arrow

गाउँपालिका अध्यक्षमाथि अभद्र व्यवहार भएपछि स्थानीय तहका प्रमुखद्वारा शान्ति सुरक्षाको माग

logo
प्रकाशित २०७५ जेठ ३१ बिहिबार
nawalparasi_paschim.png

नवलपरासी । पश्चिम नवलपरासीमा रहेका सबै सातवटै स्थानीय तहका प्रमुखले सरकारसमक्ष शान्ति सुरक्षाको माग गरेका छन् । 

स्वयं आफूहरुको शान्ति सुरक्षासहित जिल्लाको समग्रतामा शान्ति सुरक्षाको स्थिति थप बलियो हुनुपर्ने माग राख्दै स्थानीय तहका प्रमुखले यस्तो माग गरेका हुन् । 

केही दिनअघि सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेमाथि अभद्र व्यवहार र अमानवीय क्रियाकलाप भएपछि सबै स्थानीय तहका प्रमुखले सरकारको ध्यानाकर्षण गराएका हुन् । 

पर्याप्त शान्ति सुरक्षाको अभावमा स्थानीय तहमा प्रभावकारी कार्य सम्पादन हुन नसक्ने भएकाले यस विषयमा सरकार गम्भीर हुनुपर्ने रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले बताए ।

विगत केही समययता जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख एवं अध्यक्षलाई आपराधिक मानसिकता बोकेका अराजक तत्वले टेलिफोनमार्फत धम्काउने, भय, डर र त्राश देखाउने तथा ज्यान मार्नेसम्मका धम्की आउने गरेकाले स्थानीय तहका प्रमुखले सरकारसमक्ष यस्तो माग गरेका पाल्हिनन्दन गाउँपालिकाका प्रमुख दीपक गुप्ताले बताए ।

समग्र जिल्लाको शान्ति सुरक्षाको स्थितिमा प्रश्नचिह्न खडा भएको भन्दै स्थानीय तहका प्रमुखले जिल्ला प्रशासनसहित सरकारलाई पर्याप्त मात्रामा शान्ति सुरक्षा कायम गर्न माग गरिएको सरावल गाउँपालिकाका प्रमुख राधेश्याम चौधरीले बताए ।

शान्ति सुरक्षा जस्तो संवेदनशील विषयमा गम्भीर भई आपराधिक तथा अराजक तत्वप्रति कडा कारबाही गर्न स्थानीय तहका प्रमुखले संयुक्तरुपमा प्रमुख जिल्ला अधिकारीसमक्ष अपिलसमेत गरेका छन् । 

पश्चिम नवलपरासीका सातवटै स्थानीय तहका प्रमुखले सरकारसँग प्रभावकारी शान्ति सुरक्षाको उचित व्यवस्थापन गर्नुपर्ने माग राखेका हुन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ