arrow

प्रधानन्यायाधीशमा जोशी सिफारिस, अख्तियार प्रमुखको टुंगो लागेन 

logo
प्रकाशित २०७५ जेठ २९ मंगलबार
deepakraj-joshi.jpg

काठमाडौं । प्रधानन्यायाधीशका लागि दीपकराज जोशीको नाम सिफारिस भएको छ ।मंगलबार बसेको संवैधानिक परिषद्ले सर्वोच्च अदालतको नेतृत्व जोशीलाई दिने भनि सिफारिस गरेको हो । तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली उमेर हदका कारण पदमुक्त भएपछि लामो समय सर्बोच्च नेतृत्वविहिन थियो । सर्वोच्चमा चैत १ गतेदेखि प्रधानन्यायाधीश पद रिक्त भएको हो ।

प्रधानन्यायाधीश नहुँदा कायम मुकायमको जिम्मेवारी जोशीले नै लिएका थिए ।प्रधानन्यायाधीशका लागि सर्वोच्चमा तीन वर्ष स्थायी न्यायाधीश भई काम गरेका जोशीका साथै ओमप्रकाश मिश्र र चोलेन्द्र शम्शेर राणाको नाम न्याय परिषद्ले संवैधानिक परिषदलाई दिएको थियो । प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदले वरीयताक्रममा पहिलो नम्बरमा रहेका जोशीलाई नै सिफारिस गरेको हो । 

बरिष्ठतम न्यायाधीशबाट प्रधानन्यायाधीश सिफारिस गर्ने परम्परा रहेको छ । जोशी बरिष्ठतम न्यायाधीश भएकै कारण कायम मुकायमको जिम्मेवारीमा थिए । संवैधानिक परिषद्ले सिफारिस गरेपछि अब जोशीका नाममा संसदीय सुनुवाई हुनेछ । संसदीय सुनुवाई विशेष समितिले उनको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । 

यस्तै, संवैधानिक परिषद्को यही बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि प्रमुख आयुक्त सिफारिस गर्ने भनिए पनि यसबारे कुरा हुन सकेन । अब केही दिनमै त्यसबारे निर्णय हुने कानुनमन्त्री शेरबहादुर तामाङले बताए । अख्तियारमा दीप बस्न्यात सेवानिवृत्त भएपछि कायम मुकायम प्रमुख आयुक्त नविन घिमिरेको भरमा चल्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ