समावेशितालाई बिर्सिंदै बाम गठबन्धनको 'हाईकमाण्ड' गठन
प्रकाशित २०७५ जेठ ३ बिहिबार
646
Shares
काठमाडौं । एमाले र माओवादी केन्द्रले पार्टी एकतासँगै नौ सदस्यीय ‘हाइकमाण्ड’ गठन गरेका छन् । विहीबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले उक्त ‘हाइकमाण्ड’ गठन गरेको हो । एकतापछि बन्ने नेपाल कम्युनिष्ट पार्टी सञ्चालनमा यो ‘हाइकमाण्ड’ले निर्णायकको भूमिका निर्वाह गर्नेछ । स्थायी समिति भन्दा माथि रहने यो सचिवालयमा ९ सदस्यीय हाइकमाण्डको ब्यवस्था गरेको हो ।
अहिले गठन गरिएको हाइकमाण्डमा नेकपा एमालेका छ जना सदस्यहरु रहेका छन् भने माओवादी केन्द्रका तीनजना सदस्यहरु रहेका छन् । वरीयताको क्रममा दुई पार्टीका अध्यक्षहरु केपी शर्मा ओली पहिलो र पुष्पकमल दाहाल दोस्रोमा रहनेछन् । त्यसपछि क्रमशः माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा (बादल) र विष्णु पौडेल रहने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।
कम्युनिष्ट गठबन्धनले गठन गरेको हाईकमाण्डलाई समावेशी नबनाएको कुरा चर्चामा आउन थालेको छ। नेपालको कम्युनिष्ट आन्दोलनले उठाएका मुल मुद्दाहरुमा पर्ने समावेशी सहभागिताको बिपरित हाईकमाण्ड गठन भएको छ।
हाईकमाण्डमा सतप्रतिशत पुरुष रहेका छन् भने एमालेबाट समावेश भएकाहरुमा ब्राह्मणहरु मात्र रहेका छन् भने माओवादीले महिला समावेश नगरे पनि जनजातीहरुलाई भने समावेश गरेको छ। रामबहादुर थापा र नारायनकाजी श्रेष्ठले जनजातीहरुको प्रतिनिधित्व गरेका छन्।
नेपालमा भएको समावेशीताको आन्दोलनलाई नजरअन्दाज गर्दै कम्युनिष्ट गठबन्धनले सकरात्मक सन्देश दिन नसकेको एक बिश्लेषक बताउँछन्।
महिलाहरुको हकमा पनि बाम गठबन्धन उदासिन देखिएको छ। नेतृत्व तहमा महिलालाई बिशवास नगरेको र भाषण र गफहरुमा मात्र समावेशीताको कुरा गर्नाले बाम नेताहरुमा पनि पितृसतात्मक सोच हावी रहेको प्रष्टै देख्न सकिन्छ ।
नेपालको कम्युनिष्ट आन्दोलनहरुमा महिला, मधेशी, जनजाती, थारु, मुस्लिम लगायत सबैको बराबरको योगदान रहँदा पनि नेतृत्व तहमा अरुलाई विश्वास नगर्नु उदेक लाग्दो देखिन्छ।
बाम गठबन्धनको हाईकमाण्डले नारायणकाजी श्रेष्ठलाई प्रवक्ता र विष्णु पौडेललाई महासचिवको जिम्मेवारी दिने तयारी गरिएको छ । एकीकृत पार्टीको स्थायी कमिटि भने ४५ सदस्यीय रहने भएको छ ।
जसमा एमालेबाट २६ र माओवादीबाट १९ नेताहरु रहने भएका छन् । केन्द्रीय कमिटिमा भने ४४१ सदस्यहरु रहनेछन् । उक्त कमिटिमा एमालेका २४१ र माओवादीका दुई सय नेताहरु रहने भएका छन् ।