अवकाशको दुईवर्षसम्म उच्च पदस्थ सरकारी कर्मचारीले एनजिओ, आइएनजिओमा काम गर्न नपाउने
प्रकाशित २०७५ असार ३ आइतबार
277
Shares
पोखरा । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उच्च पदस्थ सरकारी कर्मचारीले अवकाश लिएको दुई वर्षसम्म कुनैपनि एनजिओ, आइएनजिओमा काम गर्न नपाउने बताएका छन् ।
पत्रकार महासंघ कास्की शाखाद्वारा आइतवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पण्डितले राष्ट्रसेवक कर्मचारी अवकाश पाउने बित्तिकै एनजिओ, आइएनजिओमा काम गर्दा राष्ट्रको गोपनियता भङ्ग हुने बताए ।
राष्ट्र सेवक कर्मचारीलाई अवकाशपश्चात मुलुकमै काम गर्नेगरी व्यवस्था गरिने बताउँदै उनले सरकारले कर्मचारीको सेवा सुविधाको उचित व्यवस्था गर्ने योजना रहेको बताए । स्थानीय तहमा ९५ प्रतिशत प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था भइसकेको जानकारी दिँदै मन्त्री पण्डितले अन्य स्थानमा पनि निकट भविष्यमा व्यवस्था गरिने उल्लेख गरे।
प्रदेश लोकसेवा आयोगमार्फत सबै ठाउँमा कर्मचारीको व्यवस्थापन गर्न मन्त्रालय लागेको छ भन्दै उनले तोकिएको ठाउँमा नजाने कर्मचारीलाई कारबाहीको प्रक्रिया अगाडि बढाइसकिएको बताए ।
निजामती ऐन आएपछि स्थानीय तहका कर्मचारीलाई पनि अन्य क्षेत्रमा हेरफेर गरिने र सरकारले नगरपालिका र महानगरपालिकाका कर्मचारीलाई पनि जुनसुकै ठाउँमा खटाउन सक्ने उनको भनाइ थियो ।