पाकिस्तानको निर्वाचन तालिकामा हेरफेर, मतदान हुने दिन परिवर्तन नहुने
प्रकाशित २०७५ जेठ २५ शुक्रबार
588
Shares
इस्लामावाद। पाकिस्तानको निर्वाचन आयोगले पूर्वघोषित निर्वाचन तालिका हेरफेर गरेको छ। आम निर्वाचनको कार्यतालिका परिवर्तन गरेपनि मतदान हुने दिन भने परिवर्तन नगरिएको आयोगका अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्।
नयाँ तालिका अनुसार यही जुन ११ तारिख सम्म नेताहरूले उम्मेदवारी दर्ता गर्न पाउने भएका छन्। त्यसैगरी जुन १४ देखि १९ सम्म उम्मेदवारीपत्र माथी छानविन हुने तालिका छ भने २२ तारिख सम्म उम्मेदवार विरुद्ध दावी विरोध गर्न पाइने तालिका बनाइएको छ। जुन २९ मा उम्मेदवारी फिर्ता लिने र ३० तारिखमा निर्वाचन चिन्ह दिने निर्वाचन आयोगले जनाएको छ। मतदान भने जुलाई २५ का दिन हुनेगरी तय गरिएको छ।
यसैबीच पाकिस्तानका पूर्व प्रधानमन्त्री नजाज सरिफले पूर्व सैनिक शासक जनरल परवेज मुसरफलाई ससर्त निर्वाचन लड्न दिने सङ्केत आएको भन्दै यसको विरोध गरेका छन्। राजद्रोह जस्तो गम्भीर प्रकृतिको मुद्धा लागेका मुसरफलाई ससर्त उम्मेदवार बन्न पाउने व्यवस्था गरिएमा यो पाकिस्तानको संविधान विपरीत हुने उनले बताए।
पाकिस्तानको सर्वोच्च अदालतले पेशावार उच्च अदालतको फैसलाको पुनरावलोकन गर्न मुसरफलाई यही जुन १३ मा अदालतमा उपस्थित हुन आदेश दिएको थियो। रासस-एएनआई