arrow

अमेरिका उत्तर कोरिया शिखर बैठकमा चिनियाँ समर्थन

logo
प्रकाशित २०७५ जेठ १० बिहिबार
north-korea-china-usa-drills-world-war-3-887809.jpg

वासिङ्टन । चिनियाँ विदेशमन्त्री वाङ यिले संयुक्त राज्य अमेरिका र उत्तर कोरियाका बीचमा हुन लागेको शिखर बैठकप्रति चीनको समर्थन रहेको बताएका छन्  । सो शिखर बैठकले अरु धेरै कुराहरुका अतिरिक्त कोरियाली प्रायद्वीप क्षेत्रमा शान्ति स्थापनाका लागि ठूलो सहयोग पुर्‍याउने विश्वास चीनले लिएको भन्दै यसका लागि चीनको आवश्यक सबै सहयोग हुने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।  

अमेरिकाको वासिङ्टनमा अमेरिकी विदेशमन्त्री माइक पेम्पेओसँगको द्विपक्षीय वार्तापछि आयोजित पत्रकार सम्मेलनका क्रममा विदेशमन्त्री वाङले सो धारणा राखेका हुन् । चिनियाँ विदेशमन्त्री वाङ अमेरिका पुगेका छन् । उनले बुधबार आफ्ना अमेरिकी समकक्षीयसँग भेटवार्ता गरेका थिए । उनले उक्त वार्ताको सफलताका लागि चीनले जे गर्नुपर्छ त्यो गर्नेछ भने ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन महिनाको १२ तारिखमा सिंगापुरमा शिखर बैठक र वार्ता हुने भनिएको छ । तर उक्त मितिमा हुने भनिएको सो शिखर बैठक सोही दिनमा नहुन पनि सक्ने आशङ्का मङ्गलबार मात्र अमेरिकी राष्ट्रपति ट्रम्पले व्यक्त गरेका छन् ।  

उनले मङ्गलबार संवाददाताहरूसँग सो प्रतिक्रिया दिएको एक दिनपछि बुधबार भने चिनियाँ विदेशमन्त्रीको यो प्रतिक्रिया आएको छ । तर अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त बैठक निर्धारित मितिमा हुनेमा आशङ्का व्यक्त गरेपनि वर्ता भने हुने बताएका छन् । उनले उत्तर कोरियाले केही शर्तहरू पूरा गर्नुपर्ने अवस्था रहेकोले उक्त शिखर बैठक निर्धारित समयमा नबस्न पनि सक्ने बताएका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्पको सो प्रतिक्रियाको जवाफमा चिनियाँ विदेशमन्त्री वाङले भने– उक्त बैठक निर्धारित समयमै बसोस र दुई देशकाबीचमा हुन लागेको यस शिखर बैठक सफल पनि होस् भन्ने चीनको चाहना छ ।

उक्त पत्रकार सम्मेलनमा चिनियाँ विदेशमन्त्री वाङले भने– हामीलाई विश्वास छ कि अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम नै यस समस्याको समाधानका लागि सक्षम हुनुहुन्छ र आगामी दिनमा कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि के गर्नुपर्छ भन्ने बारेमा पनि उहाँहरुले आफैले गर्न सक्नुहुनेछ ।

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमले त्यस विषयमा गर्ने निर्णय नै विश्वका लागि एउटा राम्रो र शुभ समाचार हुने अपेक्षा पनि चीनले राखेको सो अवसरमा विदेशमन्त्रीले बताए । तर प्योङयाङले भने संयुक्त राज्य अमेरिकाले एकपक्षीय रुपमा उत्तर कोरियालाई मात्र निःशस्त्रीकरणमा जोड दिने गरेको आरोप लगाएको छ ।

सोही कारण तथा केही दिनयता देखि दक्षिण कोरियाको राजधानी सोलमा जारी रहेको अमेरिका र सोलको संयुक्त सैन्य अभ्यासका कारण उत्तर कोरियाले अमेरिकासँगको शिखर वार्तामा नबस्ने चेतावनी दिएको थियो । तर राष्ट्रपति ट्रम्पले भने आफूले उत्तर कोरियाली नेता किमलाई शान्तिका क्षेत्रमा गम्भीर रहेको पाएको भन्दै कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि उन इच्छुक रहेको पनि बताएका थिए ।

उक्त शिखर बैठक आयोजनाका लागि वातावरण बनाउन दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका अतिरिक्त चिनियाँ विदेशमन्त्री पनि अमेरिका पुगेका छन् ।  दक्षिण कोरियाली राष्ट्रपति मुन र राष्ट्रपति ट्रम्पबीचको यस बैठकले अमेरिका र उत्तर कोरियाको बीचमा हुन लागेको उक्त जुन बैठकको लागि विविध विषयहरू तयगर्ने पनि ठानिएको समाचारमा जनाइएको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ