवका बेला सिन्धुलीगढीलाई राजधानीसँग जोड्न साइकल यात्रा गर्न लागिएको हो । यस बर्ष गढीयुद्धमा विजय हासिल गरेको २५० बर्ष पुग्दैछ ।
ऐतिहासिक सिन्धुलीगढीमा तत्कालीन गोर्खाली सेनाले वीरता प्रदर्शन गरेको विजयोत्सवलाई भब्य बनाउन अभियानले ‘राइड टु सिन्धुलीगढी’ नाममा साइकल यात्रा र त्यही दिन साँझ सिन्धुलीमाढीमा विजयोत्सव साङ्गीतिक समारोह गर्न लागेको अभियानले जानकारी दिएको छ ।
यस बर्षको विजयोत्सव भब्य बनाउने एक बर्षदेखि तयारी गरिएको थियो । विजयोत्सवका कार्यक्रममा राष्ट्रप्रमुख तथा उपप्रमुख दुवैजनाको सहभागीता हुने भएको छ ।
साइकल यात्रा तीनकुनेबाट सुरु हुनेछ । यात्राको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले गर्नेछन् । सिन्धुलीगढीमा मनाइने विजयोत्सवमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रुपमा सहभागी हुनेछिन् ।
अभियानका संयोजक लीलानाथ घिमिरेले सिन्धुलीगढीलाई विश्वसामु चिनाउन साइकल यात्रा आयोजना गरिएको बताए । ‘हामीले हरेक बर्ष गरिने साइकल यात्रालाई अन्तराष्ट्रिय स्तरको बनाउने प्रयास गरेका छौं । ‘राइड टु सिन्धुलीगढी’ नाममा ब्रान्डिङ गरेर यस यात्रामा विश्वभरिका साइकल यात्रामा रमाउन चाहनेहरुलाई सहभागी गराउने योजना छ’ घिमिरेले भने, ‘यसलाई राइड टु सिन्धुलीगढी नाममा ब्रन्डिङ गरेका छौं । यस बर्ष विदेशीसमेत साइकल यात्रामा सहभागी हुँदैछन् ।
सुनकोशीको तिरैतिर भएर जाने बनेपा–सिन्धुली–बर्दिबास सडकमा साइकलयात्रा निकै रोमाञ्चक हुने छ । सुनकोशी तिरैतिरको रमणीय दृष्य हेर्दै नागबेली सडकमा यात्रा गर्नुको आनन्द बेग्लै हुने गत बर्ष साइकल यात्रामा सहभागी भएकाहरुले बताएका छन् ।
यस साइकल यात्राको नेतृत्व प्रसिद्ध विश्व साइकलयात्री पुस्कर शाहले गर्दैछन् ।
यात्रामा १ सय १० जना साइकल यात्री सहभागी हुने साइकल यात्राका संयोजक सौरभ ढकालले जानकारी दिए ।
अभियानले एक बर्षअघि अनलाइनबाट सहभागी हुन चाहनेहरुलाई दर्ताका लागि आह्वान गरेको थियो । ढकालका अनुसार साइकलयात्रा कात्तिक २३ गते सुरु छ ।
‘साइकल यात्रीहरु खुकोर्टमा बास बसेर भोलिपल्ट सिन्धुलीगढीमा हुने विजयोत्सवमा सहभागी हुनेछन्,’ ढकालले भने ‘त्यहाँबाट माढी झरेर उनीहरु विजयोत्सव सांगितिक साँझमा रमाउने छन् ।’ साइकल यात्री काठमाडौंबाट झण्डै १ सय ५३ किलोमिटर यात्रा तय गरेर सिन्धुलीमाढी पुग्ने ढकालले जानकारी दिए ।
सांगितिक समारोहमा स्थानीय कलाकारले विभिन्न जातजातिका भेषभुषा, नृत्य, संस्कृति प्रदर्शन गर्ने अभयिानका अभियन्ता दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार त्यहाँ होटल ब्यवसायीले खाना महोत्सवसमेत गर्नेछन् ।
दुई दिनको यात्राले थाकेका यात्रीलाई साङ्गीतिक मनोरञ्जन लिँदै खानपिनको आनन्द लिन पाउने ब्यवस्था त्यहाँ गरिने भएको छ ।
साइकल यात्रामा नेपाल पर्यटन बोर्ड, फास्टफुड एसोसिएसन नेपाल, सानो पाइला, दमौली युनेस्को क्लव, शिवाकोटी ब्याग, राष्ट्रिय बीमा संस्थान, हिलटप जुनार बचत तथा ऋण सहकारी, परिवर्तन खबर डटकम, होलिभिजन स्कुल, सिन्धुलीय श्रेष्ठ समाज, म पानी, टिभिसी,
सुलभ बचत तथा ऋण सहकारी, सगुन डटकम, सुस्मित इन्टरनेशन, सडक बोर्ड नेपाल, सिन्धुलीगढी प्रोसेस्ड ड्रिकिङ वाटर, बोन्टी हिमालयलगायतका संस्थाले आर्थिक–भौतिक सहयोग गरेका छन् ।
उद्योग बाणिज्य संघ सिन्धुलीले सिन्धुलीको सांगितिक महोत्सवको संयोजन गर्ने छ ।
यस्तै बाटोमा पर्ने बनेपा नगरपालिका, रोशी गाउँपालिका, सुनकोशी गाउँपालिका, गोलंजोर गाउँपालिका, कमलामाई नगरपालिका र निर्माण ब्यवसायी संघले साइकल यात्रीलाई खाना–खाजा खुवाउने छन् ।
होटल ब्यवसायी संघ, सिन्धुली र खुर्कोटले यात्रुलाई बासको ब्यवस्था मिलाएका छन् । सिन्धुली रेडक्रसले यात्रा अबधिभर एम्बुलेन्सको ब्यवस्था गर्ने छ ।
नेको इन्स्योरेन्सले साइकल यात्रामा जाने सबैको बीमा गरिदिएको छ ।