योगेशले ओलीलाई भने -'चीन भ्रमणमा जाँदा ताप्लेजुङको अलैची नविर्सनु'
प्रकाशित २०७५ जेठ ३० बुधबार
369
Shares
काठमाडौँ । प्रतिनिधिसभाको बुधवारको विशेष समयमा नेकपाका योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका समयमा नेपालको व्यापार घाटामा सन्तुलन कायम गर्न नेपाली अलैँची महत्वपूर्ण माध्यम हुने भएकाले त्यसको निकासीबारे छलफल गर्न सुझाव दिएका छन् ।
उनले भने, “नेपालको वैदेशिक घाटा धेरै छ, त्यसलाई कम गर्न मुलुकको ४७ जिल्लामा एक लाखभन्दा बढी कृषकको संलग्नतामा अहिले १० अर्ब रुपैयाँभन्दा बढी मूल्यको अलैँची उत्पादन भइरहेको छ, चीनमा पनि नेपाली अलैँचीको बजार बनाउन सकियो भने व्यापार घटालाई सन्तुलन गर्न योगदान पुग्नेछ ।”
ताप्लेजुङलाई अलैँचीको सुपर जोन घोषणा गर्न माग गर्दै भट्टराईले नेपाली अलैँचीको सबैभन्दा ठूलो बजार भारत भए पनि विगतको तुलनामा भारतमा अलैँची निकासी कम भई किसानले लागत मूल्यसम्म पाउन नसकेको तर्फ ध्यानाकर्षण गराए । उनले भने, 'बगंलादेशसँग कुराकानी गरेर अलैँचीको निकासीको व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्दछु । अहिले भुटान हुँदै बंगलादेश पुग्ने गरेको अलैँचीमा ठूलो भन्सार मूल्य लगाइएकाले सीधै बंगलादेशसँग कुराकानी गरेर त्यहाँ पठाउन सकिएमा नेपाली अलैँचीको ठूलो बजार बंगलादेश हुन सक्छ ।'