arrow

हात उठाएर पार्टीमा एकता भयो भन्नु नक्कली सुन जस्तो

समाजवादीको स्वर्ग भविष्यमा हुन्छ, प्रतिक्रियावादीहरु अतितमै भोग्छन

logo
रामचन्द्र पौडेल,
प्रकाशित २०७५ जेठ २८ सोमबार
ramchandra-paudel-aaja.jpeg

नेपाली काँग्रेसमा साथीहरु आन्तरिक एकताको कुरा गर्छन। पार्टीमा एकता एकता मात्रै भनेर हुँदैन । पार्टी एक हुनका लागि न्याय, निष्पक्षता र पारदर्शी मुल्याङकन हुन जरुरी छ । पार्टीमा न्याय, निष्पक्षता र पारदर्शीता बिना नेताहरुले हात उठाएर मात्र एकता हुन सक्दैन् । नेताहरुले हात उठाएर मात्र एक भएको सन्देश भनेको नक्कली सुन जस्तो मात्रै हो । यो नाटक मात्र हुन्छ । पार्टी एकताको सन्देश दिन उठेका नेताहरुका हात सही र सत्य हुनुपर्छ । नाटक मात्र हुनु हुँदैन् ।

समाजवादीहरुको स्वर्ग भविष्यमा पुग्छन् तर प्रतिक्रियावादीहरुले स्वर्ग अतितमा नै देखेका हुन्छन् । त्यसैले हामीले भविष्यमा स्वर्ग पुग्ने काम गर्नुपर्छ । अतितमा देखेर हुँदैन् । पार्टी सभापतिजीले पार्टीलाई पुरानो अवस्थामा पुर्‍याउछु भन्नुभएको छ । मेरो लक्ष्य पार्टीलाई पुरानो अवस्थामा वा अतितमा पुर्‍याउने होइन । अब पार्टीलाई नयाँ ठाँउमा लैजाने अर्थात भविष्य बनाउने लक्ष्य राख्नुपर्छ। विगतमा पार्टीमा धेरै गल्ती भएका छन् । ती गल्ती पटक पटक दोहोर्‍याउने ठाँउमा पार्टीलाई पुर्‍याउने होइन अब कहिल्यै गल्ती नगर्ने ठाँउमा कांग्रेसलाई पुर्‍याउनुपर्छ । 

एउटा राजनीतिक पार्टीमा दुईवटा तत्व हुन्छन् । एउटा संगठन अर्को सिद्धान्त । हाम्रो संगठन हारेको छ । तर सिद्धान्तको जीत भएको छ । हाम्रो सिद्धान्तको जीत भएको तथ्य हाम्रै नेतृत्वमा बनेको संविधान हो । हाम्रो सिद्धान्तलाई कुकुरको मासु राखेर खशीको मासु बेच्ने भन्नेहरु र बिदेशीको सिद्धान्त भन्नेहरुले नै अहिलेको संविधानमा हस्ताक्षर गरेका छन् । हाम्रो सिद्धान्त बहुलवादमा आधारित संसदीय व्यवस्था बर्तमान संविधानले अंगिकार गरेको छ । यो संसदलाई कम्युनिष्टहरु कुकुरको मासु राखेर खशीको मासु बेच्ने ठाँउ भन्थे । पंचायतका मान्छेहरु यो विदेशीको व्यवस्था भन्थे तर आज यी दुबै थरिले संविधानमा हस्ताक्षर गरेर यो व्यवस्था स्वीकार गरेका छन् ।

अर्को भनेको हामीले २०१२ सालदेखि प्रजातान्त्रीक समाजवाद भन्ने सिद्धान्त अंगिकार गर्‍यौं । यो प्रजातान्त्रीक समाजवाद पनि अहिले संविधानमा समेटिएको छ । लोकतान्त्रीक बहुलवादमा आधारित समाजवाद भन्ने संविधानको प्रस्तावनामा छ । कम्युनिष्टहरु समाजवाद मात्रै लेख्न चाहन्थे तर हामीले लोकतान्त्रीक बहुलवादमा आधारित समाजवाद भन्ने स्पष्ट किटान गरेका हौं । त्यसैले सिद्धान्तको जीत भएको छ । तर संगठन आज किन हार्‍यो ? संगठन भनेको कांग्रेसका नेता कार्यकर्ताहरुको कांग्रेसको सिद्धान्त अनुरुपको चरित्र भयो कि भएन भन्ने हो ? हाम्रो आचारण र व्यवहार कांग्रेस सिद्धान्त अनुरुपको भयो कि भएन । संगठन पराजित हुनुको कारण यो ठाँउमा खोजिनुपर्छ  भन्ने मेरो भनाई हो । अब हामीले संगठन पराजयको कारण यो ठाँउमा खोजेर सिद्धान्त अनुरुपको आचरण र व्यवहार नेता कार्यकर्ताहरुको बनाउन जरुरी छ । अब हामीले गफ गर्ने कांग्रेस होइन काम गर्ने कर्मशील कांग्रेस बनाउन जरुरी छ । हामी सफल हुनका लागि अब आफैबाट सुधार गर्न जरुरी छ । हामीले हरेक जनताकोमा पुगेर अब जनताको स्वार्थसंग जोडिन पर्ने भएको छ । कांग्रेसको स्वार्थ एकातिर जनताको स्वार्थ अर्कैतिर भएकाले पनि संगठन पराजित भएको हो । जनताको स्वार्थसंग जोडिनका लागि अब हामीले आगामी निर्वाचनमा मतादाता हुने उमेर समुहलाई लक्षित गरेको काम गर्नुपर्छ । हामी समाजवादी भएपछि हामीले अब मजदुरसंग किसानसंग अनि सवै नेपालीसंग जोडिने गरि कर्मशील कांग्रेस भएर काम गर्न पर्‍यो । 

म धेरै इतिहाँसतर्फ जान चाहन्न तर कांग्रेस अहिलेको अवस्थामा पुगेको एउटा कारण पार्टीको १३ औं महाधिवेशन पनि हो । १३ औं महाधिवेशन अगाडि हामीले भविष्यको कांग्रेसको बारेमा सोच्न सकेको भए अहिले यहाँ पुग्ने थिएन् । शेरबहादुरजीलाई १३ औं महाधिवेशनमा मात्र होइन विगतमा पनि बनाउनेहरुले पछुताएका छन् । गिरिजाबाबु नै पहिले शेरबहादुरलाई शेरबहादुर बनाउनुभयो पछि २०५८ सालमा पछुताउनुभएको थियो । १३ औं महाधिवेशनमा पार्टीको यो दिन आउछ भन्ने सोच्न नसक्दा यो अवस्था आएको हो । अब कांग्रेस बनाउने हो भने हामी दह्रो खुट्टा होइन दह्रो कदम अगाडि बढाउनु जरुरी छ । 

अहिले फेरि व्यवस्थामाथि धावा बोल्न सुरु भएको छ । अझै संघीय लोकतान्त्रीक गणतन्त्र के हुने भन्ने विश्वास छैन् । संविधान बन्यो । लोकतान्त्रीक बहुदवादमा आधार संसदीय व्यवस्थाको टुंगो संविधान बनेसंगै लाग्यो तर फेरि अहिले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको बहस एकातिर सुरु गरिएको छ भने सरकार चलाउने स्पष्ट बहुमत हुँदा हुँदै पनि सिद्धान्त विचार र अडान छोडेर जबरजस्ती दुईतिहाई बहुमत जुटाइएको छ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको बहस र जबरजस्ती दुईतिहाई बनाउने भनेको कतै बाख्रो हराउने र बाघ कराउने संयोग जस्तो छ होइन भन्ने प्रश्न उब्जिएको छ । अहिले त यो व्यवस्थाको संस्थागत विकास गर्ने बेला हो । यो संविधानलाई दिगो बनाउने बेला हो । तर फेरि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको बहस ल्याएर अस्थीरता निम्त्याउने अनि नेपाललाई प्रयोगको थलो बनाउने प्रयास हो । सामाजिक फाँसिवादतर्फ मुलुकलाई लैजाने प्रयत्न हो कि भन्ने शंका छ । त्यसैले अनिष्ट निम्तिन्छ कि भन्ने देखिएको छ । 

सवै निर्वाचित हुँदैमा प्रजातन्त्रवादी हुँदैनन् । निर्वाचनबाट तानाशाह जन्मेका विश्वमा धेरै इतिहाँस छन् । अहिले कांग्रेस प्रतिपक्ष जस्तो देखिएको छैन् । मुलुकका प्रधानमन्त्री केपी ओलीको महत्वकांक्षा अति बढेको छ । कांग्रेसलाई प्रतिपक्षको व्यवहार गरेका छैनन् । कांग्रेस सहयोगी दल हो भनेर संसदमा भन्छन् अनि फेरि कांग्रेसपनि नीति तथा कार्यक्रम पास गर्ने बेलामा सहयोगी दल जस्तै बन्छ । कांग्रेसलाई सवैतिरबाट घेराबन्दी गरिएको छ । कांग्रेस भित्रैबाट पनि कांग्रेसलाई घेराबन्दी गरिएको छ । कांग्रेस बाहिर पनि घेराबन्दी गरिएको छ । सातै वटा प्रदेश र केन्द्रमा पनि खुट्टा राख्ने ठाँउ छैन । सवै दललाई सरकारमा लगेर कांग्रेसमाथि घेराबन्दी सुरु भएको छ । अनि हामीसंग सातै प्रदेश र संघमा पनि एक चौथाईको संख्यामा पनि छैनौ । अबको कांग्रेसको बाटो भनेको जनतासंग जोडिने हो । कर्मशील कांग्रेस बन्ने हो । अब कांग्रेसलाई पुरानो ठाँउमा होइन नयाँ ठाँउमा पुर्‍याउने हो । 
(नेपाल बिद्यार्थी संघ काठमाडौं जिल्ला कार्यसमितिद्धारा राखिएको अबको कांग्रेस र नेपाल बिद्याथीसंघको भुमिका विषयक कार्यक्रममा गरिएको सम्बोधन)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ