arrow

सरकारले ७ सय ५३ वटै स्थानीय तहमा एक–एक वटा ‘मुर्दाघर’ बनाईदिओस् (अन्तर्वार्ता)

‘न्यायको अवसान’ 

logo
प्रकाशित २०७५ असार ३ आइतबार
subodh_pyakurel.JPG

न्याय माग्दै लामो समयदेखि अनसनरत गंगामाया अधिकारीको संघर्ष समेटिएको आत्मकथा ‘न्यायको अवसान’ सार्वजनिक भएको छ । आत्मकथा विमोचनमा मानवअधिकारका क्षेत्रमा कार्यरत एवं संवेदनशील विशिष्ट व्यक्तिहरु सहभागि भए । हामीले त्यही विमोचन समारोहमा सहभागि भएका मानवअधिकारकर्मी सुबोध प्याकुरेललाई, के अब नेपालमा न्याय माग्नेहरु सबैले आत्मकथा लेख्नु पर्ने अवस्था आयो भनि सोधेका छौँ । 

० नेपालमा अब न्याय माग्न माग्ने ठाउँ रहेन हो ? ता कि न्याय माग्नेहरुले आत्मकथा लेख्नु पर्ने भो ? 
–अँम्,,, भयो त्यस्तै । र, हामीले लोकतन्त्रको लागि लामो लडाई लड्यौँ । हरेक पटकको लडाईको लक्ष्य के थियो भने, लोकतान्त्रिक आदर्शले चलेको मुलुक होस्, कानुनको शासन होस्, राज्यका नीति कार्यक्रमहरु सामाजिक न्याय उन्मुख हुन्, भनेर हामी लड्यौँ । सबै खाले भेदभावबाट मुक्त हुन पाईयोस्, भनेर लड्यौँ । तर, पछिल्लो चरण जनताको अधिकार भनेको कुरा सबै राजीतिक पार्टीका ठूलठूला नेताहरुको अधिकारको रुपमा रुपान्तरण हुँदै गयो । यो रोग आजको होईन, उहिल्यै देखिको हो । यसलाई सघाउने भनेको नेपालको कर्मचारीतन्त्र । मैले अस्ति पनि भनेको थिँए, यो राणकालीन कमाण्डिङ जनरलको तरिका हुन्थ्यो । त्यो उत्तर कमाण्डिङ जनरल, दक्षिण कमाण्डिङ जनरल, पूर्वी कमाण्डिङ जनरल र पश्चिम कमाण्डिङ जनरल हुन्थे । दौडाहमा गएर ठाउँको ठाउँ जे मन लाग्यो त्यही फैसला गर्थे । कतै उजुरी वा विरोध गर्न पाइँदैन थियो । अहिलेको अवस्था पनि त्यो भन्दा भिन्न छैन । त्यसैको ज्ज्वलन्त प्रमाण अहिले गंगामाया अधिकारी हुनुहुन्छ । उहाँको पति त्यही संघर्षमै वित्नु भयो, सबैलाई थाहै छ । अहिले कस्तो छ भने, हेर्दा खेरि कानुनको शासन, लोकतान्त्रिक विधि प्रक्रिया कागजमा बडो सून्दर ढंगले राखिएको छ । २०४६ साल पछि हामी अन्तर्राष्ट्रिय मानवअधिकार सम्बन्धि कानुनको पक्ष राष्ट्र भएका छौँ । व्यवहारमा शुद्ध न्याय पाउँ भन्ने मान्छेले पनि न्याय नपाएर मर्नु पर्ने अवस्था छ । त्यसैको पीडाको संग्रह अस्ति सार्वजनिक भएको हो । 

० यसले के संकेत गर्छ ? हामी मानवअधिकारको दृष्टिकोणबाट कहाँनेर उभिएका छौँ ? 
–यसले सोझै देखाउँछ । अपराधवृत्ति भएका मान्छेहरु राजनीतिक पार्टीको नेतृत्व कब्जा गरेर बसेका छन् । जाली, झेली, अपराधि, फटाह तिनै नेताको वरपर गोलबन्द भएका छन् । आ–आफ्नो निहित स्वार्थको लागि यिनै मान्छेहरु दलहरुमा आवद्ध भएका छन् । राजनीतिक दलका असल नेताहरु । जसको दशकौँको इतिहास छ । जसले आफ्नो जीवन अर्पण गर्नु भयो कुनै बेलामा । दशकौँसम्म जेल बस्नु भो । सबै प्रकारका यातना खपेर आउनु भो । ति सबै मान्छेहरु राणाकालीन नियतिका बन्दी छन् । लोकलाजको लागि, आन्दोलनको सम्मान नगरिकन जनताको सम्मान पाइन्न भन्ने देखाउनको लागि बहुत सुन्दर कानुन बनाउँछन् अहिलेका शासकहरु । संविधान अनुसार संरचनाहरु पनि बनाउँछन् । कि नेपालमा स्वतन्त्र निष्पक्ष अदालत छ । कानुनको शासन छ । सजायको व्यवस्था पनि छ । कानुन भन्दामाथि कोही पनि हुने छैन भनेको छ । अहिले त हामी नेपाली जनताद्वारा जारी गरिएको सार्वभौम नेपालको परिकल्पना गरिएको संविधान छ । तर, विडम्पना राजनीतिक दलका मान्छेहरु गज्जबका छन् ।

चितवन महानगरको मेयरको चुनाव जित्नासाथ छोरा, छोरी, सकल परिवार उभिएर फोटो खिचेर फेसबुकमा अपलोड गरिदिन्छन् । कानुनको शासन, न्यायको सर्वोच्चता यि हेर भनेर सारा जनतालाई उनीहरुले गिज्ज्याए । त्यो गिज्ज्याएको कुरालाई बढावा दिने कल्ले भन्दा सत्तापक्षका सर्वोच्च नेताहरु । पुष्पकमल दाहालको साख्खैको छोरी होनि त रेणु दाहाल भनेको । यो खालको अवस्था छ । जिल्ला अदालतले फलानालाई हाजिर गराउ भन्यो । गोली हान्ने मान्छे बेलायतमा छ । पुलिसले रेडकर्नर जारी गर्छ । नेपाल सरकारले बेलायत सरकारलाई दुई लाइनको चिठ्ठी लेख्दैन । हाम्रो देशमा यातना छैन, हाम्रो देशमा मृत्युदण्ड छैन । उसलाई पठाउ हामी यातना दिँदैनौ, मृत्युदण्ड पनि दिँदैनौ । मानवअधिकारको रक्षा गर्छौ भनेर दुई लाईन चिठ्ठी लेख्ने वित्तिकै रुद्र आचार्यलाई बेलायत सरकारले तत्काल पठाईदिन्छु भन्छ । त्यो दुई लाईनको चिठ्ठी नेपाल सरकार लेख्दैन । जिल्ला अदालतका आदेश त कति हो कति ? त्यो त छोडौँ ।

अदालत सरकारसँग यति डराएको छ । साक्षीहरु फलाना फलाना हुन् । त्रस्त छन् । अदालतसम्म आउन सक्दैनन् । सुरक्षाका साथ ल्याई पाउँ भनेर भनिएको छ । न्यायाधीश चैँ अँ गर्छु पक्का गर्छु फरक पर्दैन भन्छन् । तर, तन्काउन छोड्नु हुन्न । जबसम्म उहाँ पदोन्नति भएर उच्च अदालतको न्यायाधीश बन्नु हुन्न तबसम्म फाइल सराउनु हुन्न । अर्को न्यायाधीश आउनु हुन्छ । परिवारमा एउटा बाँकि रहेको नुरप्रसाद अधिकारी जो के अवस्थामा छ, कस्तो छ ? पागल जस्तो हिँडेको छ । जसलाई खोज्दा पनि भेटाइँदैन । आक्कल झुक्कल झल्याक झुलुक देखिन्छ । उल्टै उसैलाई हाजिर गराएर बयान लेउ भन्ने आदेश आउँछ । त्यसपछि प्रहरीले भन्छ फलानो त भेटाइएन । अब जहाँबाट उनी विस्थापित भइसके गोरखाको गाउँ फुजेल । त्यहाँको पिपलबोटमा लगेर एउटा सूचना टाँस गरिन्छ, नुरप्रसाद हाजिर हुन आउनु भनेर । यो यतिखाले जन्जाल सिर्जना गरिएको छ । गंगामायाले न्याय पाउने कसरी ? सवाल निकै जटिल छ । 

० गंगामायाको त आत्मकथा बन्यो, अब उपरान्त न्याय माग्ने सबै गंगामायाहरुले पनि आत्मकथा लेखेर बस्नु पर्ने हो ?
–समयमै आत्मकथा लेख्नु पर्‍यो । ता कि भोलिका सन्ततिले केही त चेतना प्राप्त गरोस् । जीवन यत्तिकै चल्दैन । सिर्जनाको मुहान हो मानवता । गंगामायाको के कुरा गर्ने । नन्दप्रसाद जी त अहिलेसम्म चिसो घर्रामै हुनुहुन्छ । तपाईहामी सबै नेपालीले सरकार चलाउनेहरुलाई, भोलिको सरकार म चलाउँछु भनेर दावा गर्नेहरुलाई । त्यही मनसायमा राजनीतिक दलमा हाम फालेका बडे बडे नायकहरुलाई, सबैलाई हामीले के भन्नु पर्ने हुन्छ भने, अझै धेरै धेरै नन्दप्रसाद र गंगामाया जन्माउने तपाईहरुको अभिप्राय रहेछ । त्यसैले नेपालका ७ सय ५३ वटै स्थानीय तहमा एक–एक वटा राम्रो मुर्दाघर बनाईदिनुस् । ता कि त्यो लाश घरमा त्यो मरेको मान्छेलाई सजाउन पाईयोस् । हामीले भन्ने त्यति न हो । 

० गंगामायाले अस्पतालको शय्याबाट,, किताब पढेर मेराबारेमा सबैले थाहा पाउन् भन्नुले के सन्देश दिन्छ ? 
–त्यो भन्दा निराशा के हुन सक्छ ? 

० अहिले उहाँ न्यायको लागि मृत्युसँग लडिरहँदा हामी केही सोच्च सकिरहेका छैनौँ भने, के किताबले के भन्ला ? 
–यो हाम्रो शासकहरको निर्लज्जता । अघि मैले भने नि उनीहरुले जे भनेका छन् । लोकतन्त्र, कानुनको शासन । मानवअधिकार, सामाजिक न्याय । अहिले त सम्वृद्ध नेपाल सुखी नेपाली, जे जति नारा छ । सबै नाया फोस्रो छ भन्ने त यही एउटै गंगामायाको १२ शब्दको अभिव्यक्ति नै काफी छ नि ! जो उनले अस्पतालको शय्याबाट बोलिन् । त्यो भन्दा बढी त के भन्नु प¥यो र ? यथार्थ हामीलाई गिज्ज्याईरहेको छ । गफगाफ हो भने त ठूलठूलो गफ जति गरेपनि हुन्छ । यो मामिलामा कोही फरक छैन । गिरिजाबाबुको पालादेखिको घटना हो यो । कति प्रधानमन्त्री भए । कति मन्त्री भए ? उल्टो निर्लज्जता बढ्दा बढ्दा सर्वोच्च अदालतमा बहस चलिरहेकै बेला बालकृष्ण ढुंगेललाई त छोडिदियो । एकदम असल चालचलन भएको भनियो । त्यस्तो मान्छेलाई छोडियो कि, जसले सार्वजनिक कार्यक्रममै न्यायाधीशका फिला चिर्छु भन्यो । छोड्न पाएको छैन । एक थाल भात र एक गिलास रक्सीमा विक्नेहरुले रचेको षड्यन्त्र हो भनेर धम्की आयो, असल चरित्र र चालचलन भएकै व्यक्तिबाट । नेपाल कम्युनिष्ट पार्टी नेकपाले आफ्नो प्रधान कार्यालय उनलाई दियो । हेडक्वार्टरमा लगेर, फुलमाला लगाईदिएर, अबिर लगाईदिएर एकदमै विजयी भवः तिमि विजयी भयौ भनेर, वरिपरी घेरेर बधाई दिईयो । त्यहीँबाट उनले वकिलदेखि लिएर मिडियासबैलाई एक थाल भातमा विक्ने भतुवा भनेर गाली गर्न भ्याए । उनले त्यहाँ गाली गर्दा खेरी कम्युनिष्ट पार्टीका नेताकहरु कता थपडी बजाउँदै थिए ।  

० यो परिदृष्यले के देखाउँछ ? 
–हाम्रो देशमा जतिपनि सरकार चलाउनेहरु छन् । जो सत्तामा बसेका छन् । जसमा राणा कालकै संस्कार बोकेको कर्मचारीतन्त्र देखि लिएर सबै विलकुल निजी स्वार्थका लागि आ–आफ्नो पद जोगाउन उद्दत छन् । पद जोगाउन उनीहरुले जे पनि गर्छन् । पद जोगिन्छ भने न्याय पनि दिन्छन् । उनीहरुलाई फाइदा हुने रहेनछ भने, न्याय दिने कुरा त के मान्छे उनीहरुका लागि अस्तित्व भएका प्राणीनै होइनन् । यी सबै आफुलाई शासक ठान्छन् । तपाईहामी सर्वसाधारणलाई रैति ठान्छन् । 

० संविधान बन्यो, थुप्रै मानव अधिकारका सन्धि, अभिसन्धिहरुमा संलग्नता जनाएका छौँ । सापेक्ष भएर सोच्ने ठाउँ छैन ? 
– समस्या के छ , भने सत्ताधारीहरु जो हुन्छन् नि । यसलाई एउटा जमातको निरन्तरताको रुपमा तपाई हामीले बुझ्नु पर्दछ । हाम्रो नेपाली जनतामा अहिलेसम्म त्यो चेतना आएको छैन । उनीहरुले शेरबहादुर देउवाको सत्ता, केपी शर्मा ओलीको सत्ता , कुनै बेलामा खिलराजरेग्मीको सत्ता । यसरी बुझ्छन् । त्यसरी होइन । सत्ताको निरन्तरता हुन्छ । निरन्तरता के हुन्छ भने, बनाईएका नियम कानुनहरु असल उद्देश्यले बनाईएको हुन्छ । स्थायी सत्ता भन्छन् कर्मचारीलाई । तर, पहिलेदेखिको आत्मकेन्द्रीत, स्वार्थी चिन्तन तोडिएको छैन । विलकुल त्यो जस्ताको त्यस्तै छ । कर्मचारीतन्त्र प्रधानमन्त्रीलाई भए नभएको कुरा सुनाउँछ । बडो बाँठो भएर, काइते भन्छन् नि पाल्सी काम न काजको । कागजका ठूला–ठूला ढड्डा तयार गर्छ । विवेक छैन, न त्यसमा बुद्धि छ । स्वार्थीहरुको जमातमा बसेर सत्तापक्षका मान्छेहरु रमाईरहेका छन् ।

अवस्थाविरुद्ध लडाई लड्ने भनेको लामो लडाई हुन्छ । कानुनी लडाईको कुरा गर्ने हो भने अदालतबाट त जितिएको छ नि । राष्ट्र संघको फोरमका उजुरी गर्ने ठाउँ पनि छ । हामी उजुरी पनि गरौँला । उसले प्रश्न पनि सोध्ला । तर, हामी नागरिकको जीवनको त एउटा सिमित अवधि हुन्छ । लड्दा लड्दै गंगामायाको निधन भइसकेपछि फैसला भएर के अर्थ ? समय किनिदिने के ? सत्ता चलाउनेहरुको बद्मासी यही हो । समय किन्ने, तन्काईदिने, लम्ब्याईदिने । सुब्बाले टिप्पणी उठाउँदैछ । शाखा अधिकृतले राय लिँदै छन् । उपसचिवले सहमतिका लागि अर्को विभाग पठाएका छन् । सहसचिव ज्यू अहिले विदेश भ्रमणमा जानु भएको छ । सचिव ज्यू कोनि के को बैठकम जानु भएको छ । शुक्रबार काम भएन । अब आइतबार गरौँला । यि र यस्तै बहानाले कयौँ वर्ष गुजारिदिन्छन् यिनीहरु । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ