arrow

५ दिनमा १ घण्टा खानेपानी पाउने उपभोक्तालाई २४ सै घण्टा धारामा पानी आउने आशा

कालिगण्डकी खानेपानीको काम ४० प्रतिशत सकियो

logo
रामचन्द्र रायमाझी
प्रकाशित २०७५ जेठ १६ बुधबार
khanepani-palpa.jpg

 पाल्पा । तानसेन नगरपालिकाका जनताले अबको एक बर्षमा २४ सै घण्टा खानेपानीको सुविधा पाउने भएका छन् । तानसेन कालिगण्डकी लिफ्ट खानेपानी योजनाबाट तानसेनका उपभोक्ताले २४ सै घण्टा खानेपानीको सुविधा पाउने भएका हुन् । 

उपभोक्ता समिति, निर्माण कम्पनी र खानेपानी तथा सरसफाई डिभजन कार्यालयले एक बर्षभित्र तानसेन कालिगण्डकी खानेपानी योजना निर्माणका सम्पूर्ण काम पूर्ण रुपमा सकी पानी वितरण गर्ने प्रतिवद्धता गरेका छन् । 

हाल तानसेनमा पाँच दिनमा १ घण्टा उपभोक्ताको लागि खानेपानी वितरण हुँदै आएको छ । प्रति सेकेण्ड ४० लिटर पानी तान्ने क्षमता सहितको कालिगण्डकी लिफ्ट खानेपानीको हाल सम्म ४० प्रतिशत काम सकिएको छ ।

कालिगण्डकी लिफ्टबाट दैनिक १८ घण्टा पम्प सञ्चालन गर्दा २४ लाख लिटर पानी तानसेनको बतासेडाडामा आउने छ । हाल तानसेनमा भुल्के, सिस्ने, तिनधारा र होलाङ्दीबाट लिफ्ट गरी खानेपानी वितरण हुँदै आएको छ । 

जसमा कालिगण्डकीको लिफ्ट खानेपानी योजना थपिएपछि  तानसेनमा दैनक ४० लाख लिटर हाराहारीमा पानी आपूर्ति हुनेछ जसका कारण तानसेनका उपभोक्ताले धारा खोलेको समयमा पानी आउने गरी वितरण गरिने तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष चकोरमान शाक्यले बताए । 

तानसेन कालिगण्डकी खानेपानी योजनाको अहिले सम्म पानी तान्नको लागि विद्युत जडानको काम सकिएको छ भने पानी संकलनको लागि कालिगण्डकीमा ईनार निर्माणको काम भईरहेको छ । पानी पम्पको लागि विभिन्न ५ वटा स्थानबाट  एक ÷एक लाख लिटर ट्याकी निर्माण गर्नुपर्नेमा ३ वटा ट्याकी निर्माण गरिएको छ । 

२ वटा निर्माणको चरणमा रहेको र  ८ ईन्चको पाईप जडानको काम भईरहेको निर्माण कम्पनीका साईट ईन्जिनियर दिपक न्यौपानेले बताए । ४० करोड रुपैयाँमा निर्माण भईरहेको तानसेन रानीघाट लिफ्ट खानेपानी योजना २०७५ मंसिर ७ गते भित्र सक्नुपर्ने सम्झौता रहेको छ । खानेपानी योजनाको काम युद्धस्तरमा भईरहेको छ । २०७५ फागुन चैत्र भित्र तानसेनका जनतालाई कालिगण्डकीको पानी खुवाउने खानेपानी तथा सरसफाई डिभिजन पाल्पाका प्रमुख केशवलाल शाक्यले बताए । 

कालिगण्डकीको पानीले आगामी १५ बर्षको लागि अन्य श्रोतहरु खोज्न नपर्ने डिभिजन प्रमुख शाक्यले बताए । तानसेन खानेपानी उपभोक्ता समितिले हाल निर्माण भईरहेको कालिगण्डकी लिफ्ट खानेपानी योजनाको निर्माणस्थलमा अवलोकन गराएको छ । निर्वाचित जनप्रतिनिधीहरु, खानेपानी उपभोक्ता समितिका पदधिकारीहरु, राजनितिक दल, पत्रकार, तथा सरकारी कार्यालयका प्रमुख, होटल व्यवसायी र उपभोक्ताहरुले  उक्त क्षेत्रको अवलोकन गरेका हुन् । 

अबको एक बर्षमा कालिगण्डकी पानी खान पाउने भएपछि तानसेनबासीमा खुसियाली छाएको छ । आगामी दिनमा नयाँधारा जडान गर्न निवेदन दिएको एकहप्तामै उपभोक्ताको घरमा धारा जडान हुने तानसेन खानेपानी उपभोक्ता समितिले जनाएको छ । हाल तानसेनमा २० लाख लिटर पानीको आवश्यकता भएकोमा दैनिक ७ लाख लिटर आपूर्ति हुँदै आएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ