“दलाल” ट्याग भिरेर एडीबी गएका सोमलाल सवा २ करोड बढी माया मारेर फर्किँदै
प्रकाशित २०७५ असार १ शुक्रबार
354
Shares
काठमाडौं । कर्मचारी प्रशासनको सर्वोच्च मुख्यसचिवको पद गोली मारेर एडीबीको जागिर खान मनिला पुुगेका पूर्व मुख्य सचिव सोमलाल सुवेदी, तलव मात्रै सवा २ करोड रुपैयाँभन्दा बढी माया मारेर फिर्ता हुनुपर्ने भएको छ ।
विहीबार साँझको मन्त्री परिषद बैठकले, नेपालको तर्फबाट एसियाली विकास बैंक एडीबीको मनिलास्थित मुख्यालायमा, वैकल्पिक निर्देशक पदमा कार्यरत पूर्व मुख्यसचिव सोमलाल सुवेदीलाई फिर्ता बोलाउँदै उनको ठाउँमा अर्थ मन्त्रालयका सहसचिव रामशरण पुडासैनीलाई मनोनयन गर्ने निर्णय गरेपछि, उनी जागिर अबधी सकिन १ वर्ष बाँकी रहँदै फकिर्नु पर्ने भएको हो ।
मोटै रकम पाउने लोभमा, नेपाल सरकारको कर्मचारी प्रशासनको सर्वोच्च पद मुख्य सचिव समेत गोली मारेर मनिला हान्निएका सुबेदीले एडीबीबाट मासिक १८ हजार अमेरिकी डलर तबल थाप्दै आएका थिए । यसको नेपाली रुपान्तरण मासिक १९ लाख ४४ हजार (एक डलरको १०८ रुपैयाँ दरभाउ अनुसार) रुपैयाँ हुन्थ्यो । तर एक वर्ष जागिर अबधी बाँकी हुँदै सरकारले फिर्ता बोलाइदिएपछि उनले वर्ष दिनको २ करोड ३३ लाख रुपैयाँ माया मार्नु पर्ने भएको हो (यो रकम तबलको मात्र हो । उनले पाउने भत्ता र सेवा सुविधा जोडिएको छैन )।
संसदमा उठेको दलाल ट्याग
मुख्यसचिव सुवेदी मोटो रकमको जागिर खान मनिला जान एक महिना बाँकी हुँदा, २०७३ को असारमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले, सोमलाल सुवेदीलाई ‘विस्तारवाद र साम्राज्यवादका दलाल’ भनेका थिए । ती सांसदको यस्तो भनाइ व्यवस्थापिका संसदमा रेकर्ड समेत छ ।
सांसद प्रेम सुवालले मुख्यसचिव सोमलाल सुवेदीले आफूखुसी निर्णय गर्दा पनि सत्तारुढ दल र सरकारमा रहेका मन्त्रीहरु टुलुटुलु हेरेर बसेको भन्दै आलोचना गरे । उनले भने ‘मुख्यसचिव त देशभक्त होइन होइन, मुख्यसचिव विस्तारवादी र साम्राज्यवादीहरुका दलाल हुन् । त्यसैले यस्तो तल्लो तहको काममा गएका हुन् ।’
सांसद सुवालले यसबारे तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सदनमा जवाफ दिनुपर्ने माग समेत गरेका थिए । एडीबीमा जागिर खान जाने निर्णय गरेकै दिन मुख्य सचिव सुवेदीले राजीनामा दिनुपर्ने सुवालले बताए।
त्यस्तै एमाले सांसद रेवतीरमण भण्डारीले पनि मुख्यसचिव सुवेदीलाई राजीनामा गराएर मात्रै विदेश पठाउनुपर्नेमा सरकारले वास्ता नगरेको भन्दै आलोचना गरेका थिए। साथै उनले ‘सत्ता र शक्तिको आडमा मुलुकको प्रशासनिक, संवैधानिक र कानुनलाई घोर उल्लंघन गर्न पाइँदैन, सरकारको प्रशासनिक सर्वोच्च पद खेलवाडको विषय होइन, यो निर्णय तुरुन्त फिर्ता गर्नुपर्छ पनि भनेका थिए ।
‘मुख्यसचिव पदबाट रिटायर्ड हुँदा ४४ सय बढी पेन्सन पाइने लोभले मुलकको राष्ट्रिय अस्मितामाथि खेलवाड गर्न पाइँदैन, यो नेपाल राष्ट्रका निम्ति एउटा गम्भीर नैतिक प्रश्न हो ’ उनले भनेका थिए । राजीनामा नदिँदा ४४ सय रुपैयाँ बढी पेन्सन पाउने लोभ गर्दै सुवेदीले काज मिलाएर एडीबी जाने निधो गरेका थिए । तर चौतर्फी आलोचना भएपछि, उनले एडीबी जानुअघि राजीनामा दिएका थिए । उनी जानुअघि नै सरकारले मुख्यसचिवमा राजेन्द्रकिशोर क्षेत्रीलाई नियुक्त गरेको थियो ।
मुख्यसचिवमा सुवेदीको पदावधि २०७५ साउनसम्मको थियो । तत्कालिन प्रधानमन्त्री शुसिल कोइरालाको कार्यकालमा २०७२ साल साउनमा उनी मुख्यसचिच नियुक्त भएका थिए । सचिव भएपछि मन्त्रिपरिषद्को सचिवको रुपमा काम गरेका सुवेदी कांग्रेसको रोजाईमा मुख्य सचिव भएका हुन्।