arrow

ट्रेड युनियनमा देउवा निकट कमजोर, पौडेल सिटौला निकट हावी

ट्रेड युनियनमा शिक्षक संघको झै परिणाम आउने संकेत

logo
प्रकाशित २०७५ असार २ शनिबार
deuba-poudel-krishna.jpg.jpeg

काठमाडौं । नेपाल ट्रेड युनियन काँग्रेसको मतगणनाको रुझान हेर्दा नेपाल शिक्षक संघको जस्तै परिणाम आउन सक्ने संकेत देखिएको छ।

शिक्षक संघको संघीय कार्यसमितिमा उप महासचिव महिला बाहेक सबै पदाधिकारीमा बरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण प्रसाद सिटौलाको समर्थन रहेको समुह निर्वाचित भएझै ट्रेड युनियनमा पनि सोहि समुहले नै जीत निकाल्ने संकेत देखिएको छ।

शिक्षक संघमा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले समर्थन गरेको केशव निरौला समुह पराजित हुँदा पौडेल सिटौला समुहले समर्थन गरेको राजेन्द्रराज पौडेल समुह निर्वाचित भएको थियो। 

ट्रेड युनियनमा पनि पौडेल सिटौला समुह प्रभावशाली देखिदा देउवा समुह कमजोर देखिएको हो। पौडेल सिटौला समुहले पुस्कर आचार्यको प्यानललाई समर्थन जनाएका थिए भने देउवाले खिलनाथ दाहालको समुहलाई समर्थन जनाएका थिए।   

यि दुवै निर्वाचनमा दुवै वहालवाला अध्यक्ष पुन सोहि पदमा दोहोरिन खोजेका थिए। दुवै संस्थाका अध्यक्षहरुले वैकल्पिक नेतृत्व तयार नगरि आफै पदमा दोहोरिन खोज्दा शिक्षक संघमा निरौलाले पराजयको अनुभव लिनुपर्‍यो भने ट्रेड युनियनमा खिलानाथ दाहालले पनि जित्ने सम्भावना क्षीण बन्दै गएको छ। 

नेपाली काँग्रेस पार्टी भित्रको आन्तरिक राजनीतिक समिकरण कसरी विकसित भइरहेको छ भन्ने पनि यि चुनावहरुले देखाएको छ। शिक्षक संघ, कर्मचारी संघ हुँदै ट्रेड युनियनसम्म आइपुग्दा पौडेल सिटौला समुह थप प्रभावशाली बन्दै सभापति देउवालाई दवावमा पार्न सक्ने अवस्थामा देखिएका छन्। 

मत गणनाको रुझानलाई हेर्ने हो भने शिक्षक संघमा जस्तै एक दुइबटा पदमा तल माथि भए पनि लगभग ९५ प्रतिशत परिणाम पौडेल सिटौलाले समर्थन गरेको पुस्कर आचार्यको समुहले हात लगाउने देखिएको छ। नेपाली काँग्रेसको महाधिवेशनदेखि आन्तरिक राजनीतिमा समेत प्रभाव राख्ने ट्रेड युनियन नेपाली काँग्रेसको सबैभन्दा ठूलो संस्था हो। यसमा २६ वटा आवद्ध संघ मार्फत लाखौं सदस्य पार्टी पङतिमा जोडिएका छन्। 

नेपाली कांग्रेसको भातृ शुभेच्छुक संस्थाहरुको अधिवेशनमा देखिएको यो बदलाबले नेपाली कांग्रेसको राजनितिलाई समेत केहि न केहि प्रभावित गर्ने आँकलन गरिएको छ ।

देशभरको स्थानीय तहसम्म विस्तारित भएको तथा तुलनात्मक रुपमा बुद्धिजीवी तहमा हेरिने शिक्षक संघको नेतृत्वमा पौडेल सिटौला समूहको आगमनलाई नेपाली कांग्रेसको आगामि राजनीतिसँग जोडिएर हेरिएको थियो। शिक्षक संघको महाधिवेशनमा रामचन्द्र पौडेल समूह र कृष्णप्रसाद सिटौला समूह एकै ठाँउमा आइपुग्दा त्यो नतिजा सम्भव भएको सम्झने शिक्षकहरु ट्रेड युनियनमा पनि सो एकताले काम गरेको बताँउछन् ।

निवर्तमान अध्यक्ष खिला दाहाललाई नेपाली काँग्रेसका पार्टी सभापति शेर बहादुर देउवा, उपसभापति विमलेन्द्र निधी सहितका नेताहरुको समर्थन रहेको छ भने आचार्य समुहलाई वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौला, प्रकाशमानसिंह, अर्जुन नरसिंह केसी, शेखर कोइराला लगायतका नेताहरुको समर्थन रहेको छ। केह दिन अघी काठमाडौंमा पौडेल, सिटौला, सिंह र केसीले एउटै मञ्चबाट एकताको सन्देश दिने प्रयास गरेका थिए। त्यसको प्रभाव पनि चुनावमा परेको बताइएको छ। शेखर कोइराला पुस्करको टीम जीताउने रणनीति बनाउनै लागेका थिए। 

नेपाली काँग्रेसको राजनीतिमा यो चुनावलाई प्रतिष्ठाको लडाइको रुपमा नेताहरुले लिएका छन्। पछिल्ला समयमा भएका अधिकांश भातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशनमा सभापति देउवा निकट नेताहरु पराजित भएपछि यो चुनावलाई सभापति देउवाले अत्यन्तै महत्व दिएका थिए। पार्टीको आन्तरिक राजनीतिमा देउवाको विपक्ष खेमाले पनि यो चुनावलाई त्यसैगरि नै महत्वका साथ लिएको देखिन्थ्यो। 

नेपाली कांग्रेसको राजनीतिमा सिटौलाले देउवालाई सहयोग गर्दा कांग्रेस सभापतिमा निर्वाचित भएका थिए । त्यसपछि नेविसंघ र महिला संघमा पनि देउवा र सिटौलाको कार्यगत एकताले काम गर्दा ति संस्थाहरुमा देउवा निकटहरु नेतृत्वमा पुगेका थिए। पछिल्ला चरणमा भने भातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशनमा सिटौला समूहले देउवा समूहलाई नभइ पौडेल समूहलाई समर्थन गरेपछि नयाँ गठवन्धन निर्वाचित हुँदै आएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ