arrow

पौडेल, सिटौला, सिंह र केसीले एउटै मञ्चबाट दिएको सन्देश ! 

गगनको प्रस्तावमा नेताहरुले मिलाए हात 

logo
प्रकाशित २०७५ जेठ २९ मंगलबार
poudel-sitalula-singh-kc.jpg

काठमाडौं । नेपाली काँग्रेसको महाधिवेशन सकिएको साढे दुई वर्ष हुन लागेको छ । महाधिवेशन सकिए लगत्तै भ्रातृ संगठनका कार्यक्रममा समेत अलग अलग देखिएका नेताहरु सोमबार भने राजधानीमा एकै ठाउँमा देखिए । 

नेपाल विद्यार्थी संघ काठमाडौं जिल्लाले फरक धारमा हिँडेका नेताहरुलाई एकै ठाउँमा भेला गरायो । 

भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीद्धय कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहसंगै पूर्व सहमहामन्त्री अर्जुन नरसिंह केसीसंगै महामन्त्रीका उम्मेदवार गगन थापा लगायतका नेता सहभागी भएका थिए । 

सभापति शेरबहादुर देउवासंग भित्रभित्र रणनीतिक एकता गरेेेर परिणाममा समेत स्पष्ट खाका कोरेका महामन्त्री डा शशांक कोइराला त्यहाँ थिएनन् । 

केसी देउवासंग असन्तुष्ट हुँदै नयाँ कार्यगत एकतातिर लाग्ने  सूत्रधारका रूपमा क्रियाशिल छन। केसी पनि भेलामा उपस्थित थिए ।  

सोमबारको कार्यक्रम काठमाडौं नेविसंघको भए पनि अलग अलग हिँड्दै आएका नेताहरुलाई एउटा ठाउँमा उभ्याउँदा यसले पार्टी भित्रको आन्तरिक राजनीतिको भर्ने टर्निङ प्वाइन्ट हुने देखिएको छ । 

कार्यक्रममा गगन थापाले उपस्थित सबैलाई विगतमा कुन स्थानमा थियौं भन्ने बिर्सेर नयाँ ढंगले पार्टीलाई एकतावद्ध र सुदृढ बनाउने सन्दर्भमा फराकिलो ढंगले सोच्न आग्रह गरे ।हलमा रहेका सबै युवाले थापाको भनाईको अनुमोदन गर्दै ताली पड्काए । 

नेपाली काँग्रेसको महाधिवेशनपछि शोकका कार्यक्रममा मात्र एकै ठाउँमा आइपुग्ने गरेका यी नेताहरु थापाको यो आग्रह पछि भने एकताको प्रदर्शन गर्न दवाव परेको थियो ।

अलग अलग बाटोतर्फ फर्किएकाहरूलाई एउटै मञ्चमा  ल्याउनु  नै महत्वपूर्ण कदम मानिएको थियो । थापाको त्यो प्रस्तावपछि बनेेको माहौलमा नेताहरुले सामुहिक एकता प्रदर्शन गर्ने क्रममा एकताको हात समाएर ऐक्यवद्धता जनाए । 

यो एकताको प्रदर्शनको हलमा रहेका युवाहरुले खुलेर स्वागत गरे । 

बरिष्ठ नेता रामचन्द्र पौडेलले विश्वासको वातावरण सबैले बनाउनु पर्ने बताए । उनले ‘अगुल्टो हानेको कुकुर बिजुली चम्कँदा तर्सिन्छ’ भनेझैं शंकाको वातावरण भोलिका दिन नहोस् भन्नेतर्फ सतर्क गराए । 

एकता प्रदर्शनले हलमा पनि खुशी छाएको थियो । यो त्यही हल थियो जहाँ कृष्ण सिटौला र गगन थापाले साढे दुई वर्षअघिको महाधिवेशनमा सभापति र महामन्त्रीमा आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । 

कार्यक्रममा सिटौला, सिंह र केसीले भोलिका दिनमा चुनौतीको सामना गर्दै कम्युनिष्टहरुसंग जुध्न सक्ने शक्ति तयार गर्न पनि एकता अपरिहार्य भएको बताए । 

पदाधिकारी मनोनयनमा समेत असन्तुष्ट देखिएको पौडेल समूहसंग महामन्त्री डा शशांक कोइराला उक्त कार्यक्रममा नदेखिनुलाई अलि आशंकाको दृष्टिले हेरिएको थियो। 

त्यसो त कार्यक्रममा कोइराला परिवारका सुजाता र डा शेखर कोइराला पनि थिएनन् । 

कार्यक्रममा सहभागी एक नेताका अनुसार शेखर कोइरालाको कार्यक्रम जुधेका कारण उनी आउन नपाए पनि कार्यक्रमलाई ऐक्यवद्धता रहेको बताएका थिए । 

शशांक यसखाले कार्यक्रममा कमै सहभागी हुने गरेका छन्। उनी पार्टी सभापतिसंग दूरी बढाउनु भन्दा मिलेर जानुपर्नेमा जोड दिँदै आएका छन् । तर भित्री रुपमा उनी देउवासंग कुनै त्यस्तो सहमति गरेर अगाडि बढ्दैछन् जसले पौडेल समूहलाई अप्ठेरो पारिरहेको छ । शशांक पौडेल समूहबाटै चुनाव लडेर महामन्त्री भएका हुन् । 

छुट्ने नेताहरु छुटे पनि पौडेल र सिटौला समूहसंगै देउवा समूहबाट टाढिएका केसीसमेत एउटै मञ्चमा हात उठाएर प्रदर्शित हुँदा नेपाली काँग्रेसको आन्तरिक राजनीतिलाई थप प्रभावित पार्ने संकेत देखिएको छ । 

असारको जिल्ला पार्टी सभापतिहरुको भेला, भदौमा हुने महासमिति सदस्यहरुको भेलासम्म पुग्दै गर्दा यो समूहले आफ्नो उपस्थिति अझ मजबुद पार्न सक्ने देखिएको छ । 

यसको प्रतिवादमा देउवा समूह पनि आन्तरिक रणनीति बनाउन व्यस्त भएको छ । तर त्यो भन्दा पनि मजबूत टिम बनाएर समग्रमा काँग्रेसलाई महासमिति बैठकपछि स्थानीय तह हुँदै केन्द्रीय महाधिवेशनसम्म लैजान विशेष पहल गर्ने यो समूहको तयारी छ ।

अर्ली महाधिवेशनका लागि देउवा तयार नभए पनि संघीयताको खाकाअनुसार स्थानीय तह हुँदै प्रदेशको अधिवेशनमार्फत नेतृत्व स्थापित गर्दै केन्द्रीय महाधिवेशनका लागि माहोल बनाउन यो समूहले रणनीति अख्तियारी गर्ने बुझिएको छ । 

यो समूहको एकताको सन्देशसमेत यही दिशातर्फ उन्मुख हुने देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ