सिटौलाले भने– कांग्रेस परिवर्तनको वाहक, पुरातनवादीहरुको पराजय निश्चित
गोविन्दचन्द्र छेत्री,
प्रकाशित २०७४ कार्तिक २३ बिहिबार
200
Shares
झापा । नेपाली काँग्रेसका पूर्वमहामन्त्री तथा प्रतिनिधि सभाका लागि झापा क्षेत्र नम्वर ३ का उम्मेदवार कृष्णप्रसाद सिटौलाले समुन्नतितर्फ लम्किने समाजले परिवर्तनका पक्षधरलाई साथ दिने विश्वास गर्दै यो निर्वाचनमा पुरातनवादीहरु पराजित हुने जिकिर गरेका छन् ।
चुनावी अभियान अन्तर्गत बाह्रदशी गाउँपालिका ४ पुगेका सिटौलाले आसन्न प्रतिनिधि सभा निर्वाचनमा एमाले र माओवादीले उम्मेद्वारी नदिएपछि परिवर्तनको पक्षधर नेपाली काँग्रेस मात्र मैदानमा रहेकाले परिवर्तनकारी झापाली मतदाताले अत्यधिक मतले नेपाली कांग्रेसलाई विजयी गराउने विश्वास लिए ।
कार्यक्रममा प्रदेश सभा ख का उम्मेदवार भगिरथ पोद्धारले लोकतन्त्रको लडाइमा निरन्तर पहरेदार भएर लागेको नेपाली काँग्रेस वर्तमानको आवश्यकता रहेको बताए । उनले देशको विकास र जनताको मुहार फेर्न आफूले प्रदेश सभाको उम्मेदवारी दिएको बताए ।
साविक चकचकी २ मा भएको अन्र्तक्रियामा स्थानीय स्तरमा समाधान हुन नसक्ने सडक, पुल, खानेपानी लगायतका पूर्वाधारको विकासका लागि आफूहरुले मरिमेटेर काम गर्ने प्रतिबद्धता दुवै उम्मेद्वारले व्यक्त गरे ।
लोकतन्त्रको रक्षा र विकास लागि कांग्रेस
नेपाल प्रेस युनियन झापाले वुधबार आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताहरुले वामपन्थीहरुले जीतेमा लोकतन्त्र मासिने भएकाले लोकतन्त्रको रक्षा र मुलुकको समुन्नत विकासका लागि कांग्रेसका उम्मेदवारहरुलाई जिताउनु पर्ने सुझाव दिएका छन् ।
उनीहरुले आसन्न निर्वाचन अधिनायकवाद र लोकतन्त्रबीचको प्रतिष्पर्धा भएको जिकिर गरेका हुन् । कार्यक्रममा कांग्रेस नेता तथा पूर्व सांसद सुधिरकुमार शिवाकोटीले कम्युनिष्टहरुको अन्तिम उद्देश्य नै साम्यवादी शासन भएकोले लोकतन्त्रको रक्षाका लागि कांग्रेसका उम्मेदवारलाई जिताउन सञ्चार माध्यमहरुले भूमिका खेल्नुपर्ने औल्याए ।
कार्यक्रममा पूर्व सांसद विश्वदीप लिङ्देनले मधेसी, जनजातिलगायत पिछडिएको समुहलाई अधिकार दिन नचाहनेहरुको गठबन्धनले जितेमा मुठ्ठीभर नेताहरुमात्र सफल बन्ने बताए ।
कार्यक्रममा कांग्रेस झापाका कार्यवाहक सभापति राम कट्टेल, जिल्ला सचिव प्रेम सम्बाहाम्फे लगायतले बोलेका थिए । वुधबारनै नेपाली कांग्रेस दमक नगरले कांग्रेसका उम्मेदवारहरुलाई जिताउन १ हजार १ सय ११सदस्यीय प्रचार समिति गठन संगै विभिन्न निर्णयहरु गरेको छ ।
नगर सभापति रोशन विष्टको अध्यक्षतामा बनेको समितिमा नगरभित्र रहेका महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, जिल्ला सदस्यहरु, नगर समितिका पदाधिकारीहरु, विभिन्न भातृ संगठनका पदाधिकारी तथा स्थानीय तहको निर्वाचनमा कांग्रेसको तर्फबाट दमक नगरपालिकाका लागि बनेका ५२ जना उम्मेदवारहरु सम्मिलिते १ हजार १ सय ११ सदस्यीय प्रचार प्रचार समिति गठन गरेको छ ।