arrow

स्थानीय तहलाई जनउत्तरदायी बनाउन काँग्रेसले थाल्यो निगरानी अभियान

logo
दीपेन्द्र बस्नेत।
प्रकाशित २०७५ असार १ शुक्रबार
congress-punarbas-meeting-nigrani-samitee.jpg

पुनर्वास,कञ्चनपुर। पश्चिम नेपालको कञ्चनपुरको दक्षिणी क्षेत्रस्थित पुनर्वास नगरपालिकाका विभिन्न वडाहरुमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले निगरानी, अनुगमन तथा पैरवी समिति गठन कार्य सुरु गरेको छ।

बिकास निर्माणका योजनाहरुमा अनियमितता तथा मनोमानी रोकी स्थानीय निकाय तथा जनप्रतिनिधिहरुलाई जन उत्तरदायी बनाउँदै भेदभाव रहित समुचित र न्यायिक योजना बिनियोजनमा दवाब दिन प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले निगरानी समिति गठन शुरु गरेको हो। स्वस्थ बिकास निर्माणका कार्यका लागि निगरानी,अनुगमन तथा पैरवी समिती गठन गरिएको नेपाली काँग्रेस निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय समितिले जनाएको छ । 

जिल्लाको दक्षिणी क्षेत्रको पुनर्वास नगरपालिकामा प्रमुख प्रतिपक्षी दलको स्थानिय निर्वाचन पश्चात् भुमिका कमजोर देखिएको जनगुनासो बढीरहेका बेला नेपाली काँग्रेसले वडा स्तरबाटै सशक्त रुपमा बिकास निर्माणका कार्यहरुलाई पारदर्शी र गुणस्तरीय योजना निर्माणमा दवाब दिन सकृयता देखाएको हो । 

नेपाली काँग्रेस केन्द्रीय समितिले सत्तारुढ पक्षद्वारा हुन सक्ने स्वेच्छाचारी गतिबिधी नियन्त्रण गर्न खबरदारी अभियानलाई सुदृढ पार्न छाँया सरकार निर्माण गर्ने निर्णय अनुरुप स्थानिय स्तरसम्म निगरानी अभियान काँग्रेसले निर्माण गर्न थालेको हो । 

नेपाली काँग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ का नेता तथा पुर्व साँसद दिवानसिंह बिष्टको सकृयतामा पुनर्वासमा काँग्रेस पुनर्जागरण र पैरवी अभियानको थालनी गरिएको छ । 

पुर्व साँसद बिष्टसंगै प्रदेश सभाका उम्मेदवार गोपालसिंह गुरुङ, क्षेत्र नम्बर १ का काँग्रेस सभापति गोपिप्रसाद उपाध्याय ,पुनर्वास नगरपालिकामा मेयर पदका काँग्रेस उम्मेदवार तोयप्रसाद शर्मा लगायतका नेताहरुको सकृयतामा पुनर्वासमा स्थानिय निकायका जनप्रतिनिधिहरुको काम,योजना बाँडफाँडमा पारदर्शिता र जवाफदेही बनाउन निगरानी,अनुगमन तथा पैरवी समिती गठन गरिएको छ ।

पुनर्वास नगरपालिकाको वडा नम्बर ९ मा बिहीबारदेखि अभियान सुरु गरेको काँग्रेसले पुनर्वासका ४,५,६ र ७ नम्बर वडाहरुमा निगरानी,अनुगमन तथा पैरवी समिती गठन गर्दै काँग्रेस पुनर्जागरण सुरु गरेको छ। 

रचनात्मक प्रतिपक्षको भुमिका निर्वाहमा उदाहरणीय उपस्थिति देखाउँदै बिकास निर्माणका कामहरुलाई चुस्त दुरुस्त र पारदर्शी बनाउन काँग्रेस स्थानियस्तर देखिनै सकृयताका साथ लाग्ने काँग्रेस नेता तथा पुर्व साँसद दिवानसिंह बिष्टले बताए । 

यस अघि कञ्चनपुरको दक्षिणी भेगको बेलौरी नगरपालिका र बेल्डाँडी गाउँपालिकामा पैरवी समिति निर्माण गरि खबरदारी गर्दै आएको काँग्रेसले पुनर्वासमा समेत अभियान सुरु गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ