प्रहरी र सेनाका प्रमुखसहित २५ लाखले गरे मत्स्यनारायणको दर्शन
भेटी पारदर्शी नभएको भन्दै स्थानीयको आपत्ति
प्रकाशित २०७५ असार २ शनिबार
382
Shares
काठमाडौं । मलमासमा मात्रै मेला लाग्ने किर्तिपुरको मत्स्यनारायण मेलामा यसपाली प्रधानन्यायाधीश, प्रधानसेनापति, प्रहरी महानिरीक्षक, लोकसेवा आयोगका अध्यक्ष सहित २५ लाख दर्शनार्थीले दर्शन गरेका छन् । जेठ २ गते मलमास शुरु भएसँगै मत्स्य नारायण मेला पनि शुरु भएको थियो । तिथि अनुसार जेठको ३० गत नै मलमास सकिएको हो ।
तर, अर्को महिनाको त्यही मितिमा, मेला समापन गर्ने स्थानीय परम्परा अनुसार असार २ गते शनिबारसम्म कीर्तिपुरको मच्छेगाउँमा मत्स्यनारायण मेला लागेको हो । मेला व्यवस्थापन समितिका सदस्य सुरेन्द्र केसीका अनुसार, यसपालीको मलमासमा मत्स्य नारायणको दर्शन गर्न कामु प्रधानन्यायाधीश दीपकराज जोशी, प्रधानसेनापति राजेन्द्र क्षेत्री, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली लगायतका विशिष्टहरु पनि मच्छेगाउँ पुगेका थिए ।
२०६९ सालमा तत्कालिन राष्ट्रपति डा रामवरण यादव दर्शन गर्न पुग्दा, चारैतिर नाका बन्द गरेर घण्टौंसम्म सर्वसाधारण दर्शनार्थीलाई रोक्नु परेको थियो । तर यसपाली राष्ट्र प्रमुख र सरकार प्रमुख दर्शनका लागि नगएपछि, व्यवस्थापकले राहत महसुस गरे । मेला भर्न मुलुकका विभिन्न ठाउँ सहित भारतको कर्नाटक र महाराष्ट्रबाट समेत दर्शनार्थीहरु बस रिर्जभ गरेर मच्छेगाउँ आएका थिए ।
मेला व्यवस्थापन खर्च :
मत्स्यनारायण मेलाको फोहर व्यवस्थापनका लागि भन्दै, व्यवस्थापना समितिले मच्छेगाउँका हरेक पसलबाट ३ सयदेखि ५ सय रुपैयाँसम्म उठाएको थियो । मच्छेगाउँमा १ सय ८२ पसल छन् । ती पसलबाट मोटामोटी ७० हजार रुपैयाँ उठेको थियो । मेलाकै लागि चन्द्रागिरी नगरपालिकाले ५ लाख रुपैयाँ र वडा कार्यालयले १ लाख रुपैयाँ पनि उपलब्ध गराएको, मेला संयोजक चन्द्रागिरी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष देवेन्द्र महर्जनले जानकारी दिए ।
यो रकमबाट, मेलाको सुरक्षाका लागि व्यवस्थापन समितिले ३ लाखको सीसीक्यामेरा सहित सुरक्षामा खटिएका प्रहरी र ५० जना स्वयम् सेवकलाई दैनिक खाना खुवाइएको उनले जानकारी दिए । २५ लाख दर्शनार्थीले मन्दिरमा चढाएको भेटीबारे भने उनले खुलाउन चाहेनन् । प्रत्येक दर्शनार्थीले १ रुपैयाँ मात्रै भगवानलाई चढाए पनि २५ लाख रुपैयाँ उठ्छ । व्यवस्थापना समितिले यसबारे केही नखुलाएको भन्दै स्थानीयले आपत्ति जनाएका छन् ।
मत्स्यनारायण मेलामा केही स्थानीयले एक महिनाको सटर भाडा ५० हजारदेखि डेढ लाखसम्म उठाएपछि, वडा कार्यालयले २ जना घरधनीमाथि कार्वाही समेत गरेको थियो । मेलालाई ने लक्षित गरेर अस्थायी पसल थाप्नेहरुले ३० रुपैयाँ पर्ने चिसो पेय पदार्थको ७५, चियाको ३० रुपैयाँ र सानो प्लेट चनाको ५० रुपैयाँसम्म असुल्न थालेपछि कार्वाही स्वरुप ग्राहकको रकम फिर्ता समेत गराइएको, मेला संयोजक महर्जनले जानकारी दिए ।