arrow

नेपाललाई विश्वव्यापी वैदिक अभियानको राजधानी बनाइने

logo
प्रकाशित २०७५ जेठ २ बुधबार
sankaracharya.jpg

काठमाडौँ । जगन्नाथपुरीस्थित पूर्वयामना ऋग्वेद गोवद्र्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वतले नेपाललाई विश्वव्यापी वैदिक अभियानको राजधानी बनाउनुपर्ने बताएका छन् । त्रिभुवन विश्वविद्यालय संस्कृत विभागले बुधवार कीर्तिपुरस्थित स्मृति हलमा आयोजना गरेको विशेष प्रवचनमा उनले नास्तिक मानिसका पनि अन्तरात्मा आस्तिक हुने बताए ।

“विज्ञान वेदकै अंग हो, वेदकै अध्ययनले पश्चिमी देशका मानिसले ठूला वैज्ञानिक उपलब्धि हासिल गरेका छन्, हामी वेदको पूजा र पाठमा मात्र केन्द्रित भई भनेका कुरा व्यवहारमा उतार्न नलाग्दा पछि परेका छौँ,” उनले भने।

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति डा तीर्थराज खनियाँ, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइराला, विभागका प्रमुख नारायण गौतमलगायतका वक्ताले वैदिक दर्शनलाई नेपाली भाषामै सहज ढंगले पठनपाठनको व्यवस्था मिलाइनुपर्नेमा जोड दिए  ।

यसअघि आज बिहान गोल्डेन गेट कलेजले आयोजना गरेको कार्यक्रममा पनि शंकराचार्य निश्चलानन्द सरस्वतीले पुष्पक विमानको प्रसंगबाटै आधुनिक हवाई जहाजको विकास भएको भनाइ राखे।

उनले वैदिक दर्शनलाई आधार मानेर १६७ वटा पुस्तक लेखेका छन् ।  उनको योगदानको कदर गर्दै आज कीर्तिपुरमा अभिनन्दनसमेत गरियो ।

बिहीबार शंकराचार्य निश्चलानन्द देवघाटको दर्शनमा जाने जगद्गुरु शंकराचार्य निश्चलानन्द सरस्वती नागरिक स्वागतार्थ मूल आयोजक समितिका सदस्य अर्जुनप्रसाद बास्तोलाले जानकारी दिए ।

यसैगरी उनले जेठ ४ गते भरतपुर र ६ गते वीरगञ्जमा आयोजना हुने कार्यक्रममा पनि प्रवचन गर्‍नेछन् ।  आद्य शंकराचार्यले बसालेका चार मठमध्ये गोवद्र्धन मठ एक हो । अन्य तीन मठमा श्रृंगेरी, द्वारका र ज्योर्तिमठ छन् । निश्चलानन्द गोवद्र्धन मठका १४५औँ शंकराचार्य हुन् । यो मठका शंकराचार्य १५० वर्षपछि नेपाल आएका हुन् ।

यसअघि विसं २०५४ मा तत्कालीन उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमको निमन्त्रणामा काञ्ची कामकोटी मठका जगद्गुरु शंकराचार्य जयन्द्र सरस्वती नेपालको धार्मिक यात्रामा आएका थिए । शंकराचार्य परम्परामा यो मठलाई पाँचौँ मठ पनि भनिन्छ ।

यसपटक पशुपति क्षेत्र विकास कोष र नेपाल पर्यटन बोर्डले शंकराचार्य निश्चलानन्द सरस्वतीलाई धार्मिक पर्यटनका लागि नेपाल आमन्त्रण गरेका हुन् ।  शंकराचार्यको स्वागत एवं विभिन्न स्थानमा हुने कार्यक्रमको व्यवस्थापन तथा संयोजनका लागि जगद्गुरु शंकराचार्य निश्चलानन्द सरस्वती नागरिक स्वागतार्थ मूल आयोजक समिति गठन गरिएको छ । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ