arrow

बिपीले चीन र नेपाल जोड्ने मार्ग निर्माण प्रस्ताव माओसँग गरेकैले राजा र भारतले सरकार ढाले : भण्डारी

प्रधानमन्त्रीले भ्रमणमा लिपुलेकबारे कुरा उठाउन सक्नुपर्छ

logo
प्रकाशित २०७५ जेठ ३१ बिहिबार
bp-mao.jpg

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणको क्रममा नेपालको लिपुलेकको बारेमा कुरा उठाउन सक्नुपर्ने धारणा राखेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै  उनले भने,‘चीनले नेपालको अहित हुने काम गर्न सक्दैन, त्यसैले प्रधानमन्त्रीले आफ्नो भ्रमणमा लिपुलेकबारे कुरा राख्नुपर्छ, अनिमात्रै भ्रमण सफल भएको मान्न सकिन्छ।’

तत्कालिन प्रधानमन्त्री विपी चीन भ्रमणमा जाँदा उनले माओसँग चीनबाट नेपाल जोड्ने दुईवटा सडक माँगेको स्मरण सुनाउँदै भण्डारीले भने,‘यो कुरा भारतीय पक्षलाई मन परेन, पछि राजासँग मिलेर विपीको सरकार नै ढालियो, विपीसँग दुई तिहाई बहमुत हुँदापनि उहाँको सरकार १८ महिना पनि टिक्न दिईएन्।’

अहिले प्रधानमन्त्री ओलीले चीन भ्रमणमा जाँदा अनुदानमा चीनीयाँ रेल नेपाल ल्याउन पहल गर्नुपर्ने उनले सुझाए । उनले भने,‘यदि चीनले नेपालमा अनुदानमै रेल ल्याईदिओ भने प्रधानमन्त्रीको यो भ्रमण उपलब्धिपूर्ण हुन्छ।’  नेता भण्डारीले नेपालका नेताहरु विदेशीको गुलामी नै गर्नुपर्छ भन्ने संस्कारबाट ग्रसित रहेको समेत आरोप लगाए । उनले भने,‘हामी नेपाली हरेक कुरामा सक्षम छौं, आज हेर्नुहोस सिंगापुरमा हालै भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीचको वार्तामा गोरखा सैनिकले सुरक्षा दियो, यो गौरवको विषय हो।’

उनले नेपालको विकास र समृद्धिको मोडल नै गलत रहेको गुनासो गरेका छन् । उनले भने,‘गलत मोडलमा हामीले विकास निर्माणका कामहरु अघि बढाएका छौं, हामीले धेरै योजनाविद बनाऔं, धेरै प्रधानमन्त्री बनाऔं, धेरै सरकार बनाऔं, तर भु–बनोट सुहाउँदो विकास गर्न भने सकेनौं।’

नेपालको भू–बनोट अनुसार हिमाल हेर्नको लागिमात्रै, पहाडको क्षयीकरण र तराई आगामी २० वर्षमा डुबानमा पर्ने खतरा पनि उनले औंल्याए । उनले भने,‘हामीले जतिसक्दो चाँडो एकीकृत वस्ती बसाल्नुपर्छ, हाम्रा सडकहरु मान्छे मार्ने धराप् बनेका छन्, अब हामी विश्व विकासको मोडल अनुसार अघि बढ्नुपर्छ।’ उनले तत्काल कम्तिमा पनि ५ वटा सुरुङमार्ग बनाउनुपर्नेमा जोड दिए ।

अहिलेकै अवस्थामा जोसुकै व्यक्ति नेतृत्वमा आएपनि यही मोडेलमा देशको विकास हुन नसक्ने नेता भण्डारीको ठोकुवा छ । उनले भने,‘हामीले विकासका प्राथमिकताहरु तय गर्न सकेनौं, हाम्रा आफ्ना पहिचानको बारेमा हामीलाई केही थाहा छैन, पशुपतिनाथ, जानकी मन्दिर, लुम्बिनी र मुक्तिनाथ यी हाम्रा पहिचान हुन्।’ नेपालका आफ्ना पहिचानलाई भारतका प्रधानमन्त्री आएर देखाईदिनुपर्ने यो कस्तो विडम्बना भन्दै उनले प्रश्न समेत तेर्साए ।

स्वदेशमै रोजगारी सिर्जना नहुँदा नेपालका ठूलो मात्रामा युवा जनशक्ति खासगरी प्लस टु उत्तिर्ण गर्नेबित्तिकै विदेश पलायन हुने गरेको पनि उनले सुनाए ।  उनले अहिले सत्तापक्ष सत्तापक्षजस्तो नभएको र प्रतिपक्षीपनि प्रतिपक्षजस्तो नभएको आरोप लगाए ।

उनले थपे,‘प्रधानमन्त्री ओली अन्टसन्ट बोल्नुहुन्छ, प्रतिपक्षी दलका नेता बोल्दै बोल्नुहुन्न।’ अहिले सरकारसँग दुई तिहाईभन्दा बढिको बहुमत हुँदापनि सोचे अनुसार काम नभएको उनको गुनासो छ । उनले थपे,‘प्रधानमन्त्रीले रातदिन काम गर्नुपर्ने बेला हो, १८ घण्टा काम गर्नुपर्छ।’ सरकारले अहिले सुति बसेको प्रतिपक्षी दललाई व्युँझाउने काम गरेको पनि उनको भनाई थियो ।

 नेकपाका नेता एवम् राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले नेपालका सांसदहरुलाई एक-दुई वटा प्रशिक्षणको लागि विदेशीको सहयोग लिन जरुरी नरहेको स्पष्ट पारे। नेता शर्माले भने,‘युएनडिपीले हामीलाई प्रशिक्षणको लागि नै सहयोग गर्न जरुरी छैन, बरु संसद भवन निर्माण गरिदिए हुन्छ, सांसदको लागि आवास बनाईदिए हुन्छ, टुक्रे र खुद्रे कामको लागि हामीलाई सहयोग चाहिँदैन्।’

उनले भने,‘युएनडिपीलाई मेरो भन्नु के छ भने यस प्रकारको सहयोग गर्न हामीलाई रकम चाहिँदैन्, दुई दिनको सेमिनारमा दुई छाक भात हामी आँफ्नै पैसाले खाएरपनि प्रशिक्षण लिन सक्छौं।’ सांसदहरुलाई एउटा झोला भिराएर प्रभावित पार्ने काम नहोस् भन्ने शर्माको आग्रह छ । उनले भने,‘उनीहरुले दिएको पैसा राष्ट्रिय महत्वका काममा सदुपयोग होस्, यो कुरा युएनडिपीको केन्द्रिय हेडक्वार्टरमा पुगोस्।’

नेता शर्माले साना–साना काममा सांसदलाई विदेश पठाउने र कार्यक्रममा बोलाउने काम भैरहेको भन्दै आपत्ति समेत जनाए । उनले भने,‘व्यक्ति÷व्यक्तिसँग सम्पर्क बढाउने र प्रभावित पार्ने काम भएको छ, अब यी कामहरु बन्द होउन्।’ सांसदलाई अब कसैलेपनि ‘डिक्ेटट’ गर्न नपर्ने शर्माको जिकिर छ । उनले भने,‘हामी आपसमा छलफल गर्छौं, चाहिने ऐन तथा कानून निर्माण गर्छौं, तर हामीले अन्तर्राष्ट्रिय अनुभवहरु आदान–प्रदान गर्नुपर्छ।’

दातृ निकायको सहयोग प्रायोजित रुपमा नभईकन आफूहरुको हितमा उपयोग हुनुपर्ने उनको भनाई छ । शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण सफल हुने दाबी गरेका छन् । उनले भने,‘प्रधानमन्त्रीको चीन भ्रमण विकास निर्माण र समृद्धिमा बढि केन्द्रित हुनुपर्छ, उहाँको भ्रमणले दुई देशबीचको सद्भाव बढाउने हो, नेपालको समृद्धिको लागि चीन र भारतबाट हामीले सहयोग लिन सक्नुपर्छ।’ प्रधानमन्त्री ओलीको चीन भ्रमण राजनीतिकभन्दापनि सद्भावपूर्ण भ्रमण हुने उनको विश्वास छ ।  चीनको ‘वान बेल्ट वान रोड’को वेल्ट एण्ड रोड ईनिसियसन र व्यापार तथा पारवाहनबाट पनि नेपालले फाईदा लिनुपर्ने शर्माको तर्क छ । उनले भने,‘प्रधानमन्त्रीको यो भ्रमण पूर्ण रुपमा सफल हुन्छ भन्नेमा म विश्वस्त छु।’

नेता शर्माले संविधानको परिधिभित्रै रहेर फरक–फरक दलबाट सभामुख र उपसभामुख निर्वाचित भएकोले अहिले ती दुई पार्टीबीच एकता भैसकेको बताउँदै भने,‘उहाँहरु निर्वाचित भएसँगै स्वतन्त्र हुनुभएको छ, दलको सदस्यबाट राजिनामा समेत दिसक्नुभएको छ, त्यसैले उहाँले अब छोड्नुपर्छ भन्ने लाग्दैन, राजिनामा दिँदा पनि संवैधानिक प्रश्न उठ्छ, प्रतिपक्षी दलले आफूले उक्त पद पाउनुपर्छ भनेर राजिनामाको कुरा उठाउने र छलफलको विषय बनाउने काम गरेको छ, यसमा दुवै पक्ष बसेर निकास निकाल्नुपर्छ।’
सरकारको प्रस्तुतिबाट अहिलेनै निराश हुनुपर्ने अवस्था नरहेको उनको भनाई थियो । उनले भने,‘अहिले सरकारको काम देखेर निराश भैहाल्नुपर्ने अवस्था छैन, आजको भोलि नै परिणाम आउँदैन, परिणामको लागि केही समय धैर्य गर्नुपर्छ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ