arrow

चीन जान लागेको प्रधानमन्त्री ओलीलाई विवेकशील साझाको सुझाव

प्रधानमन्त्रीको गतिविधीमा निगरानी रहने

logo
प्रकाशित २०७५ असार ४ सोमबार
bibeksheel-sajha-party_(1).png

काठमाडौं। चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विवेकशील साझा पार्टीले पार्टीका तर्फबाट केहि सुझावहरु दिएको छ। पार्टीका तर्फबाट विदेश विभाग प्रमुख डा दिनेश प्रसाईले जारी गरेको विज्ञप्तीमा अत्यन्त निकटतम छिमेकी राष्ट्र चीन भ्रमणमा राष्ट्रिय हितलाई सर्वोपरि राख्दै द्विपक्षीय सम्बन्धलाई सरकारी तवरमा विश्वास बढाउने तथा आपसी लाभ हासिल गर्ने दिशामा अधिकतम् सार्थक रहने विश्वास व्यक्त गरिएको छ। विवेकशील साझाले जारी गरेको विज्ञप्ती यस प्रकार रहेको छ। 

सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीको चीन भ्रमणको बारेमा विवेकशील साझा पार्टीको धारणा 

२०७५-३-३

सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीको यही असार ५ देखि १० गतेसम्म हुने अत्यन्त निकटतम छिमेकी राष्ट्र चीन भ्रमणमा राष्ट्रिय हितलाई सर्वोपरि राख्दै द्विपक्षीय सम्बन्धलाई सरकारी तवरमा विश्वास बढाउने तथा आपसी लाभ हासिल गर्ने दिशामा अधिकतम् सार्थक रहनेछ भन्ने विवेकशील साझा पार्टीको विश्वास रहेको छ। 

नेपाल चिनियाँ बौद्ध धर्माबलम्बीहरुको लागि साँस्कृतिक,धार्मिक तथा आध्यात्मिक हिसाबले महत्वपूर्ण गन्तव्य हो।  त्यसमा आकर्षक प्राकृतिक गन्तव्यहरुलाई समावेश गरी यहाँ आउन सक्ने सम्भावित चिनियाँ पर्यटकहरुको संख्यामा अभिवृद्धि गर्नको लागि ठोस पहलकदमी लिनुपर्छ । नेपाल चीनबीच रहेको बार्षिक एक खर्बभन्दा बढी व्यापार घाटालाई कम गर्नको लागि चीनतर्फको निकासी बढाउन आवश्यक वातावरण निर्माणसँगै पारवहनको सुविधा, उर्जा लगानी तथा व्यापार सम्झौता, तेलको आयात जस्ता विषयमा पनि थप सम्झौता तथा कार्यावन्वयनको दिशामा भ्रमण जानेछ भन्ने हामीले आशा लिएका छौं ।  

संसारभर बेल्ट एन्ड रोड इनिसिएटिभको माध्यमबाट सम्पर्क तथा सम्बन्ध बढाउने चिनियाँ महत्वकांक्षाबाट नेपालले कसरी लाभ लिनसक्छ ? भन्ने पक्षमा देशभित्र घनीभूत छलफल हुन सकेको छैन । नेपालले आफ्नो राष्ट्रिय प्राथमिकता तथा आवश्यकता अनुरुप र अन्य देशहरुको अनुभवबाट पनि सिकी वित्तीय, वातावरणीय रुपमा दीगो हुने परियोजनाहरुको सरकारले चयन गरी लागु गर्नेछ भन्ने हाम्रो विश्वास रहेको छ । 

तातोपानी नाका बन्द रहेको अवस्थामा त्यसलाई पुनस् सञ्चालनमा ल्याउन तथा अन्य नाकाहरुको प्रयोगको लागि नेपालको तर्फबाट गर्नुपर्ने तयारी तथा चीनलाई आश्वस्त पार्न नेपालले खेल्नुपर्ने भूमिकाको बारेमा सरकार प्रष्ट छ भन्ने हामीले ठानेका छौं । लिपुलेकको विषयमा नेपालको धारणा प्रष्टसँग राख्नुहुनेछ भन्ने हामीले ठानेका छौं । साथै, नेपालीहरुको केरुङ तथा यस्तै दूरीका सीमावर्ती सहरसम्मको छोटो अवधिको भ्रमणलाई सहज बनाउन सरकारले पहल गर्नु आवश्यक देखिएको छ । नेपालको हिमाली  भेगका बासिन्दाहरुको लागि पनि सीमावर्ती चिनियाँ बजारहरुमा पहुँच पुर्याउन सके उनीहरुको जीवनयापनमा पनि सहजता आउने भएकोले त्यसको लागि भन्सार तथा नाकाहरुलाई नियमित गर्नको लागि पहल गर्नु आवश्यक देखिन्छ ।

नेपाल चिनियाँहरुको लागि एक आकर्षक लगानीको गन्तव्य रहेको कुरा तथ्याङ्कहरुले पनि देखाएको अवस्थामा नेपालको समतामूलक संवृद्धिको लागि उर्जा, पूर्वाधार, पर्यटन, सिंचाइजस्ता क्षेत्रमा आवश्यक पर्ने थप लगानी सुनिश्चित गर्न चीनका सरकारी तथा निजी क्षेत्रलाई विश्वासमा लिन जरुरी रहेको छ । यसको लागि राष्ट्रिय हितको अधिकतम् रक्षा गर्दै छिमेकी राष्ट्रको जायज चासोहरूको सम्बोधन गर्दै अगाडि बढ्न जरुरी छ। 

तामझामका साथ हुने विदेश भ्रमणहरुको निराशाजनक पक्षहरु भनेको भ्रमणपूर्वको फितलो तयारी तथा भ्रमण पश्चात् सहमति-सम्झौताहरुको समन्वय र कार्यान्वयनमा देखिने सुस्तता हुन् । प्रधानमन्त्रीले यस मामलामा आवश्यक तदारुकता र भूमिका देखाउनुहुने हाम्रो विश्वास छ । 

यी लगायत अन्य आपसी पक्षहरुमा सबै सरोकारवालाहरुले विश्वास गर्न सक्ने वातावरण बनेमा प्रधानमन्त्रीको भ्रमण सफल भएको ठान्नेछौं । निर्दिष्ट लक्ष्यहरु हासिल गर्नको लागि सहयोग गर्ने तथा सचेत निगरानीकर्ताको भूमिका विवेकशील साझा पार्टीले सदैव खेल्ने जानकारी गराउँदै प्रधानमन्त्रीको भ्रमण सफल रहोस् भन्ने कामना गर्दछौं । 

दिनेश प्रसाईं 
संयोजक, विदेश मामला विभाग
विवेकशील साझा पार्टी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ