काठमाडौं। नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले चिनियाँ राष्ट्रपति सि जिनपिङलाई नेपाल भ्रमणको निम्तो दिनुभएको छ। चिनियाँ कम्युनिष्ट पार्टीले आयोजना गरेको सिल्क रोड सम्बन्धि एसियन राजनीतिक दलहरुको विशेष सम्मेलनमा भाग लिन चीन पुग्नुभएकी कोइरालाले चिनियाँ राष्ट्रपति सि जिनपिङलाई नेपाल भ्रमणको निम्तो दिनुभएको हो। चिनियाँ राष्ट्रपति सि जिनपिङ चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव हुनुहुन्छ। नेपाली कांग्रेसको विदेश विभाग प्रमुख तथा पूर्व उप तथा परराष्ट्र मन्त्रीको हैसियतमा उहाँलाई उपयुक्त समयमा नेपाल भ्रमणको निम्तो दिएको कोइरालाले जानकारी दिनुभयो।
सम्मेलनमा सिल्क रोडले यातायात, व्यापार–व्यवसाय, संचार, सांस्कृतिक र प्रविधिको आदान–प्रदान र जनता–जनताबीचको सम्बन्ध विस्तार गर्ने अवसर प्रदान गर्ने विषयमा धारणा राखेको कोइरालाले बताउनुभयो।
सम्मेलनका क्रममा दक्षिण एसियाली देशहरुका प्रतिनिधिहरुबीच सिल्क रोडबारे विचार–आदान प्रदान गरिएको थियो । सिल्क रोडको अतिरिक्त दक्षिण एसियाली देशहरुले गरिबी, शिक्षा, स्वास्थ्य, आतंक, सम्पत्ति शुद्धिकरण, मानव बेचबिखन र एकअर्काबीच कनेक्टिभीटीको समान समस्या झेलिरहेको उल्लेख गर्दै ती समस्या खासगरी आपसी द्धन्द्ध र अविश्वासका कारण कायम रहेको धारणा कोइरालाले दक्षिण एशियाली नेताहरुमाझ राखेको हाम्राकुरा डटकमलाई जानकारी दिनुभयो।
दक्षिण एसियाली सहयोग संगठनको दुई–दुई वर्षमा हुने सम्मेलन ती समस्या सम्बोधन गर्न सक्षम हुन नसकेको कोइरालाले प्रष्ट धारणा सहभागिहरुमाझ राख्नुभएको थियो। दक्षिण एशियाली क्षेत्रमा देखिएका समस्या समाधानका लागि चीनको सहयोग अपरिहार्य रहेको धारणा राख्दै कोइरालाको शान्ति, स्थायित्व र विकासको मामिलामा समय भन्दा धेरै अगाडि रहेको चीनले यस क्षेत्रमै फरक पार्न सक्ने बताउनुभएको थियो। चीनको सहयोग लिन र उसबाट सिक्न सके मात्र दक्षिण एसियाली देशहरुले समृद्धि प्राप्त गर्न सक्ने नेतृ कोइरालाले बताउनुभयो।
नेपाल अगाडि बढ्न नसक्ने गरि समाज, विचार र राजनीतिक दलमा विभाजन ल्याउने प्रयत्न भइरहेको तर्फ सचेत गराउँदै नेतृ कोइरालाले नेपाली जनताले आर्थिक अवरोधबाट झेलिरहेको दुःख कष्टप्रति अन्तर्राष्ट्रिय समुदायकासाथै मानव अधिकारवादीले चासो नदिएकोमा आश्चर्य प्रकट गरेको बताउनुभयो।
सम्मेलनले सिल्क रोडको विकास र विस्तारका लागि १५ बुँदे बेइजिङ घोषणा पत्र जारी गरेको छ । चीनका वर्तमान राष्ट्रपतिबाट सन् २०१३ मा मध्य एसिया भ्रमणका क्रममा सिल्क रोडको अवधारणा आएको थियो । सिल्क रोड आर्थिक समृद्धि र २१ औं शताब्दिमा धेरै देशलाई समुन्द्रमार्फत जोड्ने योजना हो । यो नेपालको आर्थिक विकास र समृद्धिका लागि एउटा प्रस्थान बिन्दु हुनसक्छ ।
बेइजिङमा यही अक्टोबर १४ देखि १६ तारेखसम्म सम्मेलन भएको थियो। सम्मेलनमा विभिन्न ३० देशका ६० राजनीतिक दलका प्रतिनिधिका साथै विभिन्न देशका राष्ट्रपति र प्रधानमन्त्रीहरुको समेत सहभागिता थियो।