arrow

मलमास  सकिदै  ः नित्यकर्म र नैमित्यसँगै काम्यक सबै कर्म गर्न मिल्ने  

logo
प्रकाशित २०७५ जेठ २९ मंगलबार
malamas.JPG

काठमाडौं । धर्मशास्त्रीय मान्यताअनुसार अशुद्ध महिना मानिने मलमास म‌ंगलबारदेखि सकिदैैछ । मलमास अर्थात अधिकमास जेठ ३० गते बुधबार राति २ बजेसम्म रहन्छ । गएको जेठ १ गतेदेखि सुरु मलमास आज सकिन लागेको हो । 

गएको जेठ १ गते बेलुका ५ बजेर ५३ मिनेटसम्म औशी तिथी रहेको र त्यसपछि  अधिक जेष्ठ शुक्लपक्ष सुरु भएको  नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । 

अन्य महिनामा २ पक्ष मात्र भएपनि मलमास अवधिभर ४ पक्ष रहन्छ । यो अवधिमा अधिक जेष्ठ शुक्ल पक्ष, शुद्ध जेष्ठ शुक्ल पक्ष, शुद्ध जेष्ठ कृष्ण पक्ष र अधिक जेष्ठ कृष्ण पक्ष गरी ४ पक्ष हुन्छ । 

नित्यकर्म र नैमित्य कर्मसँगै अब मलमास सकिएकाले काम्यक कर्म पनि गर्न मिल्ने प्रा. डा. गौतमले स्पष्ट पारे । 

मलमासमा कामना गरेर गर्ने विबाह, ब्रतबन्ध, रुद्री, सप्ताह गर्ने , गृह प्रवेश गर्ने लगायतका काम्यक कर्म गर्न नहुने पण्डित माधव प्रसाद शर्माले बताए । 

यो समयमा कहिल्यै नगएका मन्दिरमा जान नहुने र तिर्थाटन गर्न नहुने पनि उनले बताए । यसो गरेमा अशुभ फल प्राप्त हुनेछ ।  

काम्यक कर्म अर्न्तगत पोखरी खन्ने, इनार खन्ने जस्ता कार्य पनि गर्न हुदैन । दैनिक रूपमा गरिने स्नान, ध्यान, सन्ध्या, तुलसी पुजा, हवन, दुर्गा पुजा लगायतका नित्य कर्म गर्न मलमासको समयमा मिल्छ । यसैगरी, अकस्मात आइपर्ने मृत्युका काज किरिया कर्म, न्वारन  जस्ता नैमित्य कर्म गर्न पनि कुनै छेकथुन नहुने अध्यक्ष गौतमले बताएका छन् । 

गौतमका अनुसार सौर्यमान र चन्द्रमानबीच हुने अन्तरका कारण प्रत्येक ३२ महिना १६ दिन ४ घडी पछि मलमास पर्छ । सौर्यमानअन्तर्गत ३६५ दिनको एक वर्ष र चन्द्रमान अन्तर्गत ३५४ दिनको एक वर्ष हुने भएकाले प्रत्येक १२ महिनामा ११ दिनको अन्तर पर्नेे उनले बताए । 

यसरी ३२ महिना १६ दिन ४ घडीपछि थपिने एक महिना अधिकमास अर्थात् मलमासका रुपमा रहन्छ । किंवदन्तीअनुसार अन्य समयमा १२ महिनाको अधिपति अरुण, सूर्य, भानु नाममा सूर्य रहने तर अधिकमासको अधिपत्य सूर्यले स्वीकार नगरेका र यस्को अधिपत्य स्वयम् भगवान् पुरुषोत्तमले स्वीकार गरेकाले यो महिनालाई पुरुषोत्तम महिना पनि भनिन्छ । 

मलमासमा भगवान् नारायणको पूजा, पुरुषोत्तम महात्म्य सुन्ने र दान गर्ने परम्परा छ । भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भन्ने धर्मग्रन्थहरूमा उल्लेख छ । 
कीर्तिपुरको मच्छेगाउ र चांगुनारायणको मच्छेनारायणमा मलमासमा जेठ २ गतेदेखिसुरु  एक महिने मेला पनि सकिदैछ । 

हरेक ३२ महिनामा  आउने अधिकमासमा  मच्छेगाउमा रहेको मच्छेनारायणमा मेला लाग्ने गरेको छ ।  १० लाख भन्दा बढीले मेलाको अबलोकन गरेको मेला समितिले जनाएको छ । 
माछाको मुखबाट निस्केका नारायणको दर्शनका लागि थुप्रै भक्तजनको भिड लागेको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ