arrow

ओलीका कुरा : यो पल्ट पर्यटक ओईरिए, पोखराका होटलमा कोठै पाउन मुस्किल छ 

logo
प्रकाशित २०७५ असार ४ सोमबार
oli7.JPG

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण लगत्तै नेपालमा पर्यटकको संख्या बढेको र अफ सिजनमा पनि पोखराका होटल भरीभराउ भएको सुनाएका छन् । 

सोमबार संघीय संसदको संयुक्त बैठकमा आफ्नो चीन भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले भने, ‘पर्यटक यति बढे कि यो पल्ट अफसिजन भन्ने पनि महसुस भएन ।’

अहिले पोखराका होटलमा कोठा पाउन मुस्किल छ, उनले अगाडि भने, ‘जोमसोममा त्यस्तै छ ।’ उनले चीन भ्रमणका क्रममा पर्यटनबारे प्राथमिकताका साथ कुरा राख्ने बताए । उनले भने, ‘पर्यटन क्षेत्रमा चिनियाँ लगानी नै खोज्ने गरी विभिन्न विषयमा हुन्छ ।’ सरकारले सन् २०२० लाई पर्यटन वर्ष भनि यसअघि नै घोषणा गरिसकेको छ । 

उनले भारतसँग भरखरै भएको हवाई प्रवेश तथा प्रस्थान विन्दुको सम्झौताले सन्धिको रुप लिन मात्रै बाँकि रहेको भन्दै पर्यटक भित्र्याउने अन्य आधारहरु पनि तयार भएको बताए । यस्तै, हनुमाननगरसम्म स्टिमर अथवा जहाज ल्याउनेबारे अध्ययन भईसकेको समेत उनले सुनाए । 

उनले यो पल्ट विगतमा भएका सहमति र सम्झौताका विषयमा थप छलफल गरेर हाम्रा प्राथमिकताका बारेमा चिनियाँ नेतृत्वलाई जानकारी गराइने बताउँदै प्रधानमन्त्री ओलीले अहिले हाम्रो राष्ट्रिय एजेण्डाका रुपमा विकास नै हाम्रो प्राथमिकता हो, भने । 

नेपालको विकास र समृद्धिका लागि चिनियाँ सहयोग, सहकार्य र लगानी आवश्यक रहेको उल्लेख गर्दैै उनले, ‘चीनले वान बेल्ट रोडको अवधारण अघि सारेको छ, तत्काल विभिन्न क्षेत्रमा कसरी मिलेर अघि जान सकिन्छ भन्नेबारे यसअघि नै सहमति भइसकेको छ’, भने । 

यस्तै, उत्तर दक्षिण कोरिडोर र केही सडकका बारेमा सहमति हुनेछ, राष्ट्रपतिसँगको भेटमा नेपाल र चीन बीचको सम्बन्ध र सहकार्य अझ सुदृढ गर्ने दृष्टिकोणबाट कुरा राखिने कुरा प्रधानमन्त्री ओलीले बताए । 

रेलसेवा, ऊर्जा विकास, पुनः निर्माण लगायतका विषयमा दुई पक्षबीच सहमतिपत्रमा हस्ताक्षर हुने जानकारी दिँदै प्रधानमन्त्री ओलीले आफूले पर्यटन क्षेत्रको विकास, लगानी तथा व्यपार लगायतका कार्यक्रमलाई सम्बोधन गर्ने बताए । 

यस्तै, भ्रमणका क्रममा चीनको स्वसाशित क्षेत्र तिब्बत ल्हासाको भ्रमण गर्ने र त्यहाँका नेतासँग कुरा गर्ने तथा त्यस अवसरमा सीमावर्ती क्षेत्रसँग सम्बन्धित विषयमा छलफल हुने जानकारी पनि दिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ