arrow

ललितपुरका मेयर चिरिबाबुले संस्कृति मन्त्रीलाई उछिने 

logo
प्रकाशित २०७५ जेठ २४ बिहिबार
lalitpur.PNG

ललितपुर । विश्व सम्पदा सूचीमा सुचिकृत ललितपुरको हिरण्यवर्ण महाविहारको वार्षिक साधारणसभामा रैथाने मेयर चिरिबाबु महर्जनले संस्कृति मन्त्री रविन्द्र अधिकारीलाई जिल्लाराम पारेका छन् । सुनैसुनको मन्दिर (गोल्डेन टेम्पल) का रुपमा चिनिने हिरण्यवर्ण महाविहारको साधारणसभामा निम्ता गरिएका थिए ललितपुरका मेयर महर्जन र मन्त्री अधिकारी । दुबै जनालाई बुधबार दिउँसो ३ बजेका लागि निम्ता दिइएको थियो । उनीहरुसँगै महाविकारकै १० जना विशिष्ट व्यक्तित्व (जसलाई देव समान मानिन्छ) लाई पनि त्यही समय दिइएको थियो ।

तीमध्ये कतिपय ८० वर्ष नाघिसकेका थिए । मन्त्री र मेयर भने साँझ पाँच बजेमात्रै पुगे । बयोबृद्ध दशपारमिताहरु समयमै आउने तर मन्त्री र मेयर २ घण्टा ढिलो आएपछि सहभागीहरु चिढिएका समेत थिए । उनीहरुकै कारण महाविहारको साधारणसभा उद्घाटन २ घण्टा सरेको थियो । साधारणसभाको उद्घाटन मुख्य अतिथि मन्त्री रविन्द्र अधिकारीले नै गरे । कार्यक्रम नेवारी भाषामै चल्न थालेपछि मन्त्री हाइ काढेर बस्न थाले । भाषा नबुझेर अन्यौलमा परेका मन्त्री अधिकारी हतार छ भन्द एक घण्टा समेत नबसी फुत्किन खोजे । आयोजकले मन्त्रीलाई अन्तिममा बोल्ने नै तालिका मिलाएका पनि थिए । 

ठीक त्यही बेला मेयर चिरिबाबुले मलाई पनि हतार छ भन्दै मन्त्री भन्दा अगाडी आफुलाई बोल्न दिनुपर्ने अडान राख्न थाले । छिटो फर्कने दुबै जनाको हानाथापकावीच आयोजकले मेयरलाई प्राथमिकता दिए । मेयर महर्जनले आफुलाई घरमा विदेशीले एकघण्टादेखि कुरेकोले मन्त्रीको हतारो मिचें भने । साथै उनले, सम्पदा पुननिर्माणको कामका लागि सार्वजनिक खरिद ऐन नमान्ने र बोलकबोलका नाममा रैथाने बाहेक बाहिरकालाई पुननिर्माणको ठेक्का दिन नसक्ने भन्दै मन्त्रीलाई चुनौती नै दिए ।

उनले ललितपुरमा मनाइने मतया पर्व (दीप यात्रा) का लागि यसपालीदेखि महानगरले पाँच लाख दिने घोषणा पनि गरे । गत भदौमा नागबहालले मनाएको मतया पर्वका लागि थप तीन लाख दिने वाचा पनि गरे । खुब ताली पाए । यसअघि मतया पर्वका लागि महानरले दुई लाख रुपैयाँ मात्रै दिने गरेको थियो । 
अन्तमा मन्त्री अधिकारीले गोल्डेन टेम्पललाई चाहिने सहयोग गर्न आफु तयार रहेको औपचारिकता पुरा गरेर कुराको बीट मारे । शुरुमा हतारो छ भनेर फुत्किन खोजेका मन्त्री अधिकारी नेवारी भोजन भने गरेरै मात्र फर्किए । मन्त्रीको टोलीमा ८ जना थिए । मन्त्री  लगायतका उनको टोलीका ८ जना भने नेवारी भोजन गरेर फर्किए । 

हिरण्यवर्ण महाविहारमा तामसी भोजन चल्दैन, शुद्ध सात्विक शाकाहारी भोजन मासुबिनाको समय्बजी मात्रै । समयबजीमा चिउरा, च्याउको छोइला, कालो भटमास, लसुन, अदुवा साँधेको, उसिनेको बोडी, सेतो सिमीको झोल, आलु मोलेको अनि साँधेको तोरीको साग, पञ्चक्वा (आलुतामा), मूला अचार र दही थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ