arrow

लगनखेलको बटुक भैरब क्षेत्रमा डोजर आतंक 

स्थानीयलाई धम्की, सेनाको पर्खाल प्राधिकरणले छुन सकेन 

logo
प्रकाशित २०७५ जेठ ३० बुधबार
dojar.JPG

ललितपुर । ३ पुस्तादेखि बस्दै आएको घर डोजरले धूलोपीठो पार्न थालेपछि, ललितपुरको लगनखेल बटुकभैरब क्षेत्रका २० घरधुरीको रुवावासी चलेको छ । बाटो विस्तारको धमास दिँदै काठमाडौं उपत्यका विकास प्राधिरणले डोजर धस्न थालेपछि बटुक भैरवबासी रनाहामा परेका हुन् । गत बिहीबार एक्कासी डोजर चल्न थालेपछि यो टोलका २० परिवारको भागाभाग नै भयो । 

काठमाडौं उपत्यकामा सडक विस्तार भन्दै जथाभावी पुराना बस्तीमा डोजरका दाँत गाड्न थालिएपछि, सडक विस्तार बिरुद्धको संघर्ष समिति नै गठन भएको छ । बाजे बराजुले बनाएको बस्ती सखाप हुने देखेपछि, बटुक भैरबका बासिन्दाले त्यही संघर्ष समिति गुहारे । जब डोजरले ऐतिहासिक धार्मिक बटुक भैरब मन्दिरको पर्खाल समेत भत्काउन थाल्यो, स्थानीय जुर्मुराए र सडक नै बन्द गराए । स्थानीय जाइलाग्न थालेपछि प्राधिकरण हच्कियो र डोजर लिएर भाग्यो । तर प्राधिकरणले अर्को उर्दी जारी गरेको छ, स्थानीय राजु मानन्धर भन्छन्,  “अबको एकसाता भित्र आफैं घर नभत्काए फेरी आउँदा घर भत्काउने त छँदैछ, डोजर चलाएको रकम समेत तिर्नुपर्ने चेतावनी दिइएको छ’ ।  

प्राधिकरणले लगनखेल सातदोबाटो खण्डको सडक विस्तारका लागि भन्दै स्थानीयलाई घर भत्काउन ३५ दिने अल्टिमेटम दिएको थियो । प्राधिकरणको चेतावनीपछि, यो बस्तीका १५ घरले आफ्नै हिसाबले घर भत्काए पनि । 

हाल आन्दोलनमा उत्रिएका २० परिवारले पुस्तौंदेखि घर जग्गाको कर तिर्दै आएका छन् । सरकारी बाटो उनीहरुले मिचेका पनि छैनन् । प्राधिकरणले २२ मिटर चौडा बाटो बनाउने योजना ल्याएपछि, बटुकभैरबबासीको उठिबास हुने स्थिति आएको छ । स्थानीयको घर भत्काउन तम्सिएको प्राधिरणले, भैरब मन्दिर अगाडीको सेनाको पेट्रोल पम्पको पर्खाल छुने हिम्मत भने गर्न सकेको छैन । स्थानीय सडक संघर्ष समितिका सुजर महर्जनको प्रश्न छ, “मन्दिरको पर्खाल भत्काउन तम्सिने प्राधिकरण पेट्रोल पम्पको पर्खाल छुने आँट किन गर्दैन ?’’

यो क्षेत्रको बाटो भत्काउने क्रममा प्राधिकरणले सर्वोच्च अदालतको आदेश र शहरी विकास मन्त्रालयको निर्णय समेत अटेर गरेको पाइएको छ । सर्वोच्चले सडक विस्तारका नाममा जथाभावी घर नभत्काउन र भत्काउनै पर्ने अबस्था आएमा यथोचित मुआब्जा नदिइ नभत्काउन अन्तरिम आदेश दिइसकेको छ भने, मन्त्रालयले पनि मुआब्जा वितरण नगरिकन घरहरु नभत्काउन निर्देशन दिएको छ । माथिको आदेश हुँदा पनि प्राधिरणकले बलमिच्याइँ गर्नुभित्र ठूलै स्वार्थ र चलखेल हुन सक्ने स्थानीयको आशंका छ । प्राधिकरणका प्रमुख भाइकाजी तिवारी यतिबेला राणाशाही बनेको भन्दै स्थानीयले उनको पुत्ला जलाउने तयारी समेत गरेका छन् । 

लगनखेल सातदोबाटो सडक विस्तार पिडितले मेयर चिरिबाबु महर्जनलाई ज्ञापनपत्र समेत बुझाएका छन् । तर मेयुर महर्जनले भने ८ मिटर भन्दा बढी सडक विस्तार स्थानीय तहको अधिकार भन्दा बाहिर प्रदेश र केन्द्र सरकारको जिम्मा भएकोले आफुलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन् । तर उनले बटुक भैरब मन्दिरको पर्खाल भने कुनै हालत भत्काउन नदिने प्रतिबद्धता जनाएका छन् । 

काठमाडौं उपत्यका विकास प्राधिकरणले  सडक विस्तारका क्रममा भत्काउनु पर्ने पुराना घरलाई ८ लाख र ३ तले नयाँ घरको लागि २५ लाख रुपैयाँ मुआब्जा दिइने बताएको छ । तर स्थानीयले भने पुर्खौंदेखिको बस्दै आएको ठाउँ करोड दिए पनि नछाडने र मर्न परे तयार रहेको चेतावनी दिएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ