दाईको नाममा बनेका धारा अलपत्र पारे जुद्ध शमशेरले, त्यहीँबाट सुरु भो नेपालमा पहुँचको खेल
‘श्री ३ महाराज’सँग पहुँच राख्ने ईन्द्र भक्तको ३ तलामा जमिनबाटै चढ्थ्यो पानी
यमुना भण्डारी
प्रकाशित २०७५ असार २ शनिबार
621
Shares
काठमाडौं । वर्तमान सरकारले ‘सम्वृद्ध नेपाल, सुखी नेपाली’को दीर्घकालीन नारा अघि सारेको छ । तर, जानकारहरुले प्रश्न गरेका छन्, ‘‘सम्वृद्धि’ भनेर केलाई मापन गर्न खोजिएको ? सम्वृद्धि भनेर केलाई भन्न खोजेको ?’
उनीहरु भन्छन्, ‘त्यसको आधार के ? सम्वृद्धिको सूचक के ?’ त्यति मात्रै होईन उनीहरुले सोधेका छन्, ‘के पहिले–पहिलेका शासन कालमा विकास भएन ? पटक्कै भएन ? के सामाजिक सेवा विस्तार भएकै थिएन ? जसरी अहिले विगत अन्धकार थियो भन्ने तवरले प्रचार गरिन्छ ।’ विगतमा पनि विकास भएको हो । त्यो पनि सामाजिक । त्यो विकास अहिलेको समयमा झिनो थियो भन्न सकिन्छ, जानकारहरु भन्छन्, ‘विगतमा केही भएकै थिएन भन्न मिल्दैन । ईतिहास भत्काउन पाँइदैन ।’
साथमा उनीहरुले भनेका छन्, ‘अहिलेका शासक ईतिहासलाई बद्नाम गर्न उद्दत छन् । अहिले पढाउनेले पुरै पढाई दिँदैनन् । तथ्य बंग्याएर सिकाउने संस्कार विस्तार भएको छ । कसैले ईतिहास वा विगतबारे सोध खोज गर्दैनन् ।’ यही चिन्ताका बीच हामीले नक्सालमा भेटिएको ‘त्रि–भीम धारा’ अर्थात् तत्कालीन राजा त्रिभुवन र प्रधानमन्त्री भीम शमशेरको पालामा बनेको धाराबारे जानकारलाई सोधेका छौँ ।
धारामै लेखिएको छ, ‘त्रि–भीम धारा’ । राजा त्रिभुवन वीर विक्रम शाहको शासन कालमा प्रधानमन्त्री भीम शमशेर हुँदा दुबैको नामबाट धारा राखिएको हो । भीम शमशेर १९२२ देखि १९८९ सम्म नेपालको श्री ३ महाराज तथा प्रधानमन्त्री रहे । भीम शमशेर अघि प्रधानमन्त्री भएका वीर शमशेर र चन्द्र शमशेरको नामबाट पनि धारा थिए ।
तर, ति एकाध ठाउँ बाहेक लोप भइसकेका छन् । पाटन दरबार स्क्वायरमा चन्द्र शमशेरले आफ्नी रानीको नाममा भएको ‘महारानी पोखो’ भने अहिलेसम्म छ । ईतिहासका जानकार एवं बरिष्ठ पत्रकार भैरव रिसाल भन्छन्, ‘पहिले–पहिले राजा र प्रधानमन्त्रीका नामबाट सार्वजनिक स्थल तथा संस्थाको नाम राख्ने गरिन्थ्यो ।’ त्यो चलन अहिले पनि छ । फरक यत्ति हो । अहिले राजा छैनन् । अहिले कुनै राजनेता वा विशिष्ट व्यक्तिको नामबाट सार्वजनिक संस्था वा सम्पित्तिको नाम राख्ने गरिन्छ ।
‘भीम धारा’पछि क्रम भङ्ग
वीर शमशेरको पालामा वीर धारा बनाईयो । पछि चन्द्र शमशेरले त्यो हटाएर आफ्नो नामका धारा राख्न लगाए, चन्द्र धारा । देव शमशेरपछि आएका भीम शमशेरले पनि सर्वसाधारणलाई धारा दिने योजना ल्याए । उनले काठमाडौंका ठाउँ–ठाउँमा ‘त्रि–भीम धारा’ राखिदिए । उनैले राखेका भीम धारा अहिले पनि कहीँ कतै देखिन्छन् । एकाध धारामा अहिले पानी आउँछ । अहिले खानेपानीले काकाकुल काठमाडौं भनेर खबर आउँछन् । तर, त्यो बेला भीम धारामा २४ सै घण्टा पानी उपलब्ध हुन्थ्यो, भन्छन् जानकार रिसाल ।
अचम्म त के भने, भीम शमशेरको पालासम्म जति सुकै पहुँचवाला भएपनि निजी धारा पाइँदैन थियो । राणा परिवारसम्मै पहुँच भए पनि त्यो सम्भव थिएन । ठाउँ ठाउँमा राखिएका फलामका ‘भीम धारा’ सार्वजनिक धाराको रुपमा राखिएका थिए । त्यो जमिनको पानी भने थिएन । मुहानबाटै ल्याईएको पानी थियो । राणा शासन भएपनि खानेपानी योजना बनाएर मुहानकै पानी वितरण गरिएको सम्झिन्छन्, रिसाल ।
तर, भीम धारापछि निजी धारा नपाउने नियम तोडियो । दाजु भीम शमशेरको निधनपछि विक्रम संवत १९८९ भदौ १७ गते नेपालको प्रधानमन्त्री भएका जुद्ध शमशेरले निजी धारा नपाउने नियम तोडिदिए । उनले पहुँचवालालाई धारा दिए । सार्वजनिक धारा मात्रै रहने युग समाप्त भयो । सार्वजनिक धारा मात्रै हुने समयको अन्तिम विकास थियो, भीम धारा । पूराना ढुंगेधारा र ईनार भने अहिले पनि सार्वजनिक नै छन् । अहिलेका शासकले पनि सार्वजनिक धारा राख्ने गरेका छन् । तर, त्यसको संरक्षण हुँदैन ।
जुद्ध शमशेरले दिए पहुँचवालालाई धारा ?
विक्रम संवत १९८९ देखि २००२ सम्म नेपालको प्रधानमन्त्री रहेका जुद्ध शमशेरले निजी धारा नपाउने नियम तोडे । काठमाडौंको ईन्द्रचोकका ठूला व्यापारी ईन्द्र भक्त श्रेष्ठको भनाई उदृत गर्दै रिसालले भने, ‘जुद्ध शमशेरले पहुँचवालालाई निजी धारा बाँडेका हुन् ।’ त्यो निजी धारा पाउने भाग्यमानी ईन्द्र भक्त पनि थिए । यति सम्मकी त्यो बेला उनको ईन्द्रचोकस्थित घरको ३ तलामा जमिनबाटै पानी चढ्थ्यो । मोटर चाहिँदैन थियो । जमिनबाटै तेस्रो तलासम्म पानी चढ्ने भनेपछि, निकै फोर्समा पानी आउँथ्यो । उनी यस्ता व्यापारी कि गजले नापेर कपडा बेच्थे । यद्यपि ईन्द्र भक्त अहिले हामीमाझ छैनन् । जुद्ध शमशेरले पहुँचवालालाई निजी धारा दिएपनि पढ्नका लागि भने स्कुल खोले । जसको नाम राखियो जुद्धोदय । सडक पनि खुल्यो जुद्ध सडक ।
कहाँबाट ल्याईयाे पानी ?
थानकोटको डाँडामा रहेको दुधपोखरीबाट पानी ल्याईएको थियो । यस्तै, नेपालकै पहिलो जलविद्युत आयोजना रहेको फर्पिङबाट खानेपानी ल्याईयो । बालाजु, बुढानीलकण्ठ लगायत विभिन्न ठाउँबाट उनीहरुले पानी ल्याएर वितरण गरे । सुन्दरीजलको पानी राणाहरुकै पालामा ल्याईएपनि वीर धारा, चन्द्र धारा र भीमधारामा भने सुन्दरीजलको पानी जोडिएन ।
मेलम्चीको बोलवाला छ, भीम धाराको जमाना गईगयो !
राणाकालीन काठमाडौं र अहिलेको काठमाडौंको तुलना गर्नै सकिँदैन । आकास पातालको फरक छ । ‘वाङ्मय शताब्दी पुरुष’ एवं संस्कृतिविद् सत्यमोहन जोशी भन्छन्, ‘अहिले मेलम्चीको बोलवाला छ, भीम धाराको जमाना गईगयो । त्यो ढलोट धारा थियो । बनाउन सजिलो थिएन । पहिले र अहिलेको अवस्था पनि त एउटै रहेन ।’
उनले अगाडि भने, ‘पहिले सार्वजनिक स्थल अर्थात चोकमा धारा हुन्थ्यो । अहिले प्रत्येक घरको पनि प्रत्येक कोठामा धारा हुन्छ । २००७ साल पछि प्रजातन्त्र र स्वतन्त्रताको कुरा जोड तोडले उठ्यो । त्यसपछि विगतको भीम धाराकै शैलीले पानी वितरण गर्न सम्भव भएन ।’ अब त्यो ईतिहास मात्रै हो । पाइप पनि खिया लागिसक्यो होला । जनसंख्या ह्वात्तै बढ्यो । अब पालो पहरे राखेर वा पालो कुरेर साध्य हुँदैन, उनले भनेका छन् ।
मान्छेको चाप बढेसँगै पूराना स्रोतहरु अपर्याप्त हुन थाले, उनले अगाडि भने, ‘ढुंगे धारा सुके । ईनारमा पानी देखिन छोड्यो । सार्वजनिक धाराले पुग्न छोड्यो ।’ बहुप्रतिक्षित मेलम्ची निर्माण भइरहँदा घण्टौ पालो कुरेर ढुंगेधारामा पानी भरेका खबरहरु पनि आउन छोडेका छैनन् । राणाकालीन पाईपलाईनको खानेपानी अपर्याप्त छ । अहिले ट्यांकर र जारको पानी बढी चल्तीमा छ । समय फेरिसँगै समयको माग अनुसार व्यवस्थापन गर्न नसकेकोप्रति जोशी चिन्तित छन् । मेचम्ची खानेपानीको जति चर्चा भएको छ, उतिकै वितरण चुस्त हुनुपर्ने उनको भनाई छ । उनी भन्छन्, ‘जुद्ध शमशेरले पहुँचवालालाई मात्रै वितरण गरेको जस्तो नहोस् । त्यसको समुचित वितरण होस् ।’