arrow

चीन भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरुलाई यसो भने प्रधानमन्त्री ओलीले 

logo
प्रकाशित २०७५ असार ४ सोमबार
kp-sharma-oli--udayepur-news.jpeg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण सबै दृष्टिले उपलब्धिमूलक बनाउने तयारी भएको बताएका छन् । 
चीन भ्रमणको तयारीबारे आइतबार सिंहदरबारमा पूर्वप्रधानमन्त्रीहरुलाई जानकारी दिँदै उनले भने, “तपार्इँहरु सबैको भावनालाई समेटेर म चीन जाँदैछु । मुख्यतः राष्ट्रिय हितलाई ध्यानमा राखेको छु ।” 

पूर्वप्रधानमन्त्रीहरुसँगको भेट अघि प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीसँग भ्रमण सम्बन्धमा छलफल गरेका थिए । परराष्ट्र मन्त्री ज्ञवालीसँगको भेटमा उनले भ्रमणपछि नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा प्रवेश गर्ने र चीन– भारतबीचको बढ्दो समझदारीबाट नेपालले थप अवसर प्राप्त गर्ने विश्वास व्यक्त गरे । 

आफ्नो आसन्न भ्रमणलाई चिनिया पक्षले दुई पक्षीय सम्बन्धमा सबैभन्दा महत्वपूर्ण पहलकदमीका रुपमा अंगीकार गरेको पनि उनले बताए । उनका अनुसार भ्रमणका अवसरमा नेपाल–चीन सीमा क्षेत्रमा थप पाँच नाका खोल्ने समझदारी हुन गइरहेको छ ।
 
भ्रमणका अवसरमा समझदारी पत्रमा हस्ताक्षर र ‘लेटर अफ एक्सचेन्ज’ आदानप्रदान हुने जानकारी दिँदै उनले दुवै देशको राजनीतिक स्थिरताले विकास र समृद्धिको नयाँ मार्ग प्रशस्त हुने अपेक्षा गरिएको बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले भ्रमणले विगतका समझदारी र सम्झौता कार्यान्वयनको बाटो खुल्ने विश्वास व्यक्त गरे । “भ्रमणका क्रममा सहयोगका नयाँ क्षेत्र पनि पहिल्याइने छ, दुई देशबीच ‘कनेक्टेभिटी’का क्षेत्रमा महत्वपूर्ण समझदारी हुनेछ ,” परराष्टक मन्त्री ज्ञवालीले भने ।

केरुङ–काठमाडौ, काठमाडौँ–पोखरा रेल परियोजनाका सम्बन्धमा विस्तृत परियोजना प्रतिवेदन बनाएर अघि बढ्ने समझदारी हुने जानकारी पनि उनले गराए ।

पूर्वप्रधानमन्त्रीहरुसँगको छलफलमा नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चीन भ्रमणमा नेपालको तयारी राम्रो रहेको बताउँदै भ्रमणले नेपालको हित हुने विश्वास व्यक्त गरे ।

उनले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताका लागि शुभकामना पनि दिए । नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–चीन–भारत बीच त्रिदेशीय सम्बन्ध अगाडि बढ्नु सकारात्मक भएको बताए ।

त्यस्तै, पूर्वप्रधानमन्त्री झलनाथ खनालले रेल परियोजनाप्रति सबैको आशा रहेको बताए भने अर्का पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई लिखित सुझाव प्रस्तुत गरेका थिए । 

पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले नेपाल र चीन बीचको बहुआयामिक सम्बन्धलाई महत्वका साथ अघि बढाउन रणनीतिक साझेदारीको दिशामा अग्रसर हुनुपर्ने धारणा राखे । 

मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले नेपालमा चिनियाँ लगानी भित्र्याउने वातावरण बन्नु पर्ने राय व्यक्त गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ