arrow

विवादित दक्षिण चीन सागरमा चीनको बमवर्षक विमान !

logo
प्रकाशित २०७५ जेठ ६ आइतबार
south-china-sea.jpg

काठमाडौं । चीनले पहिलोपटक विवादित दक्षिण चीन सागरमा आफ्नो बमवर्षक विमान ल्याण्ड गरेको छ । चीनको एयरफोर्सले छ मुलुकहरुले आफ्नो भन्ने दाबी गरिरहेको उक्त टापुमा आफ्नो बमवर्षक विमान ल्याण्ड गराएको बताएको हो ।

पछिल्लो समय अमेरिकाले चीनले समग्र एसिया क्षेत्रको अस्थिरता बढाइरहेको भन्दै चेतावनी दिइरहेको अवस्थामा चीनले यस्तो बताएको हो । चीनले एच–६के मोडलको बमवर्षक उक्त टापुमा अवतरण गराएको हो । यो क्षेत्रमा आफ्नो अधिकार विस्तार गर्नका लागि चीनले यस्तो योजना ल्याएको हो ।

व्यापारिक हिसाबले निकै महत्वपूर्ण मानिने यो टापुमा एसियाका विभिन्न छ मुलुकहरुले आफ्नो दाबी गर्दै आएका छन् । चीनले यो टापुमा आफ्नो अधिकार जमाउनको लागि आफ्नो सैन्य शक्तिको दुरुपयोग गरिरहेको आरोप लाग्दै आएको छ ।

अहिले चीनको यस किसिमको कार्यले यो क्षेत्रको तनाव बढ्नसक्ने विश्लेषकहरुले बताएका छन् । चीनले सो टापुको कुन क्षेत्रमा विमान अवतरण गराइएको हो भन्ने विषयमा भने कुनै जानकारी दिएको छैन । यो विमानका पाइलटले भने यस किसिमको तालिमले आफ्नो उत्साह बढाउने र कुनै वास्तविक युद्धको लागि आफूहरुको क्षमता बढाउनमा सहयोग पुग्ने बताए ।

एसियाको अनुसन्धान गरिरहेको एएमटीआईका विज्ञहरुले पनि भिडियोमा एच–६के विमान ल्याण्ड गरेको र त्यहाँबाट उडेको पाइएको बताएका छन् । उनीहरुका अनुसार अहिले भियतनाम र ताइवानले आफ्नो दाबी गरिरहेको क्षेत्रमा चीनले आफ्नो विमान ल्याण्ड गराएको हो ।

यसगरी पनि चीनले यो क्षेत्रमा आफ्नो फाइटर विमानहरु ल्याण्ड गराएको थियो तर बम वर्षक विमान नै ल्याण्ड गराएको हो । चीनले बनाएको दक्षिण चीन सागरको विषयमा अमेरिकाले भने आफूहरु स्वतन्त्र र खुला इन्डो–प्यासिफिकको पक्षमा प्रतिबद्ध रहेको बताएको छ ।

पछिल्लो समय चीनले दक्षिणी चीन सागरको विषयमा गरेको विभिन्न किसिमको गतिविधिहरुले भने यो क्षेत्रको तनावलाई थप बढाउने अमेरिकाले बताएको छ ।एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ