संचार मन्त्री बास्कोटालाई पुर्व संचार मन्त्री रिजालको कटाक्ष
प्रकाशित २०७५ जेठ ३१ बिहिबार
316
Shares
काठमाडौं । पुर्व सूचना तथा संचार मन्त्री एवम् नेपाली काँग्रेसका नेता डा मिनेन्द्र रिजालले अन्तर्वार्ताका क्रममा दाईजो सम्वन्धी प्रश्न गरेकै कारण नेपाल टेलिभिजनको कार्यक्रम बन्द गरिदिएको र प्रस्तोतालाई निस्कासन गरेकोप्रति कटाक्ष गरेका छन् ।
बर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले नेपाल टेलिभिजनको कार्यक्रम सिधा प्रश्नलाई बन्द गर्न लगाएको र कार्यक्रम प्रस्तोता राजु थापालाई निश्कासन गरेको प्रति उनले कडा आपत्ति जनाए । कुनै पनि संचार माध्यम सरकारको नियन्त्रणमा रहनु हुदैन भन्ने विश्वव्यापी मान्यता अनुसार नेपाल टेलिभिजनलाई पनि सरकार होईन संसदको मातहतमा लैजाने गृहकार्य भईरहेका बेला कार्यक्रम नै बन्द गराउने र प्रस्तोतालाई निकाल्ने मन्त्रीको निर्णय गलत भएको उनले बताए ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै काँग्रेस सांसद रिजालले नेपाल टेलिभिजन सार्वजनिक प्रसारण माध्यम हुनु पर्छ भन्ने मान्यता विपरित मन्त्रीले सरकारकै प्रचारकलाई जस्तो व्यवहार गरेको टिप्पणी गरे। नेपाल टेलिभिजन र रेडियो नेपाललाई सार्वजनिक प्रसारण माध्यम बनाउन आफु संचार मन्त्री भएकाले बेला गृहकार्य थालेको उल्लेख गर्दै उनले त्यो संचार माध्यममाथी गर्ने व्यवहार यही हो त भनेर प्रश्न गरे।
सार्वजनिक प्रसारण माध्यम बनाउने तर्फ नलागी आफ्नै प्रचार यन्त्र बनाउने अभ्यास तिर वाहलवाला बलसाली सञ्चार मन्त्री लागेको डा रिजालले टिप्पणी गरे। मन्त्रीको व्यवहारबाट संस्थाको अपमान भएको उनको भनाई छ । सरकारका मन्त्रीहरुले कानुन अनुसार काम गराउने भन्दा पनि सत्ताको बल र धम्की देखाउने गरेको डा रिजालले बताए ।