रौतहट । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका नेता माधवकुमार नेपालले दुई तिहाईको वर्तमान सरकारसँग कांग्रेसलाई नझस्किन सुझाव दिएका छन् ।
गृह जिल्ला रौतहटको गुजरा नगरपालिका–९ मैढाटोलमा शुक्रवार आयोजित एक कार्यक्रममा उनले सरकार सुखी नेपाली र समृद्ध नेपाल बनाउन लागिरहेका बेला प्रतिपक्षको भूमिकामा रहेका कांग्रेसलाई सरकारसँग नआत्तिन सुझाव दिएका हुन् ।
देश विकासका निमित्त जनताले दिएको बहुमतको कदर गर्न तथा दुई तिहाईको शक्ति नदेखाउन समेत उनले सरकारलाई सुझाव दिए । वर्तमान सरकार कसैको विरोधमा नरहेको बताउँदै नेता नेपालले देशको विकासमा हातेमालो गर्न कांग्रेसका नेताहरुलाई आग्रह गरे ।
ओली सरकार नयाँ नयाँ योजना ल्याएर किसान तथा गाँउको विकास गर्न तल्लिन रहेको बताउँदै उनले प्रदेश नं. २ को विकासको जिम्मेवारी पनि ओली सरकारकै काँधमा रहेको जिकिर गरे ।
गाँउ गाँउमा महिला जनप्रतिनिधि निर्वाचित हुँदा महिलाको सम्मान बढेको बताउँदै नेता नेपालले महिलाले अवसर पाए पुरुषको भन्दा राम्रो गरेर देखाइसकेको विचार व्यक्त गरे। रासस