arrow

के छ हालचाल वीर पुस्तकालयको ?  

logo
यमुना भण्डारी,
प्रकाशित २०७५ असार ३ आइतबार
bir_pustakalaye.JPG

काठमाडौं । रामशाह पथमा रहेको पुरानो जस्तो देखिने घर, हो, पूरातत्व विभाग अन्तर्गतको राष्ट्रिय अभिलेखालय । यसको संरक्षक हो, नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय । जहाँ पूराना दस्तावेजहरु संग्रह गरेर राखिएको छ । विगत २०–२५ वर्ष देखि अभिलेखालयले राष्ट्रिय महत्वका दस्तावेजहरु हस्तान्त्रण समेत गर्ने गरेको छ । 

तर, अझै व्यवस्थित हुन भने सकेको छैन । हालचाल त्यति राम्रो छैन । ईश्वी संवत १९६७ मा नेपाल–भारत सहयोगमा अभिलेखालय नयाँ संरचनामा आयो । राजा महेन्द्रको पालामा राष्ट्रिय अभिलेखालयको रुपमा स्थापना भएको हो । तर, यसको पुरानो नाम हो वीर पुस्तकालय । राणा प्रधानमन्त्री वीर शमशेरले स्थापना गरेको वीर पुस्तकालय नै अहिलेको राष्ट्रिय अभिलेखालय हो, भन्छन् संस्कृतिविद् सत्यमोहन जोशी । 

उनले भने, ‘यो वीर पुस्तकालय थियो । पछि वीर पुस्तकालयलाई राष्ट्रिय अभिलेखालय बनाईयो ।’ त्यो बेला शासककै निगरानीमा पुस्तकालय रहन्थ्यो । 

वीर शमशेर राणा शासनका सातौं तथा नेपालका ११औं प्रधानमन्त्री थिए । उनी आफ्नै बडाबा श्री ३ रणोद्धिपको षड्यन्त्रपूर्वक हत्या गरी श्री ३ को पदमा पुगेको बताइन्छ । 

उनले भादगाँउ र काठमाडौँमा वीरधाराको व्यवस्था गरे । पुलहरूको निर्माण, १९५७ मा वीर पुस्तकालय स्थापना र १९७४ मा वीर अस्पताल तथा घण्टाघरको निर्माण गरे । 

वीर पुस्तकालयको चर्चा हरायो 
वीर शमशेरले स्थापना गरेको वीर पुस्तकालय नै नेपालको पहिलो पुस्तकालय थियो भन्छन् जानकारहरु । तर, त्यो वीर पुस्तकालयबारे अहिले निजामति सेवा प्रवेशका लागि लिईने लोकसेवा आयोगको परीक्षामा सोध्ने प्रश्न वा सामाग्री मात्रै सुन्नमा आउँछन् । संस्कृतिविद् जोशी भन्छन्, ‘ईतिहासबारे सबैलाई सत्य तथ्य जानकारी रहनु पर्दछ । त्यसले भोलिसम्म निरन्तरता पाउनु पर्छ । त्यसलाई साँघुरो पार्दै होईन । अझ फराकिलो पार्दै लैजानु पर्दछ ।’

उनी अगाडि थप्छन्, ‘ईतिहासको विद्यार्थीले मात्रै वीर पुस्तकालय थियो भनेर पढ्नु अथवा लोकसेवा आयोगमा वीर पुस्तकालयको स्थापना कहिले भएको थियो भनेर प्रश्न सोध्नुले ईतिहास जानिदैन । ईतिहास नजानी भविष्यको खाका कोर्न सकिँदैन । ईतिहास साक्षी राखेरै हो, भविष्यको मार्ग तय हुने ।’ ईतिहासलाई एक कोठा वा कुनामा थन्क्याएर सम्वृद्धि हासिल हुँदैन ।’ अहिले खुला विश्व विद्यालयको कुरा सुनिदैछ, उनले भने, ‘त्यो खुला विश्व विद्यालयले कोठाभित्र थन्किएको ईतिहासलाई सर्वत्र फलाउन सक्नु पर्दछ ।’ ईतिहासले नै हो सत्कर्मतिर प्रेरित गर्ने । चेतनास्तर माथि नउठाई मुलुक कसरी सम्वृद्ध हुन्छ ? उनले प्रश्न गरेका छन् ।  

नेपालमा पुस्तकालय
नेपालमा लिच्छवीकालबाट पुस्तकालयको अवधारणा विकास भएको बताइन्छ । शुरूमा ताम्रपत्र, भोजपत्र, शिलालेखलगायत सामग्री सङ्कलन गरी पुस्तकालयको रूप दिने गरिएको जानकारहरू बताउँछन् । नेपालमा सङ्गठित रुपले १८६९ तिर पुस्तकालयको अवधारणा शुरू भएको हो । त्यसबेला राजा गिर्वाणयुद्ध शाहले पुस्तकालय स्थापना गर्न लगाएको बताइन्छ । वीर पुस्तकालय नेपालको पहिलो सङ्गठित पुस्तकालय भएको जानकारहरूको भनाइ छ ।

तत्कालीन राजा गिर्वाणयुद्ध विक्रम शाहको पालामा पुस्तकालयको स्थापना भएको पाइए पनि पुस्तकालयको संरचना निर्माण भने राणाप्रधानमन्त्री वीरशम्शेरले गरेको देखिन्छ । जसको फलस्वरुप वीर पुस्तकालयको स्थापना भयो । निजीस्तरको त्यसरी पूतकालय तयार गर्नेहरु तत्कालीन नायव वडा गुरुज्यू हेमराज पाण्डे, सरदार राममणि आदि देखिएका छन्, भने चन्द्र शम्शेरका छोरा केशर शमशेर पनि त्यसका हकदार मानिन्छन् ।  अहिले नारायणहिटी संग्रालयको दक्षिण पट्टीरहेको केशर पुस्तकालय राष्ट्रिय स्तरको पुस्तकालयको रुपमा सञ्चालनमा छ । 

चन्द्र शमशेरका छोरा केशर शमशेर लाठसाहेब थिए । किशोर अवस्थादेखि उनीभित्र  विविध किसिमका पुस्तक पत्रपत्रिकाहरु किन्ने संकलन गर्ने सौख जागेछ । त्यही क्रममा उनलाई पदाधिकारीका रुपमा बेलायत जाने मौका मिल्यो । 

बेलायत पुगेका केसरको ज्ञानविज्ञानतिरको हौसला र आकर्षण अरु थपियो । जसले गर्दा स्वदेश फर्केपछि पुस्तक संकलनको स्वरुप र संख्या पनि बढ्यो । तर, त्यसरी बढे पनि यो संग्रहकालय उनको निजी थियो जसले गर्दा उनी स्वयं र देश विदेशका खास पदाधिकारीले मात्र त्यहाँ प्रवेश पाउँथे । 

२००७ सालको प्रजातन्त्रोत्तर पछि पनि अतिरथी (फिल्डमार्सल) केशर शम्शेरको यो संग्रहालय निजी नै रहयो । २०२१ सालमा संग्रहकर्ता केशर शमशेरको निधन भयो । पछि २०२६ साल साउन १ गते देखि संकलकको नामलाई कायमै राखेर केशर पुस्तकालय नामले उनकै महलमा सञ्चालन हुँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ