- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सिंगापुर । सिंगापुरका विदेश मन्त्रीसहितको उच्च सरकारी कुटनीतिज्ञहरूको टोली उत्तर कोरिया जाने भएको छ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रमबीचको वार्ताको तयारीका लागि सिंगापुरको टोली उत्तर कोरिया जान लागेको हो ।
यही जुन १२ तारिखका दिन ट्रम्प र किमको शिखर वार्ता सिंगापुरमा हुने यसअघि नै तय भइसकेको छ ।
सिंगापुरको उच्चस्तरीय कूटनीतिज्ञहरूको टोली दुईदिने भ्रमणका लागि बिहिबार उत्तर कोरियाको राजधानी प्योङयाङ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
शिखर वार्ताका लागि वार्तास्थल सिंगापुर, वार्ताका दुई पक्ष अमेरिका र उत्तर कोरियाले आ–आफ्नो तरिकाले तयारी तीव्र पारेका छन् ।
गत अप्रिल २७ मा दुई कोरियाबीच ऐतिहासिक शिखर वार्तापछि उत्तर कोरिया र अमेरिकाको शिखर वार्ताको तय भएको हो ।
वार्ताको तय भइसकेपछि पनि केही समय दुई देशका नेताहरूको अविश्वास र आरोप प्रत्यारोपले वार्ता अन्यौलमा परेको थियो । तर नाटकीय ढंगले वार्ताको वातावरण बनेर अहिले वार्ताको तयारी भइरहेको हो ।
उत्तर कोरियाका उच्च अधिकारीहरूको गत हप्ता भएको भ्रमणको बेलामा ट्रम्पले वार्ता हुने अन्तिम निर्णय सुनाएका थिए ।
वार्ताको सुनिश्चितताका लागि उत्तर कोरियाको टोली अमेरिकाको वासिङटन गएको थियो । वार्ता सुनिश्चित भएपछि अहिले दुई पक्षीय भ्रमण, उच्चस्तरीय छलफलहरू तीव्ररूपमा भइरहेका छन् ।
विश्वकै ध्यान खिचेको वार्ता अत्यधिक महंगो र सुविधा सम्पन्न होटलमा गराउने सिंगापुरको तयारी छ ।
वार्तालाई नेपाली गोर्खा सेनाले सुरक्षा दिनेछ ।