arrow

बैठक स्थगनपछि उत्तर कोरियाको जवाफ, 'वार्ता बस्न जहिले पनि तयार'

logo
प्रकाशित २०७५ जेठ ११ शुक्रबार

काठमाडौं । उत्तर कोरियाले अमेरिकी राष्ट्रपतिले किम जोन उनसँगको वार्ता स्थगित गरेसँगै जुनसुकै समयमा वार्तामा बस्नका लागि तयार रहेको प्रतिक्रिया दिएको छ ।  उत्तर कोरियाका उपविदेशमन्त्री किम केइ–ग्वानले ट्रम्पको तर्फबाट अहिले आएको यस किसिमको निर्णय दुःखलाग्दो रहेको बताएका छन् ।
 
अमेरिकी राष्ट्रपति ट्रम्पले खुलारुपमा शत्रुताको भावना राखेको भन्दै यो बैठक स्थगित गर्ने निर्णय गरेका हुन् । उत्तर कोरियाका कुनै पनि नेतासँग अमेरिकी राष्ट्रपतिको यो पहिलो बैठक हुन गइरहेको अवस्थामा अमेरिकाले यो बैठक स्थगित गर्ने निर्णय गरेको हो ।

जुन १२ मा सिँगापुरमा हुन गइरहेको बैठकको विषयमा धेरै कुराहरु अस्पष्ट रहेको भए पनि दुवै मुलुकहरुको बीचमा न्युक्लियर हतियारमुक्त कोरियन प्रायद्वीप बनाउने विषयमा वार्ता भइरहेको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो यस किसिमको घोषणा गर्नुभन्दा केही घण्टाअघि मात्र उत्तर कोरियाले आफ्नो प्रतिबद्धताअनुसार आफ्नो एकमात्र न्युक्लियर परीक्षण गर्ने सुरुङ्ग ध्वस्त पारेको जानकारी दिएको थियो ।
 
ट्रम्पले उत्तर कोरियन नेता किम जोन उनलाई व्यक्तिगतरुपमा पत्र लेखेर बैठक स्थगित गर्ने निर्णय गरेका हुन् । अन्य अमेरिकी अधिकारीहरुले भने प्योंगयोङको तर्फबाट व्यापकमात्रामा प्रतिबद्धताहरु मिचिएको कारण बैठक स्थगित गर्नुपरेको बताएका छन् ।

दक्षिण कोरियाका राष्ट्रपति मून जाइ–इनसँगको वार्तापछि अमेरिकी राष्ट्रपतिले यस्तो निर्णय गरेका हुन् । ट्रम्पले पत्रमा उत्तर कोरियाको व्यवहारको कारण उसले मुलुकलाई समृद्धिको बाटोमा लैजाने ठुलो अवसर गुमाएको र यो उत्तर कोरियाको लागि इतिहासकै सबैभन्दा ठुलो भूल हुने उल्लेख गरेका छन् ।

यसअघि अमेरिकी विदेशमन्त्रीले उत्तर कोरियाको अन्त्य लिबियाको जस्तो हुने टीप्पणी गरेसँगै उत्तर कोरिया र अमेरिकाको बीचमा पुनः खटपट सुरु भएको थियो । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ