arrow

'कोरियाको अन्त्य लिबियाको जस्तो' भन्ने अमेरिकी भनाइप्रति कोरियाको आपत्ति

logo
प्रकाशित २०७५ जेठ १० बिहिबार
america-north-korea.jpg

सोल ।  अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियाको अन्त्य लिबियाकोजस्तो हुन पनि सक्ने भनी गरेको टिप्पणीप्रति उत्तर कोरियाले कडा आपत्ति जनाएको छ ।  उत्तर कोरियाली उपविदेशमन्त्री चो सुन हुइले उक्त भनाइप्रति आपत्ति जनाएका हुन् । अमेरिकी उपराष्ट्रपतिको भनाई अत्यन्तै गैरजिम्मेवारपूर्ण रहेको उनको भनाई छ ।

उत्तर कोरियाले शान्तिका लागि निकै प्रयास गरेको, अमेरिकासँग पनि वार्ताको तयारी गरेको, दक्षिण कोरियासँग बृहत शान्ति सम्झौता गरेको तर अमेरिकाले आफ्नो सदासयतालाई कमजोरीका रुपमा लिएको बताए ।

त्यसैगरी प्राप्त एक अर्को समाचारमा जनाइएअनुसार दक्षिण कोरियाले उत्तर कोरियासँग वार्ताका लागि अर्को मिति तोक्न लागेको बताइएको छ । दक्षिण कोरिया र उत्तरका बीच यही मे १६ मा मन्त्रीस्तरको बैठकको आयोजना गरेकोमा त्यसको एक दिनमात्र अघि उत्तर कोरियाले सो वार्तामा बस्न नसक्ने भनी पत्र पठाएको थियो ।

दक्षिण कोरियाको राजधानी सोलमा दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यास जारी रहेको भन्दै यस सैन्य अभ्यास नरोक्दासम्म अर्को बैठक नबसिने भन्दै उत्तर कोरियाले सो अडान लिएको थियो । तर पनि वार्ताबाट पछि नहट्न दक्षिण कोरियाको जोड रहेको छ । दक्षिण कोरियाले अर्को वार्ताको मिति तोक्ने तयारी गरेको राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले जनाएको छ ।

तर यस विषयमा उत्तरको भने कुनै प्रतिक्रिया आएको छैन । उत्तर कोरियाले उक्त सैन्य अभ्यासको अन्त्य नगरिँदासम्म वार्तामा नबस्ने बताएको छ । एएफपी

 



नयाँ