arrow

महँगीको मार : उपभोक्ता भन्छन्–‘बौलाउन’मात्रै बाँकी, उता खुद्रा व्यापारीकै रुवावासी !

logo
यमुना भण्डारी,
प्रकाशित २०७५ जेठ ३१ बिहिबार
mahangi_new.JPG

काठमाडौं । सरकारको बजेट भाषण कानमा नपर्दै बढेको बजारभाउले निम्न उपभोक्ताको ढाड सेकिएको छ । दैनिक भान्सामा चाहिने सामान किन्न बजार निस्कने हो भने, खल्ति मोटो नपारी सुखै छैन । व्यापारीले बजेट भाषण लगत्तै बढेको भाउमा सामान बेच्न थालिहाले । सरकारले कर बढाएको बहानामा गरिएकोे अस्वभाविक मूल्यवृद्धिलाई लिएर अहिले उपभोक्ता आक्रान्त छन् । 

बजेटलगत्तै चौतर्फी मूल्य वृद्धि भएपनि सरकारको सर्भेक्षणले उल्टै मूल्यवृद्धिको स्वागत गरेको छ । सरकारी अध्ययन तथा सर्भेक्षणले महँगी बढेको फेला पार्दै पारेन । बजार अनुगमन तथा मूल्य नियन्त्रण गर्ने जिम्मा पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले नै सामान्य मूल्य वृद्धि स्वभाविक भएको मूल्यवृद्धिमा मौन समर्थन दिएको छ । 

अत्यावश्यकीय दाल, चामल, तरकारीजस्ता उपभोग्य वस्तुमा कर नबढेको भएपनि  भाउ अचाक्ली बढेको कुरा खुद्रा व्यापारीहरूनै स्वीर्काछन् । बजेटको बहानामा व्यापारीले मनोमानी मूल्य वृद्धि गरे पनि सरकार उपभोक्ताको गुनासो सुन्न छोडेर उल्टै मूल्यवृद्धिको बचाउमा उत्रिएको छ । 

काठमाडौंमा बस्ने मनु तामाङ बजारमा भाउ अचाक्ली बढेको बताउँछिन् । उनी भन्छिन्, ‘खर्चको त कुरै नगरौँ । बौलाइएला कि भनेर हिसाब गर्नै छोडेकी छुँ ।’ सनफ्लावर तेल पहिले एक सय ३७ रुँपैया थियो । अहिले एक सय ५० पर्न थाल्यो । जिरा मसिनो चामल २५ किलोको पहिलो १६ सय रहेकामा अहिले १८ सय पुगेको छ, उनले सुनाइन् । 

दिनमा कति खर्च हुन्छ, उपभोग्य सामानमा मात्रै ? जवाफमा उनले भनिन्, ‘मोटामोटी पहिले ५ जनालाई ५ सयले पुग्थ्यो भने । अहिले दोब्बर भयो । हजार त चाहियो नै ।’ उनले महिना हुने कमाई त्यति राम्रो नभएको सुनाईन् । उनले अगाडि भनिन्, ‘सरकारले भाउ बढाउन मात्रै जानेको छ । रोजगारी दिन जानेको छैन । व्यवसायमा आन्दानी नै हुन छोड्यो ।’

यो महँगीलाई खासै नौलो ठान्दैनन्, सुसिम मगर । उनी भन्छन्, ‘यो सबै राजनीतिक अस्थिरताको परिणाम हो । मेरा लागि यो कुनै ठूलो कुरा होइन ।’ चुनावपछि व्यापार भएको छैन । त्यही भएर यो बढेको हो । उनले भने, ‘अझै गाडि भाडा त बढ्नै बाँकी छ । दशैँसम्म व्यापार हुँदैन भनेर अहिले नै मौका छोपेका हुन् व्यापारीले ।’
महँगीको मूल कारण राजनीति नै हो, उनले अगाडि भनेका छन्, ‘अरु बेला पनि दशैँपछि महँगी हुने गरेको थियो । दशैँको महँगी अझै खेप्नै बाँकी छ ।’ व्यापारीले वैशाखबाटै सामान टन्न किनेर राख्छन्, उनले थपे, ‘बजेट भाषण भएको भोलिपल्टबाट नयाँ मूल्य राखेर हाकाहाकी बेच्छन् । सरकारले नियन्त्रण गर्दैन । यो यसपटक मात्रै बढेको होइन । हरेक वर्ष यस्तै हुन्छ ।’

खुद्रा व्यापारीकै रुवावासी ? 
सरोज कार्की हुन्, खुद्रा व्यापारी । हामीलाई नै बढेको छ । उपभोक्तालाई त मार पर्ने नै भयो, उनले भने, ‘हामीले पनि बढेकै मूल्यमा किनेको हो ।’ होलसेलले स्टक समान बढाएर बेच्छ । सरकारको निगरानी छैन । बजेट भाषण आउनु भन्दा १५ दिन अघि सामान सटेज पार्छन्, उनले अगाडि थपे, ‘हरेक सामानको १२ प्रतिशत मूल्य बढेको छ । तरकारीमा भने खासै असर परेको छैन । किसानले तरकारी उत्पादन गर्छन् त्यसैले ।' 

तपाईहरु आफै बढाउनु त हुन्न कतै ? जवाफमा उनले भने, ‘होइन । मलाई पहिले नै बढाउनु पर्छ भन्ने थाहा हुँदैन । होलसेलले कुन सामानमा कति मूल्य राख्छ भन्ने थाहा नभई हामीले कसरी मूल्य बढाउँछौँ र ? होलसेलले हामीलाई १२–१५ प्रतिशत मूल्य बढाएर बेच्छन् । हामीले धेरै राख्न पाउँदैनौ । उनीहरुले बढाएकोमा ५–१० प्रतिशत थपेर बेच्छौँ ।’

सबै भन्दा मर्कामा उपभोक्ता परेका छन् । उनी भन्छन्, ‘हुन त हामी पनि उपभोक्तै हो ।’ मूल्य सूचि भने कतैबाट नआउने उनले बताए । सटेज छ, सामान भन्छन्, मूल्य बढी पर्छ भन्छन्, त्यही अनुसार हामीले पनि बेच्नु पर्छ । अरु वर्षको तुलनामा यो वर्ष मूल्य अचाक्लीनै बढेको हो, भन्छन् उनी । पोहोर परार यस्तो बढेको अनुभव भएको थिएन । यो वर्ष अतिनै बढ्यो भन्छन्, कार्की । फाइदा त हुँदो हो नि ? उनले भने, ‘हामीलाई के फाइदा हुनु र ?’ जस्तो साधारण कुरा, उनले भने, ‘१८ रुपैँया प्रतिप्याकेट वाइवाइ चाउचाउको एक पेटीलाई पहिले ४ सय ७० पर्दथ्यो । अहिले त्यही पेटीलाई ५ सय २० हालिरहेका छौँ । १८ रुपैँया लेखेको छ । २० रुपैँया लिएको भनेपछि ग्राहकले झगडा गर्छन् ।’ हामी नै मूल्यवृद्धिको मारमा परेका छौँ । उपभोक्ताको के कुरा ? कार्कीले भनेका छन् । 

कति बढ्यो भाउ ?     
बजेट भाषण (जेठ १५) पछि दाल किलोमा १०, खाने तेल लिटरमा २० रुपैयाँ र चामल बोरा (२५ किलो) मा सय रुपैयाँ मूल्यवृद्धि भएको छ ।

एक सय २० रुपैयाँ लिटरमा बिक्री भएको खाने तेलको मूल्य एक सय ४० पुगेको छ । दाल किलोको ९० देखि एक सयबाट बढेर एक सयदेखि एक सय १०, मनसुली चामल बोरा (२५ किलो) को १५ सयबाट १६ सय रुपैयाँ पुगेको किराना तथा खुद्रा व्यापार संघले जनाएको छ ।

बजेटमा तोरीको तेलमा दिँदै आएको ४० प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता सुविधा हटाइएको छ, भने तोरीको गेडा आयातमा लिँदै आएको एक प्रतिशत भन्सार महसुल वृद्धि गरेर पाँच प्रतिशत पुर्याइएको छ ।
सरकारले अप्रशोधित दाल तथा गेडागुडीमा लिँदै आएको भन्सार महसुल पाँच प्रतिशतबाट बढाएर १० प्रतिशत पुर्याएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ