- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन महिनाको १२ तारिखमा हुने भनिएको शिखर बैठक उक्त समयमै नहुन पनि सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पले जानकारी दिएका छन् ।
उक्त बैठक निर्धारित मितिमा हुनेमा आशङ्का व्यक्त गरिएको हो । उनले मङ्गलबार संवाददाताहरूसँग सो प्रतिक्रिया दिएका हुन् । उनले उत्तर कोरियाले केही शर्तहरू पूरा गर्नुपर्ने अवस्था रहेको र नगरेमा उक्त शिखर बैठक निर्धारित समयमा नबस्न पनि सक्ने बताए ।
राष्ट्रपति ट्रम्पले तर यसको मतलब बैठक नै नबस्ने भने होइन भने । उनले उत्तर कोरियाले आवश्यक शर्तहरु पूरा गर्नुपर्नेमा जोड दिएको प्राप्त समाचारमा जनाइएको छ ।
तर प्योङयाङले भने संयुक्त राज्य अमेरिकाले एकपक्षीय रुपमा उत्तर कोरियालाई मात्र निःशस्त्रीकरणमा जोड दिने गरेको आरोप लगाएको छ । सोही कारण तथा केही दिनयता देखि दक्षिण कोरियाको राजधानी सोलमा जारी रहेको अमेरिका र सोलको संयुक्त सैन्य अभ्यासका कारण पनि वार्तामा नबस्ने चेतावनी दिएको थियो ।
दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन अमेरिका भ्रमणमा छन् । सोही क्रममा मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्प र इनबीच भएको भेटवार्तापछि ह्वाइट हाउसमा सम्वाददाताहरुसँग राष्ट्रपति ट्रम्पले सो प्रतिक्रिया दिएका हुन् ।
उनले भने– 'मैले उत्तर कोरियाली नेता किमलाई गम्भीर हुनुहुन्न भन्दिन, उहाँ कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि गम्भीर नै हुनुहुन्छ । तर पनि केही शर्तहरु छन् जुन वार्ता अगावै पूरा हुनुपर्छ ।'
आगामी उक्त शिखर बैठक आयोजना हुने गरी साझा विन्दु पहिल्याउने विषयमा छलफल गर्न राष्ट्रपति इन वासिङ्टनमा छन् । उनि मङ्गलबार नै अमेरिका पुगेका हुन् । उक्त शिखर बैठक आयोजनाका लागि वातावरण बनाउन दक्षिण कोरियाली राष्ट्रपति इनका अतिरिक्त यसअघि पनि केही उच्चस्तरीय अधिकारीहरु वासिङ्टन पुगेका थिए ।
दक्षिण कोरियाली राष्ट्रपति इन र राष्ट्रपति ट्रम्पबीचको यस बैठकले अमेरिका र उत्तर कोरियाको बीचमा हुन लागेको उक्त जुन बैठकको लागि विविध विषयहरू तय गर्ने पनि ठानिएको समाचारमा जनाइएको छ ।
राष्ट्रपति ट्रम्पले उक्त ऐतिहासिक बैठकमा केही विलम्ब भए पनि वार्ता भने हुने दाबी गरे। तर पनि पछिल्लो समयमा वार्तामा नबस्ने भनी उत्तर कोरियाबाट आएको प्रतिक्रियाको बारेमा भने आफू आश्चर्यमा परेको बताए । तर राष्ट्रपति ट्रम्पले जुन १२ मा भएन भने सो बैठक कहिले हुन्छ त भन्ने बारेमा भने केही बताएनन् । उनले आगामी केही समयमा त्यसबारेमा मिति तय हुने बताए । एएफपी