केसीको माग खारेज गर्नुपर्ने माग राख्दै अनशन बसेका थापाको स्थिति दयनीय
प्रकाशित २०७५ वैशाख २३ आइतबार
521
Shares
काठमाडौँ । डा गोविन्द केसीको माग खारेज गर्नुपर्ने माग राख्दै अनशनरत मिसन सिन्धुलीगढी राष्ट्रिय मोर्चाका नेपालका सदस्य विजय थापाको स्थिति दयनीय बन्दै गएको छ । अनशन बसेको एघारौँ दिनसम्म पनि सरकारको ध्यान जान नसक्दा थापाको स्थिति दयनीय बनेको हो ।
दुई दिनदेखि थापाको शरीरमा सोडियम र पोटासियमको अभाव हुँदा उहाँ बोल्न नसक्ने स्थितिमा पुगेको मोर्चाका संरक्षक तथा अनशनका व्यवस्थापक गोविन्द बोहराले बताए ।
“सरकारलाई ज्ञापनपत्र बुझाइसक्दा र उनको स्वास्थ्य स्थितिका बारेमा जानकारी गराउँदासमेत अहिलेसम्म बुझ्नसमेत आएको छैन”, बोहराले बताए ।
सरकारले नयाँ स्वास्थ्य विधेयक खारेज नगरेसम्म अनशनरत बसिरहने उनले बताए । मोर्चाको चिकित्सा शास्त्रको अध्ययनमा सिन्डिकेट प्रथा खारेज गर्नुपर्ने, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई मेडिकल विश्वविद्यालयका रुपमा स्थापित गर्नुपर्ने, राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ खारेज गरिनुपर्नेलगायत आठ बुँदे माग जारी गरिएको छ ।
सरकारले समयमा नै अनशनप्रति ध्यानाकर्षण नगरे कडारुपमा प्रस्तुत हुनेसमेत मोर्चाले जनाएको छ । रासस