arrow

नारायणगढ–मुग्लिन सडकको दुर्घटना रोक्न ‘राडार गन’ कै प्रयोग

logo
प्रकाशित २०७५ असार ४ सोमबार
radar-gun.jpg

रत्ननगर । चितवनको नारायणगढ मुग्लिन सडक चौडा भएसँगै तीव्र गतिमा सवारी चलाउने र ओभरटेक बढी हुन थालेपछि प्रहरीले कारबाही अभियान शुरु गरेको छ । तीव्र गति र ओभरटेकका कारण सवारी दुर्घटना बढ्न थालेको भन्दै गति मापन गर्ने ‘राडार गन’ कै प्रयोग गरेर कारबाही अभियान थालिएको चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठोरले जानकारी दिए ।

उनका अनुसार आइतबार प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतको नेतृत्वमा गएको टोलीले स्थलगत अनुगमनसमेत गरेको थियो । सो क्रममा तीव्र गतिमा सवारी चलाउने, मापसे गरेर चलाउने र ओभरटेक गर्ने ३५ जना चालकलाई नियन्त्रणमा लिइएको थियो ।

प्रहरी उपरीक्षक राठोरका अनुसार ठाउँठाउँमा चेकजाँच गर्ने, सम्झाउने काममा प्रहरीलाई आइतबारदेखि नै खटाइएको छ ।

उक्त सडकमा अहिले सबै क्षेत्रमा बार बनिनसकेको, पुलसमेत जीर्ण रहेको र माथिबाट पहिरो खस्ने हुँदा जोखिम कायमै छ । सवारी चालकले ट्राफिक नियम जान्दाजान्दै पनि लापर्बाही गर्नु विडम्बना भएको राठोर बताउँछन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढ मुग्लिक सडकखण्डमा ‘समय कार्ड’ नै उपलब्ध गराएर गाडी पास गराउने तयारी गरिएको छ । यसले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने प्रहरीको भनाइ छ ।

नारायणगढ मुग्लिन सडकको ३६ किलोमिटर क्षेत्रमा अहिले सडक चौडा बनाई कालोपत्रे गर्ने काम सकिएपछि सवारी तीव्र गतिमा हिँड्ने गरेका छन् ।

तीव्र गतिकै कारण आइतबार एउटा मोटरसाइकल पुलको रेलिङमा ठोक्किँदा दुईजनाको मृत्यु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ