काँग्रेसलाई सरकारमा सहभागी हुन प्रधानमन्त्री ओलीको आग्रह
प्रकाशित २०७६ वैशाख २५ बुधबार
864
Shares
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्ट पक्षका सबै मागलाई सम्भव भएसम्म सम्बोधन गर्ने बताउँदै वार्ता र संवादबाट निकास खोज्न आग्रह गर्नुभएको छ ।गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) को सातौँ अन्तर्राष्ट्रिय साधारणसभा तथा विश्व सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाली जनतालाई दुःख दिनेभन्दा पनि समाधानको बाटोमा लाग्न आन्दोलनरत दललाई आग्रह गर्नुभएको हो । उहाँले जनताको माग र आकाङ्क्षाअनुसार संविधान संशोधन गरिने स्पष्ट पार्दै असन्तुष्ट जनाइरहनुपर्ने अवस्था नरहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “दशगजाको पुलमा बसेर नेपाली जनतालाई दःुख दिन भएन, सरकारले तपाईहरुलाई ‘रेड कार्पेट’ बिछ्याएर वार्तामा आउन आह्वान गर्न चाहन्छ, वार्ताबाटै समस्याको समाधान खोजौँ, सम्भव भएसम्म सबै माग पूरा हुन्छ ।”
देशलाई अप्ठ्यारो परेका समयमा राजनीतिक दल एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उहाँले सम्मानपूर्वक रुपमा सरकारमा सहभागी हुन नेपाली काँग्रेसलाई आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “एमाले र काँग्रेस सत्तापक्ष र प्रतिपक्ष होइन, एकै हो । राष्ट्र अप्ठ्यारोमा परेका बेला डिलमा बसेर काँग्रेसले हेर्न सक्दैन । पूर्वप्रधानमन्त्री सुशील कोइरालाज्यू म एउटा जुवाको एकातिर म काँध हाल्छु अर्कोतिर तपाई हाल्नुहोस् ।”
हालै जारी संविधानले एनआरएनएले उठाएका मागलाई सम्बोधन गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “एकपटकको नेपाली सधैँको नेपाली भन्ने तपाईहरुका माग राज्यले पूरा गरेको छ ।” नेपाल समृद्धिको बाटोमा अगाडि बढेको उल्लेख गर्दै त्यसका लागि विश्वभर छरिएर रहेका नेपालीले सहयोग गर्नुपर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो । उहाँले कृषिको आधुनिकीकरण र व्यवसायीकरण गरेर नेपाललाई आर्थिक रुपमा सबल बनाउने कार्यमा सहयोग गर्नसमेत आग्रह गर्नुभयो । सो अवसरमा पूर्व प्रधानमन्त्री सुशील कोइरालाले देश र जनताप्रति आफू चिन्तित रहेको बताउँदै आगामी दिनमा सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।
प्रधानमन्त्रीमा आफ्नो कुनै आकाङ्क्षा नभएको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “पार्टीको निर्णयअनुसार मैले उम्मेदवारी दिएको हुँ । त्यो बाध्यात्मक परिस्थितिको उपज थियो, प्रजातन्त्रका लागि निर्वाचनमा सहभागी भएको थिएँ ।”
नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका सुशील कोइरालाले सबै समस्याको विस्तारै समाधान भएर जाने विश्वास दिलाउँदै भन्नुभयो, “काँग्रेसले विरोधका लागि विरोध गर्दैन ।” उहाँले असन्तुष्ट दलका मागलाई संविधानको संशोधनबाट पूरा गरिने उल्लेख गर्दै वार्ता र संवादबाट निकास खोज्न आग्रह गर्नुभयो । यसैबीच एनआरएनएको सातौँ अन्तर्राष्ट्रिय साधारणसभा तथा विश्व सम्मेलन १० बुँदे घोषणापत्र जारी गरी आज यहाँ सम्पन्न भएको छ ।
सम्मेलनले जारी गरेको घोषणामा सरकारसँग सहकार्य गरी एक हजार घर निर्माण गर्ने, सीप, पुँजीको सदुपयोग गर्दै विकासको सच्चा साझेदार बन्ने तथा जलविद्युत्, पर्यटन, स्वास्थ्य, शिक्षा क्षेत्रमा लागानी भित्र्याउन पहल गर्नेलगायतलाई प्राथमिकताका साथ उल्लेख गरिएको छ । कार्यक्रममा एनआरएनएका नवनिर्वाचित अध्यक्ष शेष घलेले काठमाडौँ घोषणापत्रलाई प्रतिबद्ध भएर कार्यान्वयन गर्ने बताउनुभयो । बुधबार सुरु भएको सम्मेलनमा ७१ देशका एक हजार २०० बढी प्रतिनिधिको सहभागिता रहेको थियो ।